|

मोहन कुँवर

देशमा राजनीतिक तथा आर्थिक विकाशको अस्थिरताले गर्दा युवावर्गको लागि वैदेशिक यात्रा प्रमुख रोजगारको विन्दु हुन पुगेको छ। आम युवावर्गमा थपिने पारिवारिक जिम्मेवारी तथा उत्तरदायित्वले गर्दा धेरै युवाहरूलाई  वैदेशिक यात्राको बाटो तय गर्न बाध्य बनाएको छ।

विकशित मुलुकदेखि खाडी मुलुकसम्म रोजगारीको लागि पसेका नेपालिहरूको  आ- आफ्नै  किसिमका बाध्यात्मक परिस्थिति तथा उद्देश्य हुन्छन्। आफ्नो अनि परिवारका सपना पूरा गर्दागर्दै विदेशी भूमिमा विलिन हुन पुगेका कैयौँ युवाको परिवारको दर्दनाक असह्य पीडाले तपाईं हामी जो कसैको पनि मुटु विच्छेदित बनाएको हुन्छ। तर, राज्य यस्ता घटनाप्रति मौन बस्छ। राज्यलाई दैनिक रुपमा भित्रिने रातो बाकसभन्दा पसिनाको धाराको रुपमा भित्रिने रेमिटेन्स प्यारो लाग्दै छ।

जबसम्म देशले आर्थिक, राजनीतिक, शैक्षिक, औद्योगिक र कृषि क्षेत्रमा परिवर्तनको ज्वाला बाल्न सक्दैन तबसम्म युवावर्गलाई यो समस्याले अल्झाइरहने छ।

युवाशक्ति विश्वको कुनै पनि राष्ट्रको लागि विकाशको  प्रमुख मेरुदण्द हो जहाँ परिवर्तन तिनै युवाशक्ति बाट मात्र सम्भव हुन्छ।  युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो।  यो समूह जनसंख्याको सार्वधिक सक्रिय, ऊर्जावान र गतिशील समूह पनि हो।  कुनै पनि राष्ट्रको विकाशमा प्रमुख मानवस्रोतको साधन युवा भएकोले युवाको सहभागीता विनादेशको बिकाश सम्‍भव छैन त्यसैले राज्यले देशमा भएको स्रोत र साधनलाई उचित तरिकाले अधिकतम प्रयोगमा ल्याई युवा जनशक्ति परिचालन गर्न जरुरी छ।

तर, यहाँ फरक रहेको छ। शिक्षित तथा सीप भएका कैयौँ युवाशक्तिको लागि राज्यबाट उचित किसिमको सेवा तथा सुविधाको व्यवस्था हुन सकेको छैन। उच्च शिक्षा अध्ययन गर्दा गर्दै पनि देशमा भएको बेरोजगारी समस्याले आफ्नो मूल्यवान सीप र क्षमतालाई खाडी मुलुकमा सस्तो मूल्यमा पसिनासँग साट्न बाध्य भएको आमयुवाहरूको पीडा रहेको छ।

यदि देशमा रोजगारको अवसर मिल्यो भने पनि शहरी इलाकामा बसी महिनाको १४/१५ हजारको तलबमा गुजारा चलाउनुपर्ने बाध्यता छ। जसले आफ्नो खर्च पुर्‍याउने कि परिवारको जिम्मेवारी पूरा गर्ने भन्ने कुरा देशमा बढिरहेको महँगीले सोच्न बाध्य बनाउन थालेको छ।

यतिबेला देशका कुना कुनाका गाउँ युवाविहीन हुन पुगेका छन्। गाउँघरमा गरिने सामाजिक तथा धार्मिक कार्यहरू पनि आजभोलि युवाहरूको अनुपस्थितिले गर्दा केही खल्लो हुन थालेका छन्। गाउँका उत्पादित उर्वर भूमिहरू त्यसै बाँझो बसेका छन्। हरेक वर्ष छिमेकी  मुलुकले भारत, चीन र विदेशबाट अन्न, फलफूल, तरकारी तथा मासुजन्य खसीबोका र कुखुरा जस्ता दैनिक उपभोग्य बस्तु किनेरल्याउनु परेको छ।

लाखौं युवा  घरमा बुढाबुढी भएका बुवाआमा श्रीमती र कलिला बालबच्चाहरूको लागि महल बनाउने आमा सानो झुपडीमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छनकाठमाडौंको त्रिभुवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा गाउँदै सुक्कसुक्क रुदै परदेशी बनेका युवाहरूको पीडा देख्दा जो कोही देशभक्त नागरिकको हृदय धुजाधुजा बनेर चिरिन्छ। आँखामा पीडा, वेदनाका आँसु छचल्किन्छन्

घरपरिवारलाई गाउँमै छाडेर परदेशी बनेका युवाहरू सस्तो पारिश्रमिक मूल्यमा विदेशी भूमिको बिरानो मुलुकमा नेपालको नाम लिँदै तातो मरुभूमि, बन्दै गरेका अग्लाअग्ला भवन, गहिरा तेलका कुवा र उद्योगहरूमा ज्यानको बाजी लगाएर दिनरात पसिना बगाउँछन्। परिवारको सुखको लागि पसिना बगाउँदा बगाउँदै कतिपय युवा दुर्घटनामा परेर प्राण त्याग्छन् र बन्द बाकसमा लास बनेर घर फर्किन्छन्। कतिपय युवा अंगभंग भएर जिउँदो लास बनेर फर्काइएका छन् त कतिपय आफ्नै गल्ती र कमजोरी तथा आपराधिक क्रियाकलापले गर्दा उतै मृत्युदण्डको शिकार बन्न पुगेका छन्।

पारिवारिक समस्या

यतिबेला समाजमा शहरिया जीवनलाई एउटा देखावटी तथा फेसनको रुपमा लिन थालिएको छ। विदेशमा आफ्नो मान्छेको समस्या तथा पीडा नबुझी जबरजस्ति आफ्नो तरिकाले शहरतिर बसाइँ सर्ने अवस्था तपाईं हाम्रो समाजमा विकृतिको रुपमा देखिन थालेको छ। समाजमा सबै नारी पनि खराब हुँदैनन् र विदेशिएका सबै पुरुष पनि खराब हुँदैनन्।  विदेशमा पसिना बगाएर कमाएको पैसालाई परिवारको सदस्यहरूबाट सही ठाउँमा उचित तरिकाले प्रयोगमा ल्याइदिन नसक्नु नै विदेशिएका आमयुवाहरूको प्रमुख समस्या रहेको छ।

परिवारको खुसी र आवश्यकता पूरा गर्नको लागि यतिबेला नेपाली युवा पुरुष  तथा महिलाहरूको वैदेशिक यात्राले केही बालबच्चाहरू उचित किसिमको पारिवारिक शिक्षाबाट बञ्चित हुन पुगेका छन्।​ विप्रेषणले अल्पकालीन रूपमा गरिबी घटाएजस्तो देखिए पनि यसको दीर्घकालीन असर मुलुकको हितमा छैन

 नेपालीहरूको परिवर्तनशील  जीवनशैलीले गर्दा वैदेशिक रोजगारबाट भित्रिएको  रकम उत्पादनशील कार्यमा भन्दा बढी दैनिक उपभोग्य वस्तुहरूको प्रयोग  तथा अनुत्पादित क्षेत्रमा लगानी भएको छ जसले अल्पकालीन रुपमा गरिबीलाई कम गरेको जस्तो देखिए पनि दीर्घकालीन रुपमा राज्यलाई लाभ दिन सक्ने छैन।

नेपाली युवाहरूमा व्‍यावसायिक क्षेत्रतिर लगानी लगाउनेभन्दा शहरी क्षेत्रतिर जग्गामा लगानी गरी ठूल-ठूला घरहरू बनाउनेतिर ध्यान केन्दृत भएको छ जसले गर्दा आर्थिक चलायमान लाई नै असर गरिरहेको छ।

नेपालीहरू विश्वको विभिन्न देशहरूमा रहेका छन् जसमध्ये सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ।

रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने गरी रेमिटेन्स भित्र्याए पनि पनि त्यस्तो रकमबाट पुँजीनिर्माण भने हुन सकेको छैन। कामदारबाट भित्रिएको रेमिटेन्सको झन्डै ८० प्रतिशत दैनिक उपभोग्य वस्तु र मनोरन्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ।

कोभिडले देश फर्किएका युवाप्रति राज्यको भूमिका 

 यतिबेला विश्व अर्थतन्त्र लाई कोरोनाले प्रभाव पारिरहेको छ,जसले व्‍यावसायिक क्षेत्रलाई शून्य अवस्थामा पुर्‍याएको छ भने कैयौँ कम्पनी टाट पल्टिसकेका छन्। जसको असरले वैदेशिक रोजगारीमा रहेको नेपाली युवा शक्तिलाई प्रत्यक्ष  रुपमा असर पुर्‍याउनेछ। आम बिदेशिएका युवाहरूले कमाउने समयमा बचत गर्न नसक्नु अनि कुनै कारणवश देश फर्किनुपर्‍यो भने शून्य हातमा फर्कनु प्रमुख समस्या रहेको छ। त्यसैले यतिबेला राज्यले विकाश निर्माणका कार्यभन्दा उत्पादनशिल क्षेत्रमा लगानी गरी रोजगारको अवसर प्रदान गर्न जरुरी छ।

वैदेशिक रोजगार गुमाएर आएका युवाहरूलाई परिचालित गर्न सक्नु नै यतिबेला राज्यलाई प्रमुख चुनौती रहेको छ। देशमा कृषि प्रणालीलाई आधुनीकीकरण गरि कृषि क्षेत्रमा व्‍यापक उत्पादन गर्नुका साथै औद्योगिक विकाश गर्न सक्ने हो भने केही हदसम्म बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्न सक्नेछ।

देशमा भएको प्राकृतिक स्रोत र साधनलाई उचित प्रयोग गरी पर्यटन क्षेत्रलाई ध्यान दिन जरुरी छ जसले विदेशी पर्टयकको  आगमनमावृद्धि गरि आर्थिक क्षेत्रलाई बलियो बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्नेछ। विशेष गरी नेपालमा  पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका श्रृंखलावद्ध हिमालहरू, विभिन्न किसिमका

झरनाहरू, पाखा, पखेरा, टार, हरिया, जङ्गल झाडी, यहाँ रहेका नागवेदलीनदीनालाहरू, खोच, कुनाकन्दराहरू संसारकै उच्च स्थानमा रहेका हिमताल, यहाँका प्राकृतिक जडीबुटीहरू, यहाँका मानिसहरूमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृति विविधता, जातजाति, भेषभूषा कला सँस्कृति आदि कुराहरूले गर्दा  नेपालमा पर्यटनव्यवसाय विकाशको सम्भावनाहरू बलियो रहेको छ।

युवाहरूमा देश फर्किएपछिको योजना 

 लगातार लामो समयको वैदेशिक रोजगारले धेरै युवाहरूलाई शारीरिक तथा मानशिक पीडा थपिदिएको हुन्छ। थोरै आम्दानी तर जतिसुकै दु:ख भएनि देशमै बसेर परिवारसँगै रमाएर बस्ने जो कोहि विदेशिएका युवाहरूको मनले चाहेको हुन्छ। आफू जन्मेको गाउँ बालापनको साथीहरू अनि देश नै छोडेर जाँदा सबै बिरानो लाग्छ विदेशी भूमिमा तर पनि त्यहि एउटा याद लिएर परदेशिको सपना अघि बढिरहेको हुन्छ।

विदेशमा प्राप्त सीप तथा अनुभवलाई प्रयोग गरी सानो व्‍यापार तथा व्यवसाय सुरु गर्न सकियो भने पनि दीर्घकालिनरुपमा फलदायी हुन पुग्छ। विशेषगरी नेपालमा सहज लगानीमा गर्न सकिने व्यवसायहरू कृषि उत्पादन क्षेत्र अन्तरगत माछा, कुखुरा, बाख्रा तथा गाईपालन साथै फलफूल खेती र  तरकारी खेती इत्यादि। अन्य क्षेत्रअन्तर्गत होटल, रेस्टुरेन्ट, विभिन्न किसिमका व्यापार फेन्सी स्टोर, किराना स्टोर, विद्युतीय सामग्रीको पसललगायत अन्य किसिमका थुप्रै व्‍यापार व्यावसाय सञ्चालन गर्न सकिन्छ।

सरकार र नेताले पनि देशको उच्च तहमा बसेर रेमिटेन्सको पसिना खाएर मात्र हुँदैन उचित किसिमको नीति निर्माण तर्जुमा गर्न सक्नुपर्छ। होइन भने तपाईहरू भन्दा बढी क्षमतावान युवाहरू विदेशी भूमिमा सस्तो मूल्यमा पसिनासँग लड्दै छन् यदि सक्नु हुँदैन भने ठाउँ दिनुपर्‍यो हजारौँ युवाहरू जिम्मेवारी लिन तयारी अवस्थामा छन्।

२ तिहाई  सरकारको ५ वर्षे कार्यकालमा जनतामा खोइ परिवर्तन? सधैँ मन्त्रीको मात्रै जीवनस्तर बदल्ने सोचको अन्त्य कहिले हुने हो? नेपाली जनताहरूलाई जवाफ दिनुपर्‍यो सरकार।

हाल जापानबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.