सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने

|

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र आरोप-प्रत्यारोप र गुटबन्दी नगर्न सर्कुलर जारी गरेको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र सर्कुलर जारी गरेका हुन्। 

‘पार्टीको अन्तराष्ट्रिय सम्बन्धलाई पार्टी नीति तथा विधि अनुरूप संस्थागत एवम् पारदर्शी रूपमा सञ्चालन गर्ने र कूटनीतिक मान्यतासँग अमिल्दा कार्यहरु नगर्ने’ सर्कुलर मा भनिएको छ, ‘पार्टीको प्रचार संयन्त्रलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउने, सञ्चारमाध्यमहरूमा पार्टी हित विपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रकृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने।’ पार्टीभित्रको तीव्र विवाद साम्य भएपछि अध्यक्षद्वयले पार्टीलाई व्यवस्थित र अनुशासित रुपमा सञ्चालन गर्न पार्टीको तल्लो तहसम्म सर्कुलर जारी गराएका हुन्।

अनधिकृत रुपमा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्तिको अन्य समेत गर्ने निर्देशन अध्यक्षद्वयले निर्देशन दिएका छन्‌। सर्कुलरमा ‘वेवसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेको पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने’ लेखिएको छ। 

यस्तै, सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता लगायतका राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनका मञ्चहरू मार्फत् कार्यान्वयन गर्न समेत आह्वान गरेको छ। 

‘केन्द्रीय सचिवालयले प्रदेश तथा स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने पार्टी कमिटीहरूका लागि कमिटीको संरचना र अधिकतम् संख्या निर्धारण गर्ने र स्थायी कमिटी तथा केन्द्रीय कमिटीबाट अनुमोदन गराउने,’ उल्लेख छ भने ‘पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोध पूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने।’ 

सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न समेत निर्देशन दिइएको छ। ‘आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्ने । गुटबन्दी पूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिने। अनेकता, अराजकता, अनुशासन हीनता र गुटबन्दी पूर्ण कार्यलाई अनुसन्धानात्मक कारबाहीको विषय बनाउने र पार्टी विधान बमोजिम कारवाही गर्ने’ सर्कुलर मा लेखिएको छ। 

पार्टीमा माग भई आएका अनुसन्धानात्मक कारवाही गर्नुपर्ने वा कारवाही फुकुवा गर्नुपर्ने विषयहरूमा यथाशीघ्र टुङ्गो लगाउने जानकारी समेत गराएको छ। सर्कुलरमा लेखिएको छ, ‘पार्टीलाई जनता र राष्ट्रका सामू उपस्थित चुनौती सामना गर्नमा केन्द्रित गर्ने। राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, प्राकृतिक स्रोतको उपयोगसम्बन्धी नीति, सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि एवम् विकास र समाजवादउन्मुख आर्थिक सामाजिक प्रणाली जस्ता विषयहरूमा छलफलको प्रबन्ध गर्ने। राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महत्वका विषयहरूमा पार्टीमा नीतिगत निर्णय गर्ने र कार्यान्वयन गर्ने।’

पार्टी कमिटी तथा जन-संगठनहरूमा विद्यमान गम्भीर प्रकृतिका अन्तर्विरोधहरूलाई आन्तरिक छलफल र पारस्परिक सहमतिको आधारमा समाधान गर्दै गम्भीर प्रकृतिका अन्तर्विरोधहरूको समाधानका लागि केन्द्रीय संगठन विभागको तर्फबाट विशेष टोली खटाउने समेत सो सर्कुलरमा उल्लेख छ।

नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.