पानीको निहुँमा देखिएको विवाद हत्यासम्म पुग्यो

|
प्रतिकात्मक

काठमाडौं : कीर्तिपुर नगरपालिका-७ भाजंगलस्थित घरबेटी प्रेमकृष्ण महर्जनले पानीको निहुँमा भाडामा बस्दै आएका शम्भु चौधरीलाई काठको आग्लोले हानेर हत्या गरेको खुलेको छ। 

केही दिनअघि मात्र कोठा सरेर आएका उनी महर्जनको कुटाइले गम्भीर घाइते भएका थिए। अस्पताल भर्ना भएको केही समयमा नै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर टेकुका अनुसार शम्भु मजदुरी गरेर दैनिकी चलाउँथे। घरबेटीको दिनदिनको हेपाहा प्रवृत्तिका कारण चौधरी कोठा सर्ने मानसिकतामा पुगिसकेका थिए। तर, उनले नयाँ कोठामा सर्न नपाउँदै ज्यान गुमाएका छन्।

परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार चौधरी भारतको मोतिहारी जिल्ला चम्पारण ग्रामपोस्टका स्थायी बासिन्दा हुन्। उनी लामो समयदेखि परिवारसँग काठमाडौंमा बस्दै आएका थिए।

उनका अनुसार भदौ २६ गते १२ बजेतिर खानेपानी थाप्‍न कोठाबाट बाहिर निस्किएका चौधरीमाथि आक्रमण भएको थियो। पानीको विषयमा भनाभन भएपछि घर मालिक महर्जनले काठको आग्लोले उनीमाथि प्रहार थिए। कोठा सरेकै दिनदेखि घरबेटीसँग खटपट सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ।

घटना हुने दिन पनि पानीलाई लिएर सुरु भएको खटपटको लहरो रोकिएको थिएन। विवाद बढेपछि महर्जनले रिसलाई काबुमा राख्‍न सकेनन्। त्यही बेला काठको आग्लो चौधरीको टाउकोमा बजारे।

घरबेटीले आग्लोले हानेपछि उनी गम्भीर घाइते भएर त्यहीँ ढले। घाइते भएका उनलाई तत्कालै कीर्तिपुर अस्पताल लगियो। तर दिउँसो २ बजे उनलाई अस्पतालले मृत घोषणा गरिदियो। अस्पतालले शम्भुलाई मृत घोषित भएपछि कीर्तिपुर वृत्तबाट खटिएको प्रहरीको टोलीले महर्जनलाई तत्काल पक्राउ गर्यो।

उक्त घटनामा महर्जन मात्रै नभइ ​उनका छोराको पनि संलग्‍नता रहेको पीडित पक्षले बताएको छ। शम्भुकी पत्‍नीले महर्जनका छोराहरु परमेश्‍वर र प्रमोदविरुद्ध पनि किटानी जाहेरी दिएकी छन्। उनीहरुलाई पनि घटनाको भोलिपल्ट पक्राउ गरेर प्रहरीले हिरासतमा लिएको छ। उनीहरुलाई कर्तव्य ज्यानको अभियोगमा मुद्दा चलाउन म्याद थपिएको प्रहरीले जानकारी दिएको छ।

राठौरका अनुसार उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ। चौधरीको शव हाम महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। पीडकमाथि कारवाही माग गर्दै उनको शव आफन्तले बुझ्‍न मानेका छैनन्। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले महर्जनको व्यवहार नै पहिलेदेखि नै हेपाहा देखिएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.