|

काठमाडौं : सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा उपलब्ध अधिकांश जनशक्ति र संसाधन कोरोना नियन्त्रण गर्न भन्दै खटाएपछि देशभर अन्य स्वास्थ्य समस्या भोगिरहेका नागरिकले अकालमै ज्यान गुमाउने क्रम बढेको छ। 

कोरोना महामारी सुरू भएपछि अस्पतालहरूमा नियमित स्वास्थ्य परीक्षण गर्न जाने अन्य बिरामीको संख्या घट्दै गएको छ। सरकारी अस्पतालमा विभिन्‍न रोगको उपचारका लागि आउनेक्रम नरोकिएपनि बिरामीहरूले सहजै उपचार पाइरहेका छैनन्‌।

कोभिडको आतंकसँगै पछिल्लो समय मुलुकमा विभिन्‍न प्रकारका रोगबाट मृत्युवरण गर्ने दिनानुदिन बढिरहेका छन्। निमोनिया, मिर्गौलाको समस्या, श्वासप्रश्वास, दम, क्यान्सर, कालाजार, युरिन इन्फेक्सन, उच्च रक्तचाप र जन्मनासाथ शिशुको मृत्यु हुने क्रम बढेको छ।

सार्वजनिक स्वास्थ्यका सबै जनशक्ति र संशाधनलाई कोरोना भाइरस नियन्त्रणमा खटाइएकाले सरकारी अस्पतालले समेत अन्य रोगका बिरामी भर्ना लिइरहेका छैनन्‌। बिरामीहरूले अकालमै ज्यान गुमाइरहेका छन्‌। सरकारले मुख्य-मुख्य सहरका अस्पताललाई कोभिड उपचार केन्द्र बनाइसकेको छ।

उपचारका लागि अस्पताल आउने बिरामीले चिकित्सकीय सेवा पाउन मुस्किल परेको छ। मुख्य सरकारी अस्पतालहरूमा यसबीच अन्य स्वास्थ्य समस्या र रोगबाट ज्यान गुमाउनेको विवरण थाहाखबरले खोतल्ने प्रयास गरेको छ।

६ महिनायता नेपालका विभिन्‍न कोभिड उपचार केन्द्र र सरकारी अस्पतालमा कोरोना नलागेका, तर विभिन्न स्वास्थ्य समस्या भोगेका ९ सय ६९ जना बिरामीले ज्यान गुमाइसकेका छन्।

विभिन्‍न अस्पतालबाट प्राप्त तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नवजात शिशुले ज्यान गुमाएका छन्‌। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५, लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीमा ६, जनकपुर अस्पतालमा ३ र मोरङस्थित कोशी अस्पतालमा ४ जना शिशुको यस अवधिमा ज्यान गइसकेको छ। 

प्रदेश १ मा २ सय ४ जनाको मृत्यु

प्रदेश १ का मुख्य-मुख्य अस्पतालबाट थाहाखबरलाई प्राप्त तथ्यांकअनुसार चैत महिनादेखि भदौको अन्तिम सातासम्म विराटनगरको कोशी र धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठानमा २ सय ४ जना बिरामीको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पतालमा २१ पुरुष र १५ महिलाको मृत्यु भएको हो। निमोनियाबाट ६, दमको व्यथा भोगेका ४, मधुमेहका ४, नवजात शिशु ४ सहित विभिन्न स्वास्थ्य समस्या भोगिरहेकाहरूको मृत्यु भएको अस्पतालका मेडिसिन विभागका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए।

इमर्जेन्सीमा र आइसोलेसनमा पनि 'नन कोभिड' (कोरोना नलागेका) का १२ बिरामीको मृत्यु भएको उनले जानकारी दिए। ‘कोरोना संक्रमण आशंका गरिएपनि ज्यान गुमाएका कुनै पनि बिरामीमा कोरोना पुष्टि भएन,’ उनले भने।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ६८ 'नन कोभिड' बिरामीको मृत्यु भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार  अन्य रोग लागेका ९० पुरुष र ७८ महिलाले यसबीचमा ज्यान गुमाइसकेका छन्। उनका अनुसार हृदयघात, फोक्सो र अज्ञात रोग लागेका धेरै बिरामीले यसबीचमा ज्यान गुमाएका छन्‌।

जनकपुर अस्पतालमा १३ जनाको मृत्यु

प्रदेश २ को जनकपुर प्रादेशिक अस्पतालमा चैतदेखि जेठसम्म अन्य रोग लागेका १३ जनाको मृत्यु भएको छ। ८ पुरुष र ५ महिलाको मृत्यु भएको हो।

अस्पतालले तयार गरेको मेडिकल रेकर्ड अनुसार भर्ना भएर ज्यान गुमाउने बिरामीहरूमा नवजात शिशु, श्वासप्रश्वास,पेटको क्यान्सर, कालाजार र दमबाट पीडित छन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा ८५ जना

लुम्बिनी प्रादेशिक अस्पतालमा यसबीचमा ८५ जना बिरामीको मृत्यु भएको छ। विभिन्न रोग लागेका ४० पुरुष र ४५ महिलाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउने मध्ये अधिकांश निमोनिया, श्वासप्रश्वास र दमका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ। नवजात शिशुदेखि ९ वर्षसम्मका २६ जना, १० देखि १९ वर्षका ८ जना,२० देखि ५९ वर्षका २१ जना र ६० वर्षदेखि माथिका २० जनाको मृत्यु भएको छ।

कर्णालीमा १५ शिशुको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना महामारी फैलिएयता ४१ जना 'नन कोभिड' बिरामीको ज्यान गएको छ। १५ नवजात शिशु र ३६ जना वयस्कको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। अस्पतालका मेडिकल तथ्यांक शाखामा कार्यरत विनोद बस्नेतका अनुसार १३ महिला र १३ पुरुषले ज्यान गुमाएका हुन्‌।

कर्णालीमा शिशु मृत्युदर किन उच्च देखिएयो त ? उनी भन्छन्, 'लकडाउनका कारण धेरै गर्भवती घरमै सुत्केरी भए, टाढाबाट समयमै अस्पताल ल्याउन नसक्दा, राम्रोसँग पौष्टिक खानेकुरा खान नसक्दा, सुत्केरी अवस्थामा हेरचाह नहुँदा र अनावश्यक औषधिको प्रयोग हुँदा पनि शिशु मृत्युदर बढिरहेको छ।'

उपत्यकाका मुख्य अस्पतालमा ४ सय १२ को मृत्यु

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा यसबीच १ सय २२ जना 'नन कोभिड' बिरामीको मृत्यु भएको छ। अस्पतालका प्रशासन प्रमुख माधवप्रसाद घिमिरेका अनुसार महिला ६१ र ६१ पुरुषले मृत्यु भएको हो। यी मध्ये अधिकांश मिर्गौला, मुटु र श्वास-प्रश्‍वाससम्बन्धी रोगका बिरामी हुन्‌।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैतदेखि अहिलेसम्म १ सय २६ बिरामीको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। अवस्था गम्भीर भएपछि उपचार गर्न आउने गरेकाले अधिकांश बिरामीको मृत्यु हुने गरेको निर्देशक शाक्यले थाहाखबरलाई बताए। अस्पतालले तयार पारेको तथ्यांकअनुसार ४० वर्ष माथिका धेरैको ज्यान गएको छ।

‘मृत्युवरण गर्नेमध्ये अधिकांश बिरामीहरुले किड्नी समस्या भोगिरहेका थिए,’ उनले भने, 'कोभिड संक्रमितहरुको उपचार हुन थालेपछि अस्पतालमा अन्य बिरामीको चाप कम हुन थालेको छ।'

वीर अस्पतालमा ७१ महिला र ९३ पुरुष गरी १ सय ६४ बिरामीको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ।

बाँके मेडिकल कलेजमा १ सय ५२

बाँकेको भेरी अस्पताल र नेपाल मेडिकल कलेजबाट प्राप्त तथ्यांक अनुसार यसबीचमा १ सय ५२ जना 'नन कोभिड' बिरामीको मृत्यु भएको छ। ९१ पुरुष र ६१ जना  महिलाले ज्यान गुमाएका हुन्‌।

भरतपुर अस्पतालमा ५२ को मृत्यु

चितवनस्थित भरतपुर अस्पतालमा अन्य रोग लागेका ५२ जनाको मृत्यु भएको छ। अस्पतालमा ३३ महिला र १९ पुरुषको मृत्यु भएको हो। अस्पतालका अध्यक्ष डा. भोजराज पोखरेलका अनुसार 'नन कोभिड'का ४ सय ८८ बिरामीमध्ये चैतयता ५२ जनाको मृत्यु भएको छ।

नेपालमा दैनिक सरदर आठदेखि १२ जना कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन्। यसरी ज्यान गुमाउनेमा पनि अधिकांश दीर्घरोगी र वृद्धवृद्धा छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण पश्चात ज्यान गुमाउनेमध्ये धेरैजसो पहिलेदेखि नै सुगर, मिर्गौला फेल भएका र मुटुको समस्या झेलिरहेका व्यक्तिहरू हुन्‌। केही महिनाअघि महामारी विशेषज्ञहरूसँग परामर्श गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालमा कोरोनाकै कारण मर्नेको संख्या निकै कम रहेको बताएका थिए।

यसको अर्थ, अहिले नेपालमा जति संक्रमितको ज्यान गइरहेको छ : कोरोना लागेरै यसो भएको भन्न नमिल्ने मन्त्रालयका अधिकारीहरू बताउँछन्‌। स्वस्थ मानिसले कोरोना संक्रमण पश्चात ज्यान गुमाएका घटना निकै कम छन्‌।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.