|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सडकको स्तरोन्नतिको काम हुन थालेको छ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुलाई तराईका दुई जिल्लासँग जोड्ने एक मात्र भीमदत्त राजमार्गका विभिन्न क्षेत्रहरुमा सडक स्तरोन्नतिको काम भइरहेको हो। 

भीमदत्त राजमार्गको हगुल्टेलेकदेखि डडेल्धुरा सदरमुकामसम्म सडकको मोड सुधार गरी स्तरोन्नतिको काम भइरहेको छ। साहुखर्कदेखि डडेल्धुरा बागबजारसम्मको करिब ३० किलोमिटरको सडकको मोड सुधारका लागि सडकलाई तीन भागमा विभाजन गरेर टेन्डर आह्वान गरेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सूचना अधिकारी इन्जिनियर वीरेन्द्र चन्दले जानकारी दिए।

‘संघीय सरकारको करीब तीन करोड रुपैयाँको लागतमा भीमदत्त राजमार्गको स्तरोन्नतितर्फ मोडहरु सुधार तथा सदरमुकाम बसपार्क नजिक ग्याभिङवाल लगाउने काम भइरहेकोे छ,’ सूचना अधिकारी चन्दले भने, ‘अहिले मोड सुधारको काम भइरहेको र दोस्रो टेण्डर आह्वान गरेर सडक नाली र कालोपत्रे गर्ने काम बढाउँछौं।’

सवारी दुर्घटना बर्सेनि बढ्दो 

सडक साँघुरो हुनुका साथै विपरीत दिशाबाट आउने यातायातका सवारीसाधनहरु अग्ला घुम्तीले नदेखिँदा बर्सेनि दर्जनौं दुर्घटनाका हुने गरेका  विभिन्न सवारी साधनका चालक बताउँछन्। भीमदत्त राजगर्मागलगायत सुदुरपश्चिमका अन्य राजमार्गमा ०७४÷७५ देखि ०७६÷७७ सम्म ९२१ वटा सवारी साधनहरु दुर्घटना भएका छन्।

ती दुर्घटनामा परी ५ सय ३२ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए। २०७४ देखि ०७७ सम्म सवारी दुर्घटनाबाट ५ सय ७४ जना गम्भीर तथा ५ सय ९३ जना सामान्य घाइते भएको समेत प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। 

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सबिना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ ।

पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ। सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ।

तराई र पहाडी जिल्लाहरुलाई जोड्ने मुख्य राजमार्ग नै भीमदत्त राजमार्ग रहेकोले दैनिक सयौंको संख्यामा मालबाहक ट्रक तथा अन्य साना ठूला सवारी साधनहरु संचालन हुने गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.