‘गुटबन्दी तोड्न प्रतिष्ठानमा अंकुश लगाउनुपर्छ’

|

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्र विभिन्‍न नेता/कार्यकर्ताका नाममा खोलिएका प्रतिष्ठानहरूलाई काम गर्न रोक लगाएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले यस्ता प्रतिष्ठानहरू गुटबन्दी गर्ने थलो बनेकाले नेता/कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरुप निश्चित गर्न सुझाव दिएको थियो। साथै, प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधिका लागि महिनाभित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्न र तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन र गतिविधि नगर्न निर्देशन दिन सुझाएको थियो।

कार्यदलको सोही सुझावअनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्कुलर जारी गर्दै प्रतिष्ठानको थप गतिविधि अघि नबढाउन निर्देशन दिएका हुन्।

पार्टीका नेताका नाममा खोलिएको प्रतिष्ठान, फाउण्डेसन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन गएको छ। तर, केन्द्रमा भने यस्ता प्रतिष्ठानका काममा रोक लगाइएको छैन।

‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघ/संस्थाहरू परिचालित छन्। यीमध्ये अधिकांश गुटबन्दीका माध्यम बन्दै गएका छन्। गुटबन्दी रोक्न प्रतिष्ठानहरूको नियमन गर्न जरुरी छ,’ पार्टी सर्कुलरमा उल्लेख छ। 

‘पार्टीले संस्थाहरूमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापबारे तथ्यपरक जानकारी प्राप्त गर्ने। त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्ने’ सर्कुलरमा भनिएको छ, ‘सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने। कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यस उपर छलफल गरी आवश्यक निर्णय लिन्छ।’

सचिवालयले पार्टीभित्र सञ्चालनमा रहेको प्रतिष्ठानहरूका लागि नियमका लागि कार्यदल निर्माण गरेर त्यसको प्रतिवेदन नआउने बेलासम्मका लागि थप गतिविधि गर्नका लागि रोक लगाएको छ। ‘कार्यदलको प्रतिवेदन नआएसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने’ सर्कुलरमा भनिएको छ।

नेकपाका प्रतिष्ठानमा गुटबन्दी, राज्यकोषको दोहन !

नेकपाभित्र पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायतका नाममा प्रतिष्ठान खोलिएका छन्। ती मध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरूमा पनि शाखा खोलिएका छन्। पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन्।

पूर्व एमाले र माओवादी पार्टीले यसबीचमा दर्जनौं प्रतिष्ठान वा सङ्घसंस्था स्थापना गरेका छन्। कतिपय नेताले आफुखुशी दिवङ्गत नेताका नाममा प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्र जस्ता स्थापना गर्ने गरेको पाइएको छ। 

प्रतिष्ठानमा अंकुश आवश्यक

नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भएपनि पार्टीलाई नै नोक्सान पुर्‍याउने किसिमको गुटबन्दी गर्न नहुने नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल बताउँछन्। 

‘नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अंकुश लगाउनुपरेको हो। नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पुर्‍याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्छ,’ भुसालले भने। 

नेताको नाममा खोलिएको प्रतिष्ठानले नेताहरूको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको उनले बताए। प्रतिष्ठानले पार्टीको नीति बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको उनले प्रष्ट पारे। 

तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले तयार पारेको ‘प्रतिष्ठान सञ्चालन निर्देशिका’ प्रतिवेदन केन्द्रीय कमिटीमा बुझाउन नपाएको उनले बताए। 

‘पार्टी एकतापूर्व पनि प्रतिष्ठान व्यवस्थित गर्न कार्यदल निर्माण गरेको थियो। तर, त्यो बेलामा मैले प्रतिवेदन बुझाउन पाइनँ,’ उनले भने, ‘त्यही बेला  प्रतिवेदन बुझाउन पाएको भए प्रतिष्ठानलाई व्यवस्थित भइसक्थ्यो। अहिले यो समस्या आउने नै थिएन।’ 

पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै सङ्घसंस्था स्थापना गर्नु आवश्यक रहे पनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हित विपरीत हुने अर्का स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्। 

‘प्रतिष्ठानलाई पार्टीकै गतिविधि वा गुटगत गतिविधि नगरी गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्छ। तर, अहिले पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.