सेवाग्राही भन्छन्- कार्य प्रणालीमा सुधार कहिले?

|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१० की नवीना राना घर व्यवहारका लागि स्थानीय सहकारी संस्थाबाट घडेरी धितो राखी ऋण निकाल्ने प्रक्रियाका लागि जग्गा रोक्काको पत्रसहित शुक्रबार मालपोत कार्यालय पुगिन्। साढे ११ बजे पुगेकी उनी मालपोतमा लागेको लाइन् देखेर छक्क परिन्। कोरोना महामारी  बेला सामाजिक दूरी कायम गर्नुपर्ने भनेर जताततै प्रचार भइरहेको बेला सडक सम्म ठेलमठेल भीड लागेको थियो।

नवीनालाई कार्यालयको हाताभित्र बीचबाटोमा टेबल लगाएर बसेका एक कर्मचारीले आइतबारका लागि मात्र टोकन दिने बताइन्। ‘टोकन (दर्ता नम्बर लिखतमा लेखिदिने) लगाउने भए आइतबारको लगाइदिन्छु आज त काम हुने ठाँउ नै छैन,’कर्मचारीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘आजै गर्ने भए जानुस् टोक्कन लगाउनु पर्दैन।’ तर भित्र टोकन नलगाई कामै नगरिदिने नवीनाले बताइन्।

उनी आइतबारका लागि टोकन लगाएर घर फर्किन्। आइतबार बिहानै कर्मचारी पुग्नुअघि नै नै मालपोत कार्यालय पुगिन्। फेरि पनि उनि छक्क परिन्। कार्यालय खोल्नुभन्दा अघि नै गेटदेखि कार्यालयको ढोकासम्म सेवाग्राहीको भिड लागिसकेको थियो।

दुईवटा पुरुषको र एउटा महिलाको लाइन लागेको थियो विवरण दर्ता गर्ने काउण्टरमा। उनी महिलाको लाइनमा उभिइन्। उनीभन्दा अगाडी ७÷८ जना थिए।

भदौ महिनाको चर्को घाममा कोचाकोच लाइनमा पालो कुर्दा करिब साढे ३ घण्टापछि उनको पालो आयो। दुई दिनअघि लेखिएको टोकनको दर्ता नम्बर र हातमा दिएको टोकन नम्बर मिलेन भन्दै कम्प्युटरमा बस्ने कर्मचारीले फाइल फालिदिएको नवीनाले गुनासो गरिन्।

‘टन्टलापुर घाममा साढे ३ घण्टाभन्दा बढी उभिएर जाबो दर्ता नम्बर र टोकन नमिलेको भने पछि मलाई यति त रिस उठ्यो’, उनले भनिन्, ‘म टोकन दिने ठाउँमा गएर यो के गरेको हो? दुःख दिनका लागि बसेको हो कि काम गर्न भन्दै थर्काएँ।’ 

११ नम्बर फाँटबाट जसोतसो काम सकेर ९ नम्बर हुँदै ६ नम्बर फाँटमा गइन्। तर एक घण्टाको कुराइपछि ११ नम्बर फाँटबाट पठाएको नम्बर आएन, यो सच्चाएर आउनु भन्दै फेरि ११ नम्बर फाँटमा नै पठाइयो। उनी फेरि कागजात बोकेर ११ नम्बर फाँटमा गइन्। लाइनमा ठेलमठेल गर्दै फेरि ६ नम्बरमा गइन् तर फेरि पनि उनलाई राजस्व मिलेन सच्चाउन भन्दै ११ नम्बर फाँटमा नै पठाइयो।

‘पानी नै नखाई एउटा कामका लागि ३÷४ पटक लाइनमा बस्नुपर्ने भएपछि त्यो पनि घाममा कस्तो होला?’ उनले भनिन्, ’पछिल्लो पटक त कर्मचारीलाई  भन्न सम्म भनेँ।’

एउटै काम पटक पटक गर्नु पर्ने अवस्था नवीनाको मात्र होइन्। उनीजस्तै पीडा सुर्खेतको चिङ्गाड गाउँपालिका–२ का हरि खड्काको पनि छ। खड्का पनि बैंकबाट ऋण झिक्नका लागि बिहीबारदेखि आइतबारसम्म फाँटहरुमा भौतारिरहेका थिए। उही कामका लागि उही ठाउँमा दोहोर्याएर जानु पर्दा सेवाग्राहीलाई समस्या हुने गरेको खड्काले बताए।

‘कर्मचारीले काम गर्न नजानेका भनौं भने त्यही काम गरिरहेका छन्, जानेका छन् भनौं भने एउटै फाइलको काम गर्न पटकपटक जानुपर्ने अवस्था भइरहेको छ’, उनले भने, ‘मेरो विचारमा कर्मचारीले जानीजानी काम बिगारेर सेवाग्राहीलाई दुःख दिने काम गर्छन्।’ मालपोतका कर्मचारीेले  सेवाभन्दा पनि सास्ती धेरै दिने गरेको उनले आरोप समेत लगाए।

पञ्चपुरी नगरपालिका–५ का अर्का सेवाग्राही क्षेत्रबहादुर थापा पनि मालपोतमा काम गर्ने प्रणाली नै सही नभएको बताउँछन्। एउटै काम गर्न पनि धेरै समय लाग्ने सँगै सेवाग्राहीका लागि कुनै प्रकारको व्यवस्थापन पनि नगरेको गुनासो गरे। उनले भने, ‘एउटै काम  गर्न पनि ठूलो सास्ती बेहोर्नुपर्छ , मालपोतको काम गर्ने शैली र प्रक्रिया परम्परागत भयो, यसलाई सुधार गर्नु पर्ने देखिन्छ।’ 

वीरेन्द्रनगर नगरपालिका–११ का मदन आचार्यले पाँच दिनदेखि मालपोत धाउनु परिरहेको बताए। उनले देशमा शासन व्यवस्था परिवर्तन भए पनि सरकारी निकायको काम गर्ने शैलीमा सुधार नभएको टिप्पणी गरे। ‘संघिय गणतन्त्रात्मक शासन व्यवस्थामा पञ्चयातकालीन सेवा प्रणाली प्रवाह भइरहेकोछ,’ उनले भने, ‘फेरिएको व्यवस्थामा सरकारले दिने सेवा प्रवाह पनि चुस्त दुस्त हुनु पर्छ।’

मालपोत सेवाग्राहीको भिड लाग्ने कार्यालय भए पनि व्यवस्थापन राम्रो नभएको भन्दै पटकपटक कुरा उठे पनि सम्बोधन भने भएको छैन। साथै, सेवाग्राहीले मालपोतको प्रक्रिया पनि झन्झटिलो भएको भन्दै गुनासो गर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.