|

आजको समयमा कोरोना कहरको उदाहरण दिएर होस् या समाजमा बढ्दै गएको बेरोजगारी अनि, सडक सडकमा भोका पेटलाई खाना दिएर सहयोग गरेका दृश्य जे कैद गरेपनि संवेदनशील समाचार बन्दछन् र बनाउन सकिन्छ।

कोरोनाअघि पनि हाम्रो नेपालको परिस्थिति, रोजगारीको अवस्था, सामाजिक व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सन्तोषजनक व्यवस्थापन र अवसर सहज थिएनन। तर, यो परिस्थितिलाई नागरिक स्वयंले घरबाहिर निस्केर आफ्नो रोजीरोटीको मेलो गरेका थिए।

कोरोनाकै कारण रोजगारी, स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकता पूरा नगर्नेहरूको तथ्यांक खोज्ने प्रयास गर्नुभन्दा पनि कोरोना कहर अगाडिदेखि नै यस्ता समस्या भोग्नेको तथ्यांक त्यति नै थियो। यो कुरा हामी धेरैले ख्याल गरेका थिएनौं। तराईदेखि कर्णालीसम्मका तथ्यांक रिपोर्टमा दस्तावेज बनेर तयारी अवस्थामा छन्।

समाधानका उपाय के कति भए र प्रगति के छ त्यसको लागि तथ्यांक जम्मा गर्नुभन्दा पनि तथ्य थाहा पाए पुग्छ। सम्बन्धित क्षेत्रले समस्यालाई उजागर गरेर राखिदिएका धेरै तथ्यांक र रिपोर्ट हामीसँग उपलब्ध हुन सक्छन् तर समाधान त कागजमा हुँदैन। आज सञ्चा‍र माध्यमभरि छाएका मजदुरहरूका कथा र आँसुले प्रष्ट बोलिरहेको छ यो बीचमा हाम्रो उपलब्धि के भयो? राज्यको प्रगति के हो?

आत्महत्या थाहा पाउन दिवस जान्‍नु पर्दैन

सेप्टेम्बर १० लाई अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस भनेर संसारभरि नै आत्महत्या गरेर व्यक्तिले ज्यान गुमाउनु नपरोस् भनी चेतना जागृतका कार्यक्रमसहित मनोविज्ञानलाई स्मरण गर्न थालिएको सन् २००३ देखि नै हो। नेपालमा यसको मर्मलाई कसरी हेर्ने गरिएको छ जान्‍नलाई यो दिन स्मरण गर्नै पर्दैन।

जुन दरमा आत्महत्याको संख्या र दर बढ्दै गइरहेको त्यसको रोकथामको लागि कार्यक्रमले होइन सम्बन्धित क्षेत्रले दायित्‍व निर्वाह गरे पुग्छ। मानिसले आत्महत्या किन गर्छ भनेर अध्ययन अनुसन्धानको जरुरत नै छैन; समाजमा आँखा अगाडि देखिएका घटना व्यक्तिका कथा अनि आँसुले बोलिरहेका छन्

राजधानीको मध्यसडकमा बसेर झरीमा रुझ्दै थाल थापेर भोक मेटाउने आसमा पर्खेका युवा, ठेलागाडामा तरकारी बेचेर छाक जुटाउने एक महिलाको कथाले तिनीहरूसँग जोडिएका धेरैको कथा बोल्दछ।

किन गर्छन् आत्महत्या अब पनि अध्ययन र तथ्यांक आवश्यक छ र? कुनै दह्रो जागिर नभएका युवा, दिदीबहिनी, दाजुभाइले आफ्नो बलबुताले सकुन्जेल पेट भरौं भनेर सामाजिक क्षेत्रमा होमिएका परोपकारी मनहरूका तथ्यांक रच्नु आवश्यक छैन।

तर, फेरि पनि जिज्ञासा त हुन्छ नै सरकारको तर्फबाट कोरोना कहरको लागि छुट्टिएको बजेट र सहयोग यी असहायको लागि उपयोगमा आउन सक्दैन? नागरिकको संवेदनाबाट निस्कने यस्ता जिज्ञासा मेटाउन सरकारले के उखान बनाएर प्रस्तुत गर्ला?

जनस्वास्थ्य मनोविज्ञान

झट्ट हेर्दा आत्महत्या व्यक्तिको मनोविज्ञानबाट निस्केको व्यक्तिगत मनोदशा जस्तो लाग्छ तर गहिराइबाट सोच्ने हो भने यो जनस्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने विषय पनि हो। यस्ता घटना सुन्दा र देख्दा स्वस्थ व्यक्तिमा पनि अनेक कथा बन्न पुग्छन्। किन, कसरी जस्ता मनोजिज्ञासाहरू उठ्न थाल्छन्, भय सृजना हुन सक्छ, जसले एउटा स्वस्थ व्यक्तिलाई समेत विक्षिप्त बनाइदिन्छ। यो समस्या समाजको र राष्ट्रकै समस्या बन्न पुग्दछ।

'कोही किन वर्वाद हुन्छ' भन्ने तथ्यलाई आत्मसात गर्ने हो भने मात्र आत्महत्याको संख्या न्यूनीकरण हुनसक्छ। एउटा व्यक्ति विक्षिप्त भएर आत्महत्याको उपाय रोज्‍नुमा त्यो घर, परिवारको मात्र नभएर समाज र राष्ट्रकै आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्षले प्रभाव पारेको हुन्छ।

कतिपय घटनाका कारण नदेखिन सक्छन् त्यसमा संवेदना मनोभावना जोडिएको हुन्छजीवन घटनालाई सधैं अंकगणितीय आधारमा मात्र विश्लेषण गर्न सकिन्नआत्महत्या, तनाव जस्ता मनोरोगबाट मुक्ति दिलाउन जनचेतनामूलक कार्यक्रम आवश्यक हुन्छन् तर त्योभन्दा पहिले व्यक्तिका आधारभूत आवश्यकतालाई कसरी पूरा गराउने त्यतातिर पनि सोच्नुपर्ने हुन्छ

आफ्नो जीवनसँग संघर्ष गर्न नसकेर जीवन त्याग्ने निर्णय गर्नुको पछाडि उसले कति कुराहरूसँग संघर्ष गर्ने सामर्थ्य राखेन होला त्यो पनि सोच्‍नुपर्ने हुन्छ। एउटा व्यक्तिले जीवन त्याग गरिदिँदा उसको जीवनसँग जोडिने कैयौंको जीवनमा शोक, रोग र भोक थपिन्छ होला। शरीर त्यागेपछि पनि उसको चरित्रसँग जोडिएर आउने विविध पक्षले समाजलाई कति दुर्गन्धित बनाइरहन्छ, यसलाई कसले मनन गर्ने?

ऊ एकजनाको कमजोरीले उसको परिवार र नजिकका अरूलाई कति कमजोर बनाइदिन्छ होला? त्यसैले आत्महत्या जस्ता घटना कुनै एक व्यक्तिको मनोदशा मात्र नभएर राष्ट्रकै समस्या हो भन्ने बोध सरोकारवालामा नहुँदा र प्रत्येक नागरिकले आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने हैसियत निर्माण गरिदिनुपर्छ भन्ने कुरा नबुझ्दासम्म समृद्धिका भाषण नदिए पनि हुन्छ।

व्यक्तिको मनोदशा घटना

कोरोना सुरु हुनुअघि र अहिलेको परिस्थिति होस् या अझै केही वर्ष अगाडिका तथ्यांक हेरियो भने पनि किशोर किशोरीदेखि लिएर वृद्धहरू जसमा महिला पुरुषको उस्तै नै आँकडामा आत्महत्या गरेको तथ्य देखिन आउँछ। झट्ट हेर्दा धेरै व्यक्तिले तनाव र आवेशमा आएर आत्महत्याको निर्णय लिएको बुझिन्छ तर त्यसो होइन।

कुनैं व्यक्ति कैयौं वर्षदेखि अनेक अभाव र प्रभावले बाँचिरहेको हुनसक्छ। उसले आफ्ना कुराहरू नजिकका व्यक्तिलाई सुनायो या सुनाएन, सुनेर पनि उसलाई मनोपरामर्श र सहयोग गरियो कि गरिएन, उसको वास्तविक समस्या के थियो? उसको समस्या आर्थिक, सामाजिक कारण हो या उसको मनोविज्ञानको उपज थियो कि जस्ता विगतका इतिहास पत्ता नलगाईकन उसले आवेशमा आत्महत्या गर्‍यो भन्‍न सकिन्‍न।

सबै कुराबाट विरक्त भएपछि, अब कुनै उपाय छैन भन्ने लागेर मात्र अन्तिम निर्णय आवेश हुन सक्छ र अब ऊ जीवनबाट नै हरेस खान पुग्छ। यस्ता कुराको समाधानको लागि सबैको संवेदनशील सहयोग र वास्तविकता बुझ्‍न सक्नुपर्दछ।

सन्तुलनको आयाम नजान्‍नु 

धेरैजसो तथ्यांकले विकासोन्मुख राष्ट्र र गरिबी बढी भएको समाज या घरमा आत्महत्याको घटना घटेको बताउँछन्। अवश्य पनि न्यूनतम आवश्यकता पनि पूरा हुन नसक्ने किसिमको आर्थिक अवस्थाबाट गुज्रिनेहरूलाई जीवन कति दर्दनाक लाग्दो हो, कति विरक्त लाग्दो हो।

उसले सास रहुन्जेल आस भनेर कति मिहिनेत पनि गर्दो हो, तर उसका योजना र सोचाइ असफल भएपछि, आवश्यक सहयोग नपाएपछि अन्तिम रोजाई आत्महत्या पाउँदो होला।

कतिपय प्रतिष्ठित व्यक्ति, धनाढ्य, सेलिब्रेटी, जसको बारेमा कल्पनासम्म गर्न सकिन्न उनीहरूले समेत आत्महत्या रोजेको समाचार आइरहँदा, बुझ्नुपर्ने हुन्छ आत्महत्या भन्ने मनोरोग असन्तुलनमा बाँच्नेलाई पनि लाग्न सक्छ। आर्थिक र शैक्षिक रूपमा सबल र सक्षम हुँदाहुँदै पनि नाम, दाम र रूप भएर पनि जीवनलाई आत्महत्याकै माध्यमले अन्त्य गर्ने निर्णय लिनेहरूले जीवनमा अनावश्यक अपेक्षा धेरै लिएका हुन सक्दछन्।

मृगतृष्णारूपी चाहना, असन्तुलनको जीवनशैली, खानपान, सोच, रहनसहन, संगत अनि जीवनमा पाएको कुराप्रति धन्यवाद व्यक्त गर्न छोडेर कसैलाई पछि पारेर आफू अघि पुग्छु भन्ने आकांक्षाले व्यक्तिलाई विपरीत दिशामा कार्य गर्न बाध्य पुर्याएको हुन सक्दछ। उसले आफ्नो समझ, विवेक र होस गुमाएर केवल अपेक्षा र आकांक्षामा आफ्नो सोचलाई सीमित गराएको हुन्छ।

अपेक्षा राख्नु नराम्रो होइन तर सबै अपेक्षा आफूले चाहे अनुकूल पूरा हुन्छन् यो भने जरूरी छैन। जब चाहे अनुसारको अपेक्षा पूरा हुँदैन तब व्यक्तिमा अस्वीकारको भावना सृजना हुन्छ। कर्मको परिणाम भन्दा पनि परिणाम प्रतिको अस्विकारले व्यक्ति तनावमा पुग्छ। उसको तनाव नै उसलाई आत्महत्यामा उधृत गर्ने माध्यम बन्न सक्दछ।

जीवनलाई सन्तुलनका साथ बाँच्न जान्ने कला सिक्नु सिकाउनु, मनन गर्नु समझदार बन्नु ठूलो गुणवत्ता होजीवनको सन्तुलन भनेको साधन साध्य दुबै होस्भोजन पनि होस् भजन पनि होस्बाहिरको सफलता होस् अनि भित्रको आनन्द शान्ति पनिबाहिर धन होस् भित्र ध्यान होस्बाहिर प्रेम होस् अनि भित्र प्रज्ञा पनि होस्

यी सबै चिज प्राप्त गर्ने खुबी मानिसमा छ। उसले आफ्नो गुणवत्ता र क्षमता पहिचान गर्न सक्यो भने कहिल्यै अप्रिय घटनाबाट गुज्रिनु पर्दैन। व्यक्तिका रोग औषधिले निको हुन्छन् तर असन्तुलित मनोरोग ठिक पार्न प्रज्ञा, ध्यान र समझको शिक्षा जरुरी हुन्छ।

जुनसुकै स्तरको व्यक्तिमा यो जरुरी छ घर चलाउने व्यक्ति होस् या देश चलाउने, किनकि सर्वप्रथम ऊ मानव हो अनि उसका कर्म बहुजन हिताय, बहुजन सुखायसँग जोडिनुपर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.