सत्ताधारी भाजपाको आड लिएर भजन र निन्दा गर्दै जबर्जस्ती टिआरपी बटुल्नु नै अधिकांश भारतीय मिडियाको धन्दा बनेको छ ।

|

गत अगष्ट २७ मा रिपब्लिक टिभीका जम्मु–काश्मीर ब्युरो प्रमुख तेजिन्दर सिंह सोढीले ‘साढे तीन वर्षसम्म पत्रकारिताको हत्या गर्न क्रियाशील रहेको’ स्वीकारोक्तिसहित माफी माग्दै राजीनामा दिए।

त्यसको केही दिनमै उनको राजीनामा पत्र अनलाइनहरूमा छ्यापछ्याप्ती भयो‚ जसमा उनले रिपब्लिक टिभीमा काम गर्दाको भोगाइलाई सविस्तार वर्णन गरेका छन्। 

पेसेवर हत्याराजस्तो जागिर’

रिपब्लिक टिभीलाई पठाएको ३५ सय शब्दको इमेलमा तेजिन्दरले मसिनाभन्दा मसिना कुराहरू उधिनेका छन्। उनका अनुसार उनले टिभीका मालिक तथा प्रधान सम्पादक अर्नव गोस्वामीको आग्रहमा रिपब्लिकका काम सुरू गरेका थिए।

अर्नवले रिपब्लिक टिभी भुइँमान्छेको आवाज बन्नेमा विश्वस्त हुन भनेका थिए। तेजिन्दर भन्छन्‚ ‘तर‚ छिट्टै नै रिपोर्टरहरूलाई पेसेवर हत्याराका रुपमा प्रयोग गरिन थालेको महसुस भयो।’ 

इमेलमा उनले आफूलाई कांग्रेस सांसद शशी थरुरविरुद्ध प्रयोग गरिएको घटनालाई उदाहरणको रुपमा प्रस्तुत गरेका छन्। उनका अनुसार टिभीले शशीकी पत्नी सुनन्दा पुस्करको मृत्युबारे उनको पितालाई फसाएर शशीमाथि हत्याको आरोप लाग्ने आशयको सामग्री बनाउन बाध्य पारेको थियो।

उनी थप्छन्‚ ‘जम्मु कश्मीर ब्युरो प्रमुखको मुख्य काम भनेकै त्यहाँका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई टार्गेट गर्नु थियो।’ ती दुई नेतालाई देशद्रोहीका रुपमा प्रस्तुत गर्दै तिनका प्रत्येक काममा खोट खोज्न अह्राइन्थ्यो।' 

न्युज लन्ड्रीसँगको कुराकानीमा तेजिन्दरले अनलाइनहरूमा प्रकाशित उक्त पत्र स्वयंले स्वीकार्दै इमेल सार्वजनिक गरेर आफूले ठूलो पेसागत जोखिम मोलेको बताएका छन्। विगतमा काम गरेको संस्थाबारे यसरी बोल्दा भोलि बेरोजगार बन्न सकिने सम्भावनाबारे जानकार हुँदाहुँदै पनि चुनौती मोलेको उनको भनाइ छ। 

‘कसै न कसैले त यो गर्नु नै थियो’‚ उनले भने‚ ‘हामी जे गर्दै थियौं‚ त्यो पत्रकारिता थिएन। मानिसलाई अकारण निसाना बनाइ राखिएको थियो। मलाई पहिलोपटक यस्तो महसुस तब भयो‚ जब मलाई कालोपट्टि बाँधेर कांग्रेस कार्यालयअघि पोस्टरसहित प्रदर्शनमा सामेल हुन निर्देशन दिइयो।’ 

उनले फेरि भने‚ ‘मेरो काम पेसेवर हत्याराको जस्तो थियो। मलाई उमर अब्दुल्लाह के गर्दैछन्‚ मुफ्ती के बोल्दैछन्, खोज्न भनिन्थ्यो। उनीहरूको बोलीमा खोट खोज्न र देशद्रोहीका रुपमा चित्रित गर्न अह्राइन्थ्यो।’

‘यसलाई उनीहरूले चेस सिक्वेन्स नाम दिएका थिए‚ अर्थात्‚ हात धोएर कसैको पछाडि लाग्नु। खासगरी विपक्षी नेतालाई पछ्याउन र उनको मुखमा जबर्जस्ती माइक तेर्स्याएर जवाफ माग्न भनिन्थ्यो।’ यद्यपि, भारतीय जनता पार्टी (भाजपा) लाई ‘दूधले नुहाएको’ कहिल्यै नभनिएको तेजिन्दर बताउँछन्। ‘तर समाचार छनोटको तरिकाले प्रष्ट बताउँथ्यो’‚ उनले भने।

जम्मुमा सेनाको गोदाम नजिकै भाजपा नेताले गरेको अवैध निर्माणसम्बन्धी खबरलाई सम्पादकीय नेतृत्वले दबाइदिएको उनको अनुभव छ। भलै‚ तेजिन्दरले समाचार पुष्टि हुने सामग्री जुटाएका थिए।

सेनाकै प्रवक्ताले अवैध निर्माण भइरहेको स्वीकारेका थिए। तर‚ रिपब्लिक टिभीमा उक्त समाचार कहिल्यै आएन। बरु‚ इन्डियन एक्सप्रेसमा छापियो। ‘समाचारमा भाजपाका नेताद्वय निर्मल सिंह र कविन्दर गुप्ता जोडिएका थिए। ती दुवै जम्मु–कश्मीरमा मन्त्री भइसकेका नेता हुन्। 'यसले रिपब्लिक टिभीको फर्जी राष्ट्रवाद झल्काउँछ’‚ तेजिन्दरले भने। 

राजीनामा पत्रमा उनले रिपब्लिक टिभीभित्र व्यप्त नातावादबारे पनि कटाक्ष गरेका छन्। उनका अनुसार‚ उक्त मिडिया हाउसद्वारा सञ्चालित अंग्रेजी र हिन्दी दुवै च्यानलमा अर्णवकी पत्नी सौम्याब्रता रेले अन्तिम निर्णय लिने गर्छिन्। अर्णवबारे तेजिन्दर भन्छन्‚ ‘उनी सोनिया गान्धीलाई सुपर प्रधानमन्त्री भन्छन्‚ तर उनको टिभीमा उनकी पत्नी सुपर सम्पादक‚ म्यानेजिङ एडिटर सबैथोक हुन्। पदले उनी कार्यकारी सम्पादक मात्र हुन्‚ तर उनको अनुमतिबिना त्यहाँ पात पनि हल्लिँदैन।’

सौम्याब्रतासँग टेलिग्राफ, एएनआई र तहल्कामा काम गरेको अनुभव छ। अहिले उनी रिपब्लिक टिभीमा कार्यकारी सम्पादक तथा अंशियारका रुपमा आबद्ध छिन्। 

दरबारिया संस्कृति

न्युजलन्ड्रीले रिपब्लिक टिभी छाडिसकेका धेरै जना वरिष्ठ सम्पादक‚ एङ्‍कर तथा पत्रकारसँग उनीहरूले च्यानल छाड्नुको कारण र तेजेन्दरको आरोपबारे उनीहरूको राय जान्न खोजेको थियो। उनीहरू विगतमा काम गरेको संस्थाबारे टिप्पणी गर्दा भोलि बेरोजगार हुने अवस्था आउन सक्ने वा अनावश्यक बखेडामा पर्न सकिनेतर्फ सतर्क थिए। त्यसैले‚ गोपनीयता कायम राख्ने सर्तमा उनीहरूसँग कुरा गरियो। भारतका अधिकांश मिडियामा कर्मचारीलाई दोस्रो समाचार संस्थाबारे टिप्पणी गर्न बन्देज लगाइएको अवस्था छ। 

हामीले कुरा गरेका व्यक्तिहरूसँग अर्णवको निकट रहेर काम गरेको अनुभव छ। तीमध्ये एक जनाले गरेको टिप्पणीअनुसार, तेजिन्दरको इमेलले यो क्षेत्रमा अब अर्णवसँग सहकार्य गर्न रुचाउने सीमित मानिसमात्रै बाँकी रहेको दर्साउँछ।

‘अर्णवले रिपब्लिक टिभीलाई न्युज रुम हैन‚ दरबारजस्तो बनाएका छन्। सामान्यतया कुनै पनि संस्थामा कनिष्ठ‚ मध्यम र वरिष्ठ व्यवस्थापक हुने गर्छन्। तर‚ अर्णवले अनुभवहीन युवा थुपारेर न्युजरुम भरेका छन्‚ जसले कहिल्यै उनको विरोध गर्न सक्दैनन्। अनुभवी सबैले रिपब्लिक टिभी छाडिसकेका छन्।’ 

ती व्यक्तिले सन् २०१९ को चुनावपछि अर्णवमा आएको परिवर्तनतर्फ संकेत गर्दै भने‚ ‘अर्णव र उनको च्यानलमा आउने मानिस निकै आक्रामक बनेका थिए। अर्णवसँग कसैलाई राम्रो भन्ने केही कुरै बचेको थिएन। समाचारमा त्यस्तो ड्रामा अथवा चिच्याहट एक हदपछि लाजमर्दो हुन थाल्छ। उनमा आजतकलाई पछार्छु भन्ने महत्वाकांक्षा थियो‚ पछारे पनि। तर‚ त्यसो गर्दै गर्दा उनले एक पत्रकारका रुपमा आफ्नो सारा विश्वसनीयता गुमाउन पुगे।’ 

अर्का एक पूर्वएङ्‌करले रिपब्लिक टिभीको वातावरणलाई ‘विषाक्त र नकारात्मक’ भने। ‘व्यक्तिको निजी जीवनको कुनै सम्मान छैन। रातको एक बजे पनि मान्छेलाई फोन गरेका छन्‚ गाली गाली गरेका छन्। जो मान्छे सहर्ष कुरा गर्न तयार छ‚ त्यस्तालाई पनि पिछा गरेर‚ अप्ठ्यारोमा पारेर‚ उक्साएर प्रतिक्रिया लिन अह्राउँछन्।’

ती एङ्‍करले बताएअनुसार‚ अर्णव जहिल्यै एउटा कोटरीबाट घेरिएर रहन्छन्। राम्रो काम गर्ने कर्मचारी र तिनका आसपासकाले जहिल्यै असुरक्षित महसुस गर्नुपर्थ्यो।

रिपब्लिक टिभीका शीर्ष सम्पादकमध्येका एक‚ आदित्यराज कौलले तेजिन्दरको इमेलबारे प्रतिक्रिया दिन त चाहेनन्‚ तर उनको विश्वसनीयताबारे पुष्टि गरे। ‘तेजिन्दर थोरै भावुक अवश्य छन्‚ तर यसैका आधारमा उनीमाथि कुनै पूर्वाग्रह राख्न सकिँदैन। मैले नै उनलाई पिटिआईको चैनको जागिर छाडेर रिपब्लिक टिभीमा आउन प्रेरित गरेको थिएँ। मैले रिपब्लिक टिभीको वरिष्ठ सम्पादक तथा एङ्‍करको पदबाट सन् २०१८ मा राजीनामा दिएको हुँ। छाड्ने बेलामा मैले च्यानलको बदनाम गर्न राजीनामा नदिएकोबारे अर्णवलाई आश्वस्त पारेको थिएँ। त्यसमा आज पनि अडिग छु‚ तर रिपब्लिक छाडेकोमा कुनै पछुतो पनि छैन।’

'नम्बर वन बन्छौं कि बन्दैनौं ?'

रिपब्लिक टिभीमा पहिले खासगरी स्टिङ अपरेसनतर्फ जोडबल गरिन्थ्यो। अहिले अर्को प्रसिद्ध अंग्रेजी च्यानलमा काम गर्ने रिपब्लिककी एक पूर्वएङ्‍करले भनिन्‚ ‘कतिसम्म भने‚ एकपटक मलाई मेरै स्रोतको स्टिङ गर्न भनियो। अर्णव गोप्य माइक लगाएर स्रोतलाई भेट्न भन्थे। म किन त्यसो गर्ने? भरोसाको सम्बन्ध बनेपछि मात्रै कुनै मानिसले तपाईंलाई सूचना दिन्छ। तपाईं कल्पना गर्नुस्‚ युवा पत्रकारलाई के सिकाइँदैछ? लुकेर स्रोतको रेकर्डिङ गर्न र उनीहरूको पहिचान छरपष्ट पार्न अह्राइँदैछ।’ 

रिपब्लिक टिभीले सुशान्त सिंह राजपुतको फिटनेस ट्रेनरमाथि गरिएको स्टिङ अपरेसन प्रसारण गरेको थियो। भलै‚ पत्रकारले सुरूमै भनेकी थिइन्‚ ‘यो अफ दि रेकर्ड हो‚ हामी यसलाई प्रसारण गर्दैनौं।’ 

उक्त कुराकानीले कुनै ठूलो कुराको खुलासा पनि गर्दैनथ्यो‚ तर सनसनीपूर्ण भाकामा प्रस्तुत गरियो। स्मरणीय छ‚ पत्रकारितामा अन्तिम विकल्पको रुपमा स्टिङ अपरेसन गरिन्छ। खासगरी अन्य तरिकाले पुष्टि गर्न नसकिने महत्वपूर्ण जनहितको मुद्दा भएको खण्डमा मात्रै स्टिङ अपरेसन गरिन्छ‚ अन्यथा गरिँदैन। 

ती एङ्‍कर रिपब्लिक टिभीकी संस्थापक सदस्यमध्ये थिइन्। तर‚ उनी धेरै समय टिकिरहन सकिनन्। स्रोतको पहिचान उजागर गर्न असह्य तवरले दबाव दिइएपछि टिभी छाडेको उनले बताइन्।

‘मेरो विश्वस्त स्रोतबाट एक राजनेताबारे केही सूचना प्राप्त गरेकी थिएँ‚ जुन ती नेताको व्यक्तिगत जीवनसँग जोडिएको थियो। मैले उक्त सूचना चुहाउनेबित्तिकै अर्णव र उनकी पत्नी निकै उत्साहित भए। उनीहरूले मलाई धम्क्याएर स्रोतको पहिचान खोल्न लगाए। त्यसो नगरे ‘टिभी कार्यक्रमबाटै हाम्रा पत्रकारलाई लुकेर सूचना दिने को हुन्’ भनी प्रश्न गर्ने धम्की दिए। अर्णवले स्रोतसँग भेटाइदेऊ भने। मैले उनी तपाईंसँग भेट्न चाहँदैनन् भनें। त्यसपछि‚ अर्णवले प्रधानमन्त्री र मुख्यमन्त्री पनि मसँग डराउँछन्‚ तिमी कोसँग कुरा गर्दैछौं, थाहा छ? भन्ने प्रकारका कुरा गरे। म एकदम तनावमा परेकी थिएँ। म एकैछिनका लागि भने बाहिर निस्किएँ‚ त्यसपछि कहिल्यै फर्किएर गइनँ।’

ती एङ्‍करले अर्णवलाई आत्ममुग्ध सामन्ती मिडिया सम्राटको रुपमा चित्रित गरिन्। ‘अर्णवको दिमागमा भारतमा मोदीपछिको शक्तिशाली व्यक्ति मै हुँ भन्ने भान छ जस्तो लाग्छ। मलाई याद छ‚ एकपटक राति साढे १२ बजे उनी अफिसको बाहिपट्टि निस्किएर चिच्याए– हामी नम्बर वन बन्छौं कि बन्दैनौं ? हामी सबै जना बन्छौं भनेर चिच्यायौं। उनी राम्ररी सुनिएर जोडले फेरि चिच्याउँथे। हामी फेरि जोडले चिच्याउँथ्यौं। अर्णवले स्टाफसामु भाषण गर्दा कोही बस्दैनथ्यो। कोही हाँस्यो वा मुस्कुरायो भने उनको सिकार बनिहाल्थ्यो।’ 

ती एङ्‍करले रिपब्लिक कार्यालयको वातावरणबारे पनि टिप्पणी गरिन्। ‘विचित्रको कार्यालय थियो‚ त्यो। एडिटोरियल मिटिङ राति साढे २ बजे टुंगिन्थ्यो र स्टाफलाई बिहान साढे ७ बजे अफिसमा हाजिर हुन भनिन्थ्यो। साप्ताहिक छुट्टी दिइँदैनथ्यो। प्राय अफिसमै सुत्थ्यौं। कैयौंपटक राति साढे ३ बजे उठाएर प्रोमो सुट गर्न भनिन्थ्यो। एकपटक ज्वरो आएकाले घर जान चाहेको थिएँ‚ तर मलाई दबाई खाएर अफिसमै बस्न भनियो।’ 

एक अर्का पत्रकारले पनि स्टिङ अपरेसनसँग जोडिएको अनुभव बाँडे। ‘स्टिङका लागि वाहियात–वाहियात निर्देशन दिइन्थ्यो। अगाडि बसेको मान्छे राजीखुसी क्यामेरामा बोल्न तयार छ भने पनि ‘हुँदैन‚ स्टिङ नै गरेर ल्याऊ’ भनिन्थ्यो। मलाई एक खास विश्वविद्यालयको स्टिङ गर्न दबाब दिइएपछि मैले टिभी छाडें। यो मेरो वशको काम होइन भन्ने लाग्यो।’ 

उनका अनुसार‚ रिपब्लिक टिभीले पत्रकारिता गरिराखेको छैन भन्ने बुझ्न त्यहाँ धेरै वर्ष बिताउनै पर्दैन।

खबरको रूपरेखा

श्वेता कोठारी रिपब्लिक टिभीको इन्भेस्टिगेसन टिममा संस्थापक सदस्यको रुपमा जोडिएकी थिइन्। उनी अहिले लजिकल इन्डियनको कार्यकारी सम्पादक छिन्। उनले रिपब्लिकमा व्याप्त अविश्वासको माहोललाई सम्झिइन्।

‘ममाथि शशी थरुरका लागि जासुसी गरेको आरोप लागेको थियो। थरुरले मलाई ट्वीटरमा फलो गरेकै कारण त्यस्तो आरोप लगाइएझैं लाग्छ। अर्को‚ मैले सन् २०१४ मा थरुरलाई कांग्रेस अध्यक्ष बनाउन चलाइएको अनलाइन अभियानमा हस्ताक्षर गरेको प्रसंग उठाइयो। मैले हस्ताक्षर गरे–नगरेको थाहा पाउन उनीहरूले मेरो इमेलमाथि जासुसी गरेको हुनुपर्थ्यो‚ अर्को उपाय नै थिएन’‚ कोठारीले भनिन्। 

एनडिटिभीबाट रिपब्लिक गएकी कोठारीले सुरूमै दक्षिणपन्थी विचारधारातर्फ आफ्नो झुकाव नभएको प्रष्ट बताएकी थिइन्। ‘अर्णव र उनकी पत्नीले देश र सैन्य बलको पक्षमा सही कुरा उठाउनु नै आफ्नो ब्रान्डको लक्ष्य रहेको भन्दै आश्वस्त पारेका थिए। मलाई लाग्यो‚ टाइम्स नाउ छाडेका अर्नव थोरै भिन्न तरिकाले काम गर्न खोज्दैछन्’‚ उनले भनिन्। 

भाजपाप्रति अर्णवको झुकाव जान्दाजान्दै पनि उनीसँग काम गर्न तयार भएका अन्य केही व्यक्तिले पनि कोठारीको अनुभवलाई पुष्टि गरे। रिपब्लिकका एक पूर्वसम्पादकले भनिन्‚ ‘टाइम्स नाउमा छँदा अर्णवले कहिल्यै हामीमाथि सोझै दबाब दिने नगरेको अनुवभकै कारण मैले रिपब्लिक जोइन गर्ने निधो गरेको थिएँ। टाइम्समा छँदा उनले कहिल्यै भाजपाविरुद्धको समाचार रोक्न भनेनन्। नविकाले खुलेरै त्यसो गर्न थालिसकेको थियो। तर‚ सन् २०१९ बाट रिपब्लिकमा पनि चिजहरू तेजसँग बदलिन थाले। पहिले कमसेकम थोरै भए पनि समाचार त देखाइन्थ्यो।’ 

ती सम्पादकले आफूले नियमित रुपमा देखाउने गरेको एक बैंकिङ घोटालाको समाचारको उदाहरण दिइन्। ‘अर्णव चाहन्थे‚ म घटनामा सामेल नै नभएका कांग्रेस सांसदको टाउकोमा दोष थुपारुँ। उनी केही व्यक्तिलाई जमानत दिलाउने ध्याउन्नमा थिए। उनले आरोपीसँगै फोटोमा देखिएका गैरभाजपा नेताको तस्वीरलाई टिभीमा खुब नचाए। एकै थैलीका चट्टाबट्टा भन्दै खेदो खने। तर‚ जब मैले आरोपीसँग बसेका भाजपा नेताको तस्वीर पठाएँ‚ टिभीमा मुर्दा शान्ति छायो।’

ती सम्पादकका अनुसार‚ विपक्षी नेतासामु प्रस्तुत हुँदा आफ्ना स्टाफहरूबाट अभद्रताको अपेक्षा राख्थे अर्णव। उनले भनिन्‚ ‘सामान्य तरिकाले हुने साक्षात्कार काम लाग्दैनथ्यो। उनी ड्रामा चाहन्थे‚ आफ्ना स्टाफ अभद्र शैलीमा प्रस्तुत भएको हेर्न चाहन्थे। महत्वपूर्ण विषयमा प्रश्न गर्न पत्रकारले सरोकारवालालाई पछ्याउन् भन्ने अपेक्षा राखिन्छ‚ अर्णव अभद्रताका लागि पच्छ्याउन भन्ने चाहन्थे।’ 

श्वेता कोठारीले एउटा घटना सम्झिइन्‚ ‘मलाई एकपटक कश्मीरी पण्डितहरू कश्मीर उपत्यकामा फिर्ता हुने विषयबारे आम कश्मीरी मुसलमानको प्रतिक्रिया खिच्न भनिएको थियो। मैले गाउँगाउँ डुलेर ५० जनासँग कुरा गरें‚ २० जनासँगको कुराकानी रेकर्ड गरें। तीमध्ये तीन या चार जनाले मात्रै अर्णव देखाउन चाहेको कुरा भने। अर्थात्‚ पण्डितहरूप्रति घृणा दर्शाए। बाँकीले कश्मीरी पण्डितलाई स्वागत गर्ने र शान्तिसँग मिलेर बस्ने बताएका थिए। तर‚ तिनीहरूको कुरा कहिल्यै देखाइएन।’

भजनमण्डलीको घेरा

पूर्वकर्मचारीले बनाएको चित्रमा अर्णव राहुल गान्धीजस्तै देखिन्छन्‚ जो सधैं चाटुकार मण्डलीबाट घेरिएर बसेका हुन्छन्। यी दुईमा एउटै अन्तर छ‚ अर्णव जे गरिरहेका छन्‚ त्यसमा सफल छन्।

उनी त्यस्ता मान्छेबाट घेरिएर बसेका छन्‚ जो कुनै नयाँ मान्छे अर्णवको सम्पर्कमा आउनेबित्तिकै आफूलाई असुरक्षित महसूस गर्छन्। एक पूर्वसम्पादकको कुरा पत्याउने हो भने तेजिन्दरको इमेलका कारण अर्णव खुशी नै भएको हुनुपर्छ‚ किनकि उक्त इमेलले साम्याब्रताको भूमिकालाई सबैको सामुन्ने उजागर गरिदिएको छ।

‘परिवारवादविरुद्ध जोडजोडले चिच्याउने अर्नव आफै परिवारवादी हुन्। उनले आफ्नो च्यानलको लगाम पत्नीको हातमा थमाइदिएका छन्। निकटस्थको साँघुरो घेरा बनाएका छन्। बफादारी देखाउनेलाई इनाम दिने गरेका छन्’‚ उनले भनिन्। 

ती पूर्वसम्पादकका अनुसार‚ टाइम्स नाउमा सहकर्मी रहिसकेका कारण अर्णवसँग व्यवहार गर्न सहज भए पनि सौम्याब्रतासँग तालमेल मिलाउन धौ–धौ हुनेगर्थ्यो। ‘चिच्याउन‚ आक्रामक हुन र सनसनीपूर्ण तरिकाले प्रस्तुत हुन निर्देशन दिन्थिन्। तेह्र घण्टाको सिफ्ट हुन्थ्यो‚ काम राम्रै चले त ठूलो कुरो थिएन। तर‚ सौम्याब्रताको दिमागमा हरेक खबरको निष्कर्ष पहिल्यै तयार हुन्थ्यो। पेस गर्ने तरिका पनि पहिल्यै तय हुन्थ्यो। हाम्रो काम त उनीहरू जे चाहन्थे त्यही मात्रै गर्नु थियो।’

रिपब्लिक टिभीका संस्थापक सदस्यमध्येका अर्का पूर्वकर्मचारीको विचारमा अर्वणको नजरमा हरेक चिज ‘ब्ल्याक एण्ड ह्वाइट’ छन्। सूक्ष्मताको कुनै स्थान छैन। ‘तपाईं या असल हुनुहुन्छ‚ या त खराब। तपाईं या उनको साथमा हुनुहुन्छ या विरुद्ध हुनुहुन्छ। एकतर्फी पत्रकारिता र फोहोरी राजनीति हुने गरेकाले नै मैले रिपब्लिक छाडेको हुँ। खुराफात गर्न जान्नेहरू माथि चढे‚ मेहनती र राम्रो काम गर्नेहरूमाथि शोषण भयो।’ 

माथि उधृत गरिएका पूर्वसम्पादक अर्णवमा केही गुण पनि देख्छन्। ‘अर्णवलाई तपाईं कस्तो देखिनुहुन्छ‚ तपाईंको परिवार वा पृष्ठभूमि के हो भन्ने कुराले केही फरक पार्दैन। तपाईंसँग योग्यता छ भने तपाईंलाई क्यामेरासामु जाने मौका दिन्छन्‚ अघि बढाउन खोज्छन्।’

अर्का पूर्वसम्पादक एङ्‍करले पनि माथिको भनाइमा समर्थन जनाए। ‘तपाईं जुनसुकै पृष्ठभूमिबाट आउनुभएको किन नहोस्‚ अर्णवलाई फरक पर्दैन। क्यामेराअघि बोल्न सक्नुहुन्छ या हुँदैन भन्ने कुराबाट तपाईंलाई अन–एअर लाने वा नलाने निर्क्यौल गर्छन्। म एक पत्रकारलाई चिन्छु‚ जसलाई एउटा च्यानलले कालो वर्ण भएकै कारण तिमीलाई टिभीमा प्रस्तुत गर्न सकिँदैन भनिदिएको थियो। तर‚ अर्णवले वर्णलाई महत्व दिएनन्‚ हरेक स्टोरीमा तिनैलाई प्रस्तुत गरे।’

अर्की पूर्वएङ्‍कर अर्णव भजनमण्डलीबाट घेरिएर बस्छन् भन्ने कुरामा असहमति राख्छिन्। उनले केही पुराना निकटस्थले रोजगारीको विकल्पबिनै अर्णवलाई छाडेर गएको उदाहरण दिइन्। ‘अर्णवलाई कुनै चिजले अर्थ राख्दैन। उनी केही–केही कुरामा अरूमाथि निर्भर अवश्य छन्‚ तर ती अनिवार्य हैनन्।’

​उनकी पत्नीबाहेक सबै अस्थायी हुन्‚ जो रिपब्लिक टिभीमा हुने सबै गतिविधिमाथि नियन्त्रण राख्छिन्। त्यसबाहेक एक प्रोडक्सन–हेड छन्‚ जो टाइम्सदेखि नै अर्णवसँग थिए। बाँकी सबै अस्थायी हुन्।’

ती एङ्‍कर अगाडि भन्छिन्‚ ‘अर्णवलाई मान्नैपर्छ। उनी केवल एक पत्रकार थिए‚ तर आज करोडौंको साम्राज्यमा राज गर्छन्। उनी चतुर व्यापारी हुन्‚ जसलाई दर्शक के चाहन्छन् भन्ने थाहा छ। चुनावको समयमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म स्टुडियोमै बस्थे‚ बीचमा खाना खानका लागि मात्रै उठ्थे। मेरो विचारमा उनी आफूलाई मोदीपछिको सर्वाधिक शक्तिशाली ठान्छन्। आफ्नो प्रसिद्धी वा सामाजिक सञ्जालमा चर्चा देखेर मक्ख पर्छन्। मलाई लाग्छ : चर्चा हुन छाड्यो भने उनी निकै निराश हुनेछन्।’ 

टिआरपीको लडाइँ

ताजा रेटिङअनुसार‚ रिपब्लिक भारतले हालै मात्र आजतक टिभीलाई पहिलो स्थानबाट तल झारिदिएको छ। टिआरपीको लडाईंकै कारण पछिल्लो महिना भारतीय टिभीले दर्शकसामु लज्जास्पद दृष्यहरू प्रस्तुत गरे। रिपब्लिकका एङ्‍करहरू सुशान्त मृत्यु प्रकरणलाई लिएर रिया चक्रवर्तीको घरबाहिर धक्कामुक्का गरिरहँदा आजतक भने एक नागरिकको निजी जीवनमा दखल दिन व्यस्त थियो। 

यस सन्दर्भमा रिपब्लिकका एक पूर्वकर्माचारी भन्छन्‚ ‘भारतीय टिभीको स्तरबारे अर्णवलाई मात्रै जिम्मेवार ठहर्‍याउनु उचित हुँदैन। यहाँ कुनचाहिँ टिभी फरक छ र ? तपाईं जुनसुकै च्यानल हेर्नुस्‚ ती राष्ट्रवाद र हिन्दु–मुस्लिम एजेण्डा बेचिरहेका छन्। रिपब्लिक टिभीमा काम थाल्नुअगावै मलाई यो पत्रकारिता होइन भन्ने थाहा थियो‚ यो अन्ध–राष्ट्रियता हो। सबै च्यानलहरू उन्माद फैल्याउँदैछन्। यो सबै टिआरपीको खेल हो।’

उनको विचारमा‚ सबैभन्दा ठूलो गल्ती दर्शकको हो‚ जो त्यस्ता सामग्री हेर्छन्। भन्छन्‚ ‘तपाईंलाई थाहा छ‚ हरेक बिहीबार रेटिङ आउँदै गर्दा हामी कति दबाबमा हुन्छौं ? रेटिङमा सानोभन्दा सानो गिरावट आउँदा तपाईंलाई जिम्मेवार ठहर्‍याइन्छ। समाचारका उपभोक्ता यस्तो तमासालाई किन रुचाउँछन् किन हेर्छन्रु प्रश्न यो हो।’

दर्शकजस्तै‚ सञ्चारकर्मीलाई पनि तल्लो स्तरको सामग्रीको बानी परिसकेको छ। हिजोका दिनमा जो–जो पत्रकार अर्णवसँग काम गर्न जाँदै थिए‚ तिनलाई आफू वाल्टर क्रन्काइट वा प्रसिद्ध एसपी सिँहसँग काम गर्न जाँदै छैन भन्ने राम्ररी थाहा थियो। रिपब्लिक छाड्न बाध्य हुनुको कारण लचिलो नबन्नुमा थिएन‚ उनीहरू अर्णवको इशारामा नाच्न नचाहनुमा थियो‚ अर्णवका शर्त पचाउन नसक्नुमा थियो। 

न्युजलन्ड्रीले तेजिन्दर र अन्य पूर्वकर्मचारीले अर्णवमाथि लगाएको आक्षेपमाथि प्रतिक्रिया लिने कोसिस गरेको थियो। 

(न्युजलन्ड्री डटकममा प्रकाशित सामग्री भावानुवाद गरिएको।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.