विचार

पितृपक्षमा स्त्री विद्रोहसँगै यौन र मृत्युका कुरा

भदौ २९, २०७७

    इन्दिरा प्रसाईं 

    खासमा मलाई पनि चेतनाको प्रारम्भिक खुड्किलो उक्लँदै गर्दा नारी पुरूष विभेदात्मक हाम्रा विविध सनातनी संस्कारहरूमा रुचि र विश्वास नै थिएन। घुमिफिरी पुरुषकै मात्र हैकम र बोलवाला रहने यी संस्कारजन्य क्रियाकलापमा विगतमा म सकेसम्म सहभागी हुनबाटै पनि तर्किन्थेँ।

    सहभागी हुनैपर्ने अवस्था आइपर्दा पनि बोक्रे आडम्बरी भएर सहभागी हुने गर्थें। तर, विस्तारै विस्तारै बयोवृद्धहरूबीच मैले यी संस्कारजन्य कुराहरूको गुदी खोतल्न थालेँ। त्यसपछि पितृसत्तात्मक शैलीबाट उब्जिएका र पुरूष नै प्रधान भएका खास गरेर यी श्राद्धकर्ममा स्त्रीपक्ष कमजोर हुनु मलाई अनौठो लागेन। वास्तवमा कुराको चुरो बुझिसकेपछि पितृसत्तात्मक ढाँचामा स्त्रीले मातापिताको श्राद्धादी कर्म गर्नु पनि मृगमरिचिका बाहेक मलाई केही लागेन।

    हाम्रो 'निणर्यसिन्धुमै पनि स्त्रीले पनि श्राद्ध गर्ने प्रावधान नभएको होइनतर, स्त्रीले आफ्ना मातापिताको श्राद्ध नै गरिहाल्दा पनि स्त्री जातिले आफ्ना कहिलेसम्मका पुर्खालाई तर्पण दिन सक्छे  ? मातामहीको नाउँ मृत्युको तिथिसमेत थाहा नहुने पितृसत्तात्मक ढाँचामा स्त्रीहरूले परिवर्तन गर्न निकै ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ

    सर्वप्रथम त शास्त्रको पुनर्लेखन स्त्री जातिबाटै हुनुपर्छ। सामाजिक ढाँचामा उक्त शास्त्र लागू गरिनुपर्छ। जुनकार्य अहिलेसम्म हामीबाट हुन सकेको छैन। त्यसैले यस परिप्रेक्षमा पितृसत्ताको विरुद्धमा विद्रोही स्वर उरालेर स्त्रीले पुरुषसमान श्राद्धादि कर्म गरेको हल्ला पिटाएर केहीले डलरको खेतीकमाइ पनि गर्न त सक्लान् तर वास्तविक कार्य गर्न हुँदैन।

    सतही वा स्वार्थपरक विद्रोह भनेको नेपालमा विगतमा माओवादी विद्रोहका सन्दर्भमा परिवर्तनका नाउँमा नष्ट गरिएका राष्ट्रिय महत्वका भौतिक संरचना झैँ मात्र हुने म चाहिँ देख्छु। यसरी आधार नबनाई गरिने विद्रोहको समाप्तिपछि तिनै बिद्रोहीले राज्यसत्ता हात पारेर पनि ती नष्ट गरिएका भौतिक संरचनाहरूको पुनर्निर्माण सम्भव नहुँदा जसरी यावत मुलुकले नै क्षति मात्र बेहोर्नुपरेको छ।

    त्यस्तै, पितृसत्ताको विकल्प तयार नगरी गरिएको स्वार्थपरक स्त्री विद्रोहले पनि सामाजिक संरचना नष्टभ्रष्ट पारिदिएर आततायीलाई खेल्ने मैदान तयार गर्न सघाऊ मात्र पुर्‍याउनेछ।

    एउटा सत्य के चाहिँ स्वीकार गर्नुपर्छ भने जसले आफूले घर बनाउने हैसियत राख्दैन उसले अर्काले बनाएको घरमै बस्नु बुद्धिमानी हुन्छ। नत्र त्यस्ता ध्वंशले सोही व्यक्ति मात्र नभएर उसको सेरोफेरो नै बेघर हुने सम्भावना प्रबल हुन्छ।

    अहिले आश्विनमासको पितृपक्ष चलिरहेको हुँदा म श्राद्धका सन्दर्भमा कुरा गर्न खोज्दैछु। दसैँका मुखमा समाप्त हुने यो पितृपक्ष यस वर्ष अधिक मासका परेका कारण दसैँभन्दा एक महिना अघि नै सकिँदै छ। पितृपक्ष चलिरहेको यो बेला मेरा मनमा भने मृत्युबारे उद्वोधन हुन खोजेको छ। हुन त मृत्यु यस्तो क्रिया हो जसलाई हामी बुझेर पनि बुझ्दैनौँ।  बुझेर पनि बुझाउन सक्दैनौँ र बुझेर पनि नबुझे जस्तो गर्न मन पराउँछौँ।

    हाम्रो समाजमा मानवीय दुई सत्यमाथि हामी जानेर पनि नजान्ने झैँ बन्छौँ र जान्नेले नजान्नेलाई सिकाउने प्रयत्न पनि गर्दैनौँ। हामीमाझ यी दुबै सत्य बर्जित जस्ता बनाइएका छन्। तर यी यस्ता सत्य हुन् जुन विषय बेलैमा नजान्दा अथवा नबुझ्दा हाम्रो जीवनले घातक परिणाम बेहोर्नु पर्ने वा बेहोरेकै पनि देखिन्छ।

    यी दुई हाम्रा अकाट्य सत्य हुन्

    यौन र मृत्यु !

    यी दुवै एकअर्कासँग थाहै नपाउने गरी आपसमा जेलिएका छन्। किनकि विना यौन जीवन सम्भव छैन र विना जीवन मृत्यु पनि असम्भव छ !

    यदाकदा हामी यौनका कुरा गरे निर्लज्जछाडाअसंस्कारी अथवा अमान्य हुन पुग्छौँसंन्यास धारण गरेका महापुरुषहरूका पनि गोप्य यौन प्रकृयाका घातक परिणाम बेलाबखत चर्चित समाचार बनेका छन्गजब के भने यौनलाई जति नै वर्जित माने पनि वा जाने पनि विना यौन जीवन सम्भव छैनविना यौन जीवन नै सम्भव नभएपछि जीवनका लागि हामीले यौनसँग गोप्य रूपले सम्बन्ध राख्नैपर्छनिर्माणपछि भने हामी नै खुल्ला रूपले जीवन निर्माण गरेको समाचार गर्वका साथ सम्प्रेषण गर्छौँ

    यसलाई विडम्बनै भन्न मन पराउँछु म !

    गोप्य रूपले बिजारोपण र खुल्लारूपले निर्मित प्रदर्शनी !

    यौन र जीवन !

    यसबारे फेरि कुनै बेला विषद् चर्चा गर्ने गरि अहिलेलाई मैले यस विषयलाई यहीँ थाँती राखेँ। किनभने यतिबेला म अर्को लुकाइने विषय ’मृत्यु’का सन्दर्भमा कुरा गर्न खोज्दै छु।

    ••    

    हामी वैदिक सनातनीहरू भदौको पूर्णिमादेखि शुरू भएर असोजको औँसीसम्म रहने सोह्र श्राद्धका समयमा आआफ्ना दिवङ्गत आफन्तजनहरूको श्राद्धको तिथि पर्खेर बसेका हुन्छौँ। वर्षमा दुई पटक गरिने श्राद्धमध्ये आफन्तजन दिवङ्गत भएको मास तिथि समातेर सोही तिथि परेका दिन पितृका लागि वार्षिकी श्राद्ध र भाद्र प्रतिपदादेखि औँशीसम्मको प्रायःजसो सोह्र दिन भित्रमा परेको तिथिमा पनि पितृ श्राद्ध गर्छौँ।

    जे होस् हाम्रो हिन्दू सनातनी समाजमा मरेपछि श्राद्ध गर्ने तन्मयता भने अझै देखिँदो छ। निर्णयसिन्धुले नित्यश्राद्ध,  नैमित्तिक श्राद्ध,  काम्य श्राद्ध,  वृद्धिश्राध्द,  सपिण्डन श्राद्ध, पार्वणश्राद्ध, गोष्ठीश्राद्ध, शुद्धिश्राद्ध, कर्माङ्गश्राद्ध, दैविकश्राद्ध, यात्राश्राद्ध र पुष्टिश्राद्ध गरि बाह्र प्रकारका श्राद्धको व्यवस्था गरेको छ।

    जस अनुसार मरेका तिथिमा गरिने श्राद्ध एकोद्धिष्टश्राद्ध भनिन्छ। आश्विनकृष्ण पक्षमा गरिने सोह्र श्राद्धलाई सात पुस्तासम्मका पितृलाई तर्पण दिन सकिने महत्वका साथ मानिँदै आएको कुरा पनि हामीले बाल्यकालदेखि नै सुन्दै र देख्दै आएको कुरा हो।

    जे होस् बाँचुञ्जेल बाबुआमाको कोठामा पुगेर उनीहरूको हालत हेर्न पनि फुर्सत् नहुनेहरू नै पनि अझ बढी मात्रामा पितृपक्षमा श्राद्ध गर्न तम्सिन्छन्। सायद त्यस्ता धर्मान्धहरूले बाँचुञ्जेल जिउँदा पितृका लागि केही नगरेको प्रायश्चित्त स्वरूप श्राद्ध गरेर ‘दैव दिने पितृ हर्ने’ लोकोक्तिका कारण उब्जिएको भयवादबाट पनि मुक्ति खोजेको हुनुपर्छ। आफूलाई धार्मिक चलाख मान्नेहरू यही संस्कारमा लपेटिएर नै जिउँदा बाबुआमा नमान्ने सनातनीहरू पनि पितृ चाहिं मान्न पुगेको हुनुपर्छ।

    तर यत्ति चाहिँ पक्कै हो, हाम्रो यस प्रकारको कर्मले हामी माझ धर्म संस्कारको जरो भने अझै बलियै रहेछ भन्ने मान्नुपर्छ। हाम्रो वार्षिक पात्रो मै पितृपक्षका बारे उल्लेख हुनुले प्राणीमध्ये मानिसले धर्म संस्कारको पालना र अझ मृत्यु पर्यन्त पनि सन्तानले आफ्ना पिता माता र पूर्वजका लागिसमेत पितृकर्म सम्पादन गरेको देखिन्छ।

    त्यसो त हरेक जीवन हुने चराचरकै मृत्यु निश्चित छ। तर मानव बाहेक संसारका अन्य कुनै प्राणीले पनि पितृ श्राद्ध गर्दैनन्। अथवा गरेको हामीलाई थाहा छैन। यस कर्मले पनि मानव र अन्य चराचर प्राणीका बिच विभाजनको स्पष्ट रेखा तान्दछ। यसले गर्दा अन्य प्राणीका तुलनामा मानिसमा आफ्ना पूर्वजका प्रतिको कृतज्ञभाव उजागार गराएको छ।

    शास्त्र सम्मत कुरा हुनु र हिन्दू धर्म बाहेक विश्व परिवेशका अरू धर्मका मानिसहरूले पनि आफ्ना पितृहरूप्रति आआफ्ना तौर तरिकाले कृतज्ञ भावका साथ आफ्ना दिवङ्गत भएका पितृहरूलाई सम्झने गर्नुले पनि मानवमा कृतज्ञभाव प्रधानताकै प्रमाण रहेको भन्ने मलाई लाग्दछ। यस कारणले नै पनि मानिसको यस पितृकर्मले शाश्वतताको उपमा पाएको हुनुपर्छ भन्ने पनि मलाई लागेको छ।

    त्यसो पितृलाई समर्पण गरिने भौतिक वस्तु वा मानसिक भावना पितृसमक्ष पुगे नपुगेको प्रामाणिक बेहोराबारे हालसम्म कुनै जानकारी कसैले प्राप्त गरेको भन्ने जानकारी कसैलाई छैन। तर, पितृकर्ममा सहभागी जुनसुकै व्यक्तिले पनि परम सन्तोषको अनुभूति लिने गरेको कुरा भने सत्य हो

    यस सन्दर्भमा नदेखेको स्वर्गमा वस्तु पुग्नुको यथार्थबाट हामी टाढै भए पनि महसुस गरिने र देखिने नै पनि मानसिक शान्ति रूपी स्वर्गीय सुख नै म विशेष देख्छु। त्यसैले पितृपक्ष र पितृ कर्मलाई मृतकका परिवारले मृतकप्रतिको कृतज्ञता सहित आदरभाव अभिव्यक्त गरेर परम सन्तोष लिने कर्मका रूपमा महत्वपूर्ण मान्नु पर्ने हुन्छ।

    जङ्गली अवस्थाको पशुवत मानव जीवनलाई पशुबाट फरक बनाउने महान सोच कार्यरूपमा ओराल्नका लागि नै प्राचीन वैदिक सभ्यताले यी विविध थरिका शास्त्रादीको रचना गरेको छ।

    परिवार सञ्चालनको जिम्मेवारी ग्रहण गर्ने दोस्रो पुस्ताले जिउँदा अवस्थामा नै आफ्ना पितामाता वा घरमा भएको जोसुकै ज्येष्ठ सदस्यका लागि पनि यथेष्ठ सम्मानका साथ क्षमताले भ्याएसम्म सेवा र सदभावनापूणर्को व्यवहार गरिनु पर्छ भन्ने ज्ञान दिने उद्देश्य राखेर नै मरिसकेका मातापिताका लागि पनि यतिविधि श्रद्धा गरिनु पर्छ भनेर नै यी श्राद्धकर्मको व्यवस्थापन हाम्रो वैदिक आर्य समाजले गरेको हुनुपर्छ। हाम्रो समाजमा त्यसै गरिँदै पनि आएको हो।

    अहिले यातायात र सञ्चारको स्थापना र विकासपछि जब पाश्चात्य हावा पूर्वीय समाजमा बहन थाल्यो, त्यसपछि हाम्रा पारम्परिक पारिवारिक मूल्य मान्यताहरू विघटित हुन थालेका छन्।

    सभ्यताको शिखर आरोहण गर्ने ढाँचा गरेर आफ्नै परिवारका जेष्ठ सदस्यहरूको बेवास्ता गर्नाले हामी कति तल खस्तैछौँ र हाम्रो सोही कर्मका कारण हामी स्वयं आफ्ना लागि खाडल खनिरहेका छौँ भन्ने कुराको हेक्का हामी कति जनालाई होला ? आफ्नी असक्त आमा डोकोमा हालेर फाल्न लैजाँदै गरेको पितालाई ‘हजुरआमा मात्र फालेर आउनु होला है बुबा ! डोको पछि मलाई पनि त चाहिन्छ’ भन्ने बालकको कथा मलाई मेरी आमाले म केटाकेटी हुँदै सुनाउनु भएको थियो। आफ्नो भविष्यको हविगत नसोचेर नै हामी आफ्ना परिवारका ज्येष्ठ सदस्यप्रति सदव्यवहार गर्न पछि परेका छौँ कि भन्ने लाग्छ।

    वैदिक ऋषिहरूले पितृसत्तात्मक व्यवस्थालाई बलियो पार्ने र समाजलाई सुसंस्कृत पार्ने किसिमको शास्त्र र नियमहरूको कल्पना, प्रचलन र लेखन नगर्दा हुन् त अहिलेका हामी मानिसको र पशुको जीवनमा फरक हुने थिएन। किनभने हामी मानिसहरू अहिले पनि जति नै सभ्य र संस्कारीको आडम्बरमा दरिन खोजे पनि कतिपय व्यवहारमा पशुभन्दा पनि नीच अवस्थामा छौँ।

    विश्रृंखलित असभ्य जीवनमा रमेका मानिसलाई सभ्यताको पाठमा ढालेर पशुभन्दा अग्रगामी वा भिन्न जीवनशैलीमा स्थापित गराउन  तत्कालीन ती महान् ऋषिहरूलाई कति कठिन भयो होला ! प्रथमतः ती ऋषिहरूलाई यी विविध मानव संस्कारादीको कल्पनारचनामै हजारौँ वर्ष लागेको हुनुपर्छत्यसपछि उनीहरूले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारमा प्रतिस्थापन प्रतिपालन गराउनमा हजारौँ वर्ष लागेको हुनुपर्छत्यसैले नै सर्वप्राचीन वैदिक सभ्यता ज्ञानी समुदायमाझ विश्वमै महान मानिँदै आएको

    मलाई लाग्छ विद्वत् ऋषिहरूले प्रतिपादन गरेका संस्कृत भाषामा रहेका विराट विराट ग्रन्थहरूको अध्ययन र चिन्तनका लागि मानिसको एउटा जीवन पर्याप्त छैन। विद्वान् लेखक प्राडा.वेणीमाधव ढकालद्वारा सुललित नेपाली भाषामा अनुदित हामी नइले उपहारस्वरूप प्राप्त गरेका केही ग्रन्थहरूको आयतनले नै संस्कृतमा रहेका प्राचीन अमूल्य ग्रन्थहरूको वकालत गरिरहेको मैले देखेकी छु।

    हामी तिनै ऋषिहरूका सन्तान भएर हाम्रो शिक्षा प्रणालीले संस्कृत भाषाको अवहेलना गरिदिनाले हाम्रो परिवार, समाज र समग्र राष्ट्रकै चेतना धराशायी हुँदै गएको टुङ्गोमा म चाहिँ पुगिसकेकी छु।

    अर्को कुरा वैदिक सनातनी भएर पनि आफ्नै धरामा फलेका प्राचीन संस्कृत भाषासाहित्य बारे पूर्ण ज्ञान प्राप्त गर्न नसकेर व्यर्थै बितेको आफ्नो वय देखेर आफूलाई मार्गभ्रमित यात्रुको रूपमा पनि मैले पाएकी छु। त्यसैले यस विषयमा मैले पूर्ण प्रकाश पार्न सक्ने कुरा पनि भएन।

    दिवङ्गत पितृहरूले दिने आशीर्वादका बारेमा म केही भन्न सक्दिन। तर जिउँदा मातापिता वा सासूससुराले दिने आशीर्वाद प्रत्यक्ष नै प्राप्त गर्न सकिन्छ भन्ने अनुभव म स्वयम्ले बटुलेको सत्य हो।

    त्यसैले यस पितृपक्षमा सम्पूर्ण पितृहरूको मोक्षको कामना गर्नु त हामी सबैको कर्तव्‍यभित्रै पर्छ। तर आआफ्ना भाग्यमा परिवारमा जेष्ठ सदस्य जिउँदै प्राप्त गरिदै छ भने दिवङ्गत पितृलाई जसरी नै समर्पित भएर आफ्ना जिउँदा पितृको सेवा गरी वास्तविक पूण्य आर्जन गर्न सके जीवन सार्थक हुने मैले अनुभूति साझा गरेँ। अस्तु।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]