|

चीनमा विद्यालयको पठनपाठन सुचारु गरिएको छ। झण्डै २० करोड विद्यार्थीहरू विद्यालय जान थालेका छन्। उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय खोलिएको हो।

कोरोना महामारी विस्फोट भएको वुहानमै पनि विद्यालय खुलेका छन्। प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मी उपलब्ध गराइएको छ। ती स्वास्थ्यकर्मीले विद्यालयको प्रवेशद्वारमै विद्यार्थीको तापक्रम नाप्नेदेखि यात्रा विवरण र कोरोना परीक्षणको अभिलेख राख्ने गर्छन्। कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ताले समग्र प्रक्रियाको अनुगमन गर्ने गरेका छन्।  

‘अब डर छैन‚ वुहान सुरक्षित छ’‚ वुहानस्थित हाङयाङ हाइस्कुलका सङ्गीत शिक्षक याङ मेङलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।

विश्वका अन्य देशहरू सुरक्षित तवरले विद्यालय खोल्न संघर्ष गरिराखेका बेला झण्डै २० करोड विद्यार्थीलाई विद्यालय फर्काउने निर्णय गर्न कम्युनिष्ट शासन व्यवस्था भएकै कारण चीन सरकारलाई सजिलो भएको विश्लेषकहरूको बुझाइ छ। मंगलबार जारी गरिएको एक वक्तव्यमा राष्ट्रपति शी जिनपिङले कोरोनाविरुद्धको लडाईं र विद्यालय पुन: खोल्ने सन्दर्भमा ‘पार्टी नेतृत्व र सामाजिक व्यवस्थाको सर्वोच्चता’ प्रष्टसँग स्थापित भएको बताएका थिए।

विद्यार्थी‚ शिक्षक र अभिभावका लागि विस्तृत सुरक्षा–प्रोटोकल जारी गरिएको छ। वुहानसहित सुरूमा कोरोना भाइरस विस्फोट भएका ठाउँहरूमा व्यापक परीक्षण जारी राखिएको छ। नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै विद्यालय छिर्न पाइन्छ। ती क्षेत्रमा भ्रमण गरेर फर्केकाले पनि नियमित जाँच गराइराख्नुपर्ने नियम बनाइएको छ। साथै‚ शिक्षक तथा विद्यार्थीलाई अनावश्यक रुपमा नडुल्न‚ सार्वजनिक सवारी साधनमा यात्रा गर्दा र खाना खाँदा नबोल्न र दूरी कायम राख्न भनिएको छ। भित्ताभित्तामा ‘एक मन एक मुटु भएर कोरोनालाई नियन्त्रण गरौं’ भन्ने किसिमका नाराहरू लेखिएका छन्।

स्थितिलाई नियन्त्रणमा राख्न चीन सरकारले स्थानीय अधिकारीहरूको बटालियन नै खटाएको छ। पार्टी कार्यकर्ताले कक्षाकोठाको निरीक्षण गर्छन्‚ मोबाइल एप र अन्य प्रविधिको माध्यमबाट पनि विद्यार्थी र कर्मचारीमाथि निगरानी राखिन्छ। नियम पालनामा कडिकडाउ गरिएको छ। सरकारी सञ्चारमाध्यममले नियम कडाइका साथ पालना गर्न र आफ्ना केटाकेटीबारे निश्चिन्त हुन भन्दै अभिभाव–लक्षित सूचना प्रसारण गर्ने गरेका छन्।

कतिपय विशेषज्ञले विद्यालय खुल्नासाथ चीनमा फेरि संक्रमणको विस्फोट हुनसक्ने चेतावनी दिए पनि अहिलेसम्म त्यस्तो देखिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.