|

सिन्धुली : कमलामाई नगरपालिकाले बेरोजगार युवालाई व्यवसाय गर्न सहुलियतमा ऋण दिने भएको छ। व्यवसाय गर्न चाहेका तर आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका युवालाई व्यवसाय संचालनका लागि नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो। 

आइतबार कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयबीच यसबारे सम्झौता भएको छ। सम्झौतामा कमलामाई नगरपालिका तर्फबाट नगरप्रमुख खड्गबहादुर खत्रीले र बैंक तर्फबाट राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।नगरपालिकाले नगरक्षेत्रभित्रका बेरोजगार युवा तथा कृषकका लागि लक्ष्य गरी युवा स्वरोजगार, कृषि तथा विभिन्न व्यवसायलाई प्रवर्द्धन गर्ने बताएको छ। 

एक किसिमको कार्यविधि बनाएर अध्ययनपछि ऋण दिइने नगरप्रमुख खत्रीले बताए। विदेशबाट फर्किएका, स्वदेशमै बसेर केही गर्न चाहने तथा नगरपालिकाले ऋण दिन उचित ठहर गरेकालाई ऋण दिइने नगरप्रमुख खत्रीले जानकारी दिए। 

‘ऋण लिन युवासँग भएका तालिम, अनुभव र योजना सबै अध्ययन गरेर वडामा आवेदन माग गर्छौं, संकलन भएको आवेदनमा नगरपालिकाले मूल्यांकन गरेर उपयुक्त ठानेर सिफारिस गरेका युवालाई बैंकले ऋण दिन्छ’, नगरप्रमुख खत्रीले सुनाए। 

५ लाखदेखि ५ करोडसम्म ऋण उपलब्ध गराइने नगरप्रमुख खत्रीले बताए। ऋण लिनका लागि युवाहरुले भरपर्दाे र विश्वसनीय उद्यम विकास योजना अनिवार्य तयार गर्नुपर्ने छ। यस्तो योजना तयार गर्न नगरपालिकाले निशुल्क सहजीकरण गर्ने नगरपालिकाका प्रशासन प्रमुख सागर कुमार ढकालले बताए। 

यो कार्यक्रमले बेरोजगार युवा तथा कृषकको उद्यमशीलतामार्फत नगरबासीको गरिबी निवारणमा ठूलो मद्दत पुग्ने मेयर खत्रीले बताए। युवाहरुले धितो राखेर वा नराखेर पनि ऋण लिन पाउने उनको भनाइ थियो। ‘धितो हुनेहरुले धितो राख्नुपर्ने र नहुनेको हकमा कमलामाई नगरपालिकामा रहेको स्वरोजगार कोष धितोको रुपमा रहने छ,’ उनले प्रस्ट पारे। 

उनका अनुसार बेरोजगार युवा तथा कृषकले ऋण लिन बजारको माग अनुसारको उद्यम विकास योजना तयार गर्नुपर्ने हुन्छ। युवाले गर्ने व्यवसाय तथा उद्यमहरू भरसक स्थानीय कच्चा पदार्थ र प्रविधिको प्रयोग हुने खालको हुनुपर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.