​अधिकारकर्मी भन्छन् : आत्महत्या भन्‍न सकिने अवस्था छैन

|

धनगढी : भदौ २२ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भयो ।

उनी हिरासतको थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टको भनाइ छ । रोशनका परिवारले भने प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन्।

यस्तै, साउन २८ गते कैलाली प्रहरीको हिरासतमै रहेका धनगढी उप–महानगरपालिका-१४ फूलबारी (सी) गाउँका अमरबहादुर चन्दको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय फूलबारीको हिरासतमा रहेका चन्द प्रहरी कार्यालयको शौचालयमा घाइते अवस्थामा भेटिएका थिए। उनको उपचारका लागि सेती अस्पताल पुगाएपछि मृत्यु भएको थियो।

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा दुई जनाको मृत्यु भएको छ। फरक–फरक आरोपमा पक्राउ परेका धनगढीमा दुई जनाको मृत्यु भएको हो। प्रहरीको सुरक्षा निगरानी रहेका व्यक्तिको मृत्यु हुनुले कैलाली प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ।

आफ्नो निगरानीमा रहेका व्यक्तिको सुरक्षा गर्न नसक्नुले कैलाली प्रहरीको चौतर्फी रुपमा आलोचना भइरहेको छ। प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको स्पष्ट देखिन्छ। प्रहरी सुरक्षा व्यवस्था कार्यान्वयनमा सक्रिय देखिँदैन।

हत्याको आरोप

जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको बिकको परिवारका सदस्यहरुले भने आत्महत्या नभई हत्या भएको बताउँदै आएका छन। शरीरभरि घाउ देखिएकाले बिकको हत्या भएको दाबी उनीहरुको छ।

मृतकका बुवा टेकबहादुरले प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताए। ‘मुख र नाकमा चोटपटक लागेको छ । मुख र नाकबाट रगत पनि आएको छ,’ उनले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो । आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।’ शुक्रबार उनका आफन्तजनले दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।

शनिबार भने सुदूरपश्चिम प्रदेश प्रहरीले सशस्त्र प्रहरी गणका एसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेपछि रोशनको शव बुझेर दाहसंस्कार गरेका छन्।

शव बुझने सहमतिपछि मात्रै परिवारलाई शव हेर्न दियो

प्रहरीले हिरासतमा मृत्यु भएका विकका परिवारलाई शव बुझ्ने सहमति भएपछि मात्रै शव हेर्न दिएको परिवारको भनाइ छ। रोशनका दाई रवि विकले भने ‘बिहीबार राति मृत्यु भएको रहेछ, हामीलाई शुक्रबार बिहान ९ बजे मात्रै प्रहरीले खबर गर्‍यो, त्यतिबेलासम्म लास अस्पतालमा राखिएको थियो।’ ‘हामीलाई हेर्न दिइएन उनले भने शव बुझ्ने सहमति पत्रमा हस्ताक्षर गराएपछि मात्रै हामीलाई शव हेर्न दिइयो।’

प्रहरीको आत्महत्या दाबी

प्रहरीले हिरासतमा मृत्यु भएका विकले आत्महत्या गरेको बताउँदै आएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विकले आत्महत्या गरेको दाबी गरे। घटनाको छानबिन गर्न सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भइसकेको उनले बताए।

प्रहरीले परिवारलाई खबरै नगरी आत्महत्या भनी समाचार बनायो

प्रहरीले मृत्यु भएका विकले आत्महत्या गरेको भन्दै विभिन्न सञ्चार माध्यमलाई समाचार प्रकाशन गर्न लगाएर आफू चोखो बन्न खोजेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले परिवारलाई खबरै नगरी आत्महत्या गरेको भन्दै समाचार प्रकाशन गर्न लगाएको थियो।

प्रहरीले परिवारलाई खबरै नगरी आत्महत्या घोषणा गर्नुले प्रहरीको भूमिका शंकास्पद देखिएको हो। जसका कारण अहिले प्रहरीमाथिको जनताको आशा, भरोसा नै टुटेको छ।

प्रहरी चुक्यो अधिकारकर्मी

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतको अनुगमन गरेको छ। प्रहरी हिरासतको शौचालयभित्रै झुन्डिएको अवस्थामा शव फेला परेपछि आयोगले अनुगमन गरेको हो।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले हिरासत कक्षमा थुनुवाको मृत्यु हुनुमा प्रहरी चुकेको बताए। उनले अहिले नै आत्महत्या हो भन्न सकिने अवस्था नरहेको बताए। ‘घटनास्थलको अनुगमन गर्‍यो, आयोगले प्राविधिक दृष्टिकोणबाट मूल्यांकन गर्नेछ’ उनले भने।

रावलले हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु दुखद भएको बताउँदै प्रहरीको सुरक्षाको चुनौतीको विषय भएको बताए। उनले भने, ‘प्रहरी कस्टडीमा मृत्यु हुनु गम्भीर सवाल हो, राज्यले जिम्मेवार हुनुपर्छ।’ कैलाली प्रहरीको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै दैनिक यस्ता घट्ना बढ्नुले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्‍न खडा भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.