थाहा संवाद

'सरकार भावनामा बग्‍नुहुँदैन, यथार्थबोध गर्नुपर्छ'

भदौ ३१, २०७७

    काठमाडौं : कोरोना महामारीपछि सरकारले लकडाउन घोषणा गरी नागरिकलाई सुरक्षित बनाउने भन्दा पनि निकै सकस दिने काम गर्‍यो। महामारीका बेला राज्यका तर्फबाट नागरिकप्रतिको जिम्मेवारी पूरा गर्ने भन्दा पनि देखाउनकै लागि 'काम गरेजस्तो' गरेको सरकार र राज्य संयन्त्र निकै आलोचित भयो। विदेशदेखि स्वदेशकै दुर-दराजमा रहेका नागरिकले प्रतिबन्ध लगाउने बाहेक राज्यले नागरिकमैत्री काम गरिरहेको छ भन्ने अझै महसुस गर्न पाएका छैनन्‌।

    ​लकडाउनका बेला भोकभोकै सयौं किलोमिटर लामो राजमार्ग र गोरेटो/घोडेटो पैदलै छिचोल्दै नागरिकहरू आफ्नो थातथलो फर्कनु पर्‍यो। अहिले पनि विदेशमा हजारौं नेपाली अलपत्र छन्‌। ती देशका सरकारले नै 'हाम्रै खर्चमा तिम्रा नागरिक फर्काइदिन्छु' भनिरहँदा सरकारमा आशलाग्दा भनिएका विभागीय मन्त्रीले नै यसो गर्न चाहेनन्‌। ​उद्धारमा जुटेको दाबी गरेको सरकारले आफ्नै नागरिकसँग साविक भन्दा कयौं गुणा बढी जहाज भाडा असुलिरहेको छ। बिरामीले समयमै उपचार पाएका छैनन्‌। विपन्‍न नागरिकहरू चरम गरिबीको चपेटामा फसिरहेका छन्‌। बहुआयामिक गरिबी खेपिरहेकाहरू फेरि निरपेक्ष गरिबीकै घानमा पिसिएका छन्‌। 

    महामारीको यस्तो विषम स्थितिमा नागरिकका अधिकार सुरक्षित राख्न काम गर्नुपर्ने राज्य किन चुकिरहेको छ? स्वतन्त्र रुपमा बाँच्न पाउने या स्वास्थ्य उपचार गर्न पाउने नागरिकको अधिकार कतै सरकारले काम देखाउने चक्करमा हनन त गरेन ? महामारीयता सरकार र समाज कसले बढी मानव अधिकार उल्लंघन गर्‍यो? सरकारले नागरिकका अधिकार प्रत्याभूत र संरक्षण गर्न अभिभावकत्व निर्वाह गर्न सक्यो त? लामो समयदेखि मानव अधिकारका क्षेत्रमा सक्रिय तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानसँग थाहाखबरकर्मी अतिन आचार्यले यिनै प्रश्नको सेरोफेरोमा रही गरेको कुराकानीको सम्पादित अंश : 

    कोरोना महामारीले हामीलाई दपेट्दै गर्दा यहाँले नेपाली समाजमा मानवअधिकारको अवस्था कस्तो पाउनुभयो?

    पहिलो त, कोरोनाले मानव सभ्यताको क्रम नै भंग गरेको छ। निरन्तर चलिरहेको जीवनलाई स्थिर र अस्थिर दुवै बनाइदिएको छ। रोजगार, आर्थिक, विकास, सांस्कृतिक र सामाजिक सबै क्षेत्रमा यसले व्यापक असर पारेको छ। यही बेला नागरिकको बाँच्न पाउने अधिकार पनि कुनै न कुनै ढंगले हनन भएको छ। सबैभन्दा बढी प्रभाव समाजको तल्लो वर्ग र गरी खाने समुदायलाई परेको छ।

    मानवीय संवेदना र मानिसका सामाजिक क्रियाकलापमा यतिखेर नकारात्मक असर परिरहेको छ। दोस्रो विश्व युद्धपछि संसार सभ्य र विकसित भएको भनिरहँदा जारी महामारीका कारण मानव जीवनमा भयानक नोक्सानी भएको छ। कोरोनालाई मानव सभ्यता र विकासका धेरै प्रक्रियाबारे सोच्न बाध्य पार्ने घटना या प्राकृतिक विपत्ति भन्दा हुन्छ।

    विकसित मुलुकको तुलनामा हाम्रो समाज मानव अधिकारका सवालमा तल रहेछ भन्ने देखिएको छ। अस्पताल जान यातायातका साधन नपाउने देखि लकडाउन उल्लंघन गर्ने र पैदलै घरसम्म हिँड्न बाध्य भएको देखिएको छ। यसले नेपालमा मानव अधिकार सन्दर्भ कमजोर रहेको पनि प्रमाणित गराउँछ। सरकारले समय-समयमा यस्तो संवेदनशील विषयमा ध्यान दिनुपर्छ। किनभने चेतना नहुँदा यस्तो परिणाममा मानवअधिकार हनन हुन्छ।

    वृद्धवृद्धा र बालबालिकालाई यो महामारीले निकै समस्यामा पारिरहेको छ, राज्यले सेवा-सुविधा प्रवाह गरेर जोखिमबाट यो उमेर समूहका मानिसलाई सुरक्षित गर्नुपर्ने होइन ?

    अनुसन्धानले पनि वृद्धवृद्धा, बालबालिका र गर्भवती महिला कोरोनाबाट बढी प्रभावित हुने देखाएको थियो। बालबालिकाहरु सुरुको दिनमा खुसी थिए, किनभने परिवारको साथमा रहने भए। बिस्तारै उनीहरुलाई त्यही कुराहरु बोझ हुन थालेको देखिएको छ। विद्यालय र आफ्ना साथीहरूबाट टाढा हुन पुगे। भौतिक सुविधा प्राप्त गर्ने बालबालिकाले सहजै विभिन्न माध्यमहरू जस्तै, अनलाइनबाट पढ्न पाएका छन्‌। तर, गाउँका बालबालिकाहरु त्यसबाट वञ्चित भएका छन्। 

    शिक्षाकै सवालमा राज्यले स्थानीय सञ्चार माध्यमको प्रयोग गरेरै भएपनि शिक्षा दिन अग्रसर हुनुपर्थ्यो, तर त्यसो भएन। बालबालिकाहरू घरेलु र यौन हिंसामा परेका खबरहरू आइरहेका छन्‌। मनोसामाजिक हिंसामा परेका घटना पनि सार्वजनिक भए। यसले के देखाउँछ भने बालबालिका र वृद्धवृद्धा सुरक्षित छैनन्‌। समाजमा उनीहरुमाथि नराम्रा क्रियाकलाप भएका छन। यस्तो बेलामा बालबालिकाहरूको निम्ति सरकारले केही गर्नुपर्छ।

    सहर र गाउँमा रहेका वृद्धवृद्धामा पनि यसको फरक असर देखिएको छ। सहरमा सम्पन्न मानिस बस्छन् भने गाउँका धेरै मानिस विपन्न र निर्वाहमुखी अवस्थामा छन्‌। औषधि उपचारमा सबैभन्दा बढी समस्या देखिएको छ। यातायातको सुविधा नहुँदा अहिले पनि गर्भवती महिलाहरूको ज्यान गइरहेको छ। निश्चय नै, राज्यले सबै नागरिकलाई अधिकार प्राप्त भएको अनुभूति र बढी जोखिममा रहेकाहरूलाई हरतरहको सुविधा दिनुपर्ने हो। तर, त्यसो हुन सकिरहेको छैन। 

    यसबीचमा राज्यको गैह्रजिम्मेवारीका अतिरिक्त समाजको मनोविज्ञान र बुझाइका कारण पनि मानवअधिकार हनन भयो, संक्रमित र उनीहरूको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी लगायतमाथि अभद्र व्यवहार भयो, मानव अधिकारको जगेर्नामा समाज आफैँ चुकेको हो ? 

    दु:ख लाग्दो स्थिति चाहिँ यस्ता अभद्र व्यवहार पनि शिक्षित मानिस बसेका ठाउँमा धेरै भएका छन्। छिमेकीकै कारण पीडितहरूले थप पीडा भोग्नुपर्‍यो। अस्पतालमा बिरामीलाई हेरिएन भन्ने छ, तर यो किन यस्तो भयो ? अचम्मको कुरा छ।

    स्वास्थ्यकर्मीहरु आफैँ संक्रमित हुनुभएको छ। छिमेकी र घरधनीले मानिसलाई घरमा प्रवेश दिएनन्। नागरिक समाज तथा सचेत नागरिकले बोल्ने समय आएको छ। सकारात्मक कुरालाई आत्मसात गर्ने बानी मानिसमा भएन। समाजले अझै ठूलो रोग पालेर बसेको जस्तो देखियो। चलायमान कुरालाई र परिवर्तन गर्न सक्ने कुरालाई स्वीकार्न नसक्दा यस्तो अवस्था निम्तिएको छ। नेपाली समाज वर्गीय हुनु पनि यसको कारण हो।

    कोरोना संक्रमित निको भएर घर जाँदा पनि दुर्व्यवहार भयो, सो सहन नसकेर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ, यस्ता घटना हेर्दा त मानवअधिकार हननमा राज्यभन्दा समाज नै बढी जिम्मेवार देखियो नि!

    मानिसको जीवनमा सही सूचना सबैभन्दा महत्त्वपूर्ण हुन्छ। सकारात्मक चेतना बढाउने सूचना हुनुपर्छ। यहाँ चेतना फैलाउने सूचना भन्दा अफवाहका सूचना छिटो फैलने गर्छ। सकारात्मक सूचना यो समयमा हराएजस्तो छ। हरेक मानिसमा विभेदको मनोविज्ञान छ। जबसम्म मनोभावनालाई परिवर्तन गर्न सकिँदैन : तबसम्म यस्तो विभेद जारी रहन्छ। आफू मात्र बाँच्ने र अरुको अस्तित्व स्वीकार्न नसक्दा यस्तो समस्या आइरहेको छ।

    अधुरो समाजमा अधुरो मनोविज्ञान हुन्छन्‌, त्यसले नै समाजलाई निर्देशित गरिरहन्छ। समाज गलत दिशातर्फ उन्मुख हुने कारण यस्तै हुन्।

    मानिसले अरुलाई सधैँ सानो देख्ने सोचको उपज हो। रोग सबैलाई लाग्न सक्छ भन्ने बिर्संदाको परिणाम हो। अर्को कुरा भनेको कानुन पक्ष कमजोर हुँदा यस्तो भएको हो। चेतनाको स्तर कम हुँदा पनि व्यक्तिले व्यक्तिलाई यस्तो अभद्र व्यवहार गरिरहेका छन्। जनस्तरबाट यस्ता गतिविधिको विरोध र राज्यबाट कारबाही हुनुपर्छ।

    कोरोना महामारी सुरु भएयता नेपाली समाजलाई कस्ता मानिसले नेतृत्व गरिरहेका छन्‌ र समाजभित्र कस्तो चरित्र हावी छ भन्ने यथार्थ बुझ्न सहज भएको हो? 

    नेपाली समाज कहाँ रहेको छ भन्ने बुझ्न स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार हेरे पुग्छ। नेपाली समाजले मानिसका भावना र दुःख अझैसम्म बुझ्न सकेको रहेनछ भन्‍ने बुझ्‍न केही दिन अगाडि काठमाडौंमा स्वास्थ्यकर्मीमाथि गरिएको व्यवहारले प्रमाणित गर्छ। सत्य, तथ्य सूचनालाई विश्लेषण गरेर बुझ्न सक्ने मानिस नहुँदाको परिणाम हो। ज्ञान र चेतनाको कमी हुनु भनेको समाजको लागि ठूलो नोक्सान हुनु हो। विभेद गर्नुहुँदैन भन्ने थाहा छ र पनि मानिसले त्यसलाई बेवास्ता गरेका छन्। अहिले भइरहेका व्यवहार विश्लेषण गर्दा नेपाली समाज अहिले पनि अपूर्ण र अधुरो रहेछ भन्‍ने बुझियो।

    अधुरो समाजमा अधुरो मनोविज्ञान हुन्छन्‌, त्यसले नै समाजलाई निर्देशित गरिरहन्छ। समाज गलत दिशातर्फ उन्मुख हुने कारण यस्तै हुन्। समाज सुधारका लागि प्रतिबद्धताको कमी तथा कुण्ठित मनोभावनाको परिणाम अहिले देखिएको छ। चेतनाको विकास गर्नुपर्छ। सही सूचना प्रवाह हुने हो भने समाज कहिल्यै पनि गलत दिशातर्फ जाँदैन भन्ने म विश्वास गर्छु।

    लकडाउनका बेला लाखौं मजदुरले रोजगारी गुमाएका छन्‌। भाडामा बसेका माथि घरधनीबाट दुर्व्यवहारका घटना दोहोरिइरहेका छन्‌, सानो विवादमा मानिसको ज्यानै लिनेसम्मको अपराध भएको छ, समाजमा मानवता हराएको हो कि बढी पैसा हाबी भएको हो ?

    असंवेदनशील घटनाको जति निन्दा गरेपनि पुग्दैन। राज्य,समाज र व्यक्ति एक हुनुपर्ने बेला आएको छ। मानिसले मानिसलाई गर्ने दुर्व्यवहार भनेको केही कुराको अंश हो। मानिसको सबैभन्दा ठूलो शत्रु मनोविज्ञान हो। त्यो घटना गराउने पीडक कुन मनोविज्ञान र कस्तो सामाजिक संरचनामा हुर्किएर आएको छ? उसले त्यही व्यवहार गर्ने हो। संकटमा मानिसले सही मनोविज्ञान चलाउन सक्दैन।

    सुरुमा सबै कोभिड बिरामीको उपचार गर्छु भनेर घोषणा गर्ने, अहिले आएर त्यसो भन्दा सरकार जनताप्रति जिम्मेवार रहनेछ भन्ने बुझिने भयो। अहिले आएर केही समूहका मानिसलाई मात्र उपचार गर्छु भन्नु सरकारको गैर जिम्मेवारीपना हो।

    मानिस सदा प्रतिक्रियात्मक र द्वन्द्वात्मक हुन्छन्‌, त्यसैको परिणाम हो। अर्को कुरा हरेक कुरामा मानिसले पैसालाई जोडेर हेर्दा समाजमा नराम्रा क्रियाकलाप बढ्न गएको हो। जुन घटना भएको छ : त्यसमा कतै न कतै पैसाको शक्तिले काम गरेको छ।

    सरकारले गरीब र विपन्न वर्गको मात्र उपचार गर्ने भन्दैछ, विभेदकारी नीति भएन ?

    सरकारको लागि सबै नागरिक समान हुनुपर्छ। प्रगतिशील सरकारले सदा विपन्न वर्ग र न्युन आय भएका नागरिकलाई पहिलो प्राथमिकतामा राखी सेवा-सुविधा दिने गर्छ। यो स्वाभाविक कुरा हो। तर, सुरुमा सबै कोभिड बिरामीको उपचार गर्छु भनेर घोषणा गर्ने, अहिले आएर त्यसो भन्दा सरकार जनताप्रति जिम्मेवार रहनेछ भन्ने बुझिने भयो। अहिले आएर केही समूहका मानिसलाई मात्र उपचार गर्छु भन्नु सरकारको गैर जिम्मेवारीपना हो।

    सबै कोभिड बिरामीको उपचार गर्छु भनेको नै हो। थोरैको संख्यामा हुँदा भन्ने, अहिले हजारौँको संख्यामा भन्दा उपचार गर्दिनँ भन्नु भनेको कसैलाई उपचार गर्न सक्दिनँ भनेको जस्तो हो। सरकार भावना बगेको जस्तो देखिएको छ, यस्तो समयमा यथार्थमा विश्वास गर्नुपर्ने हुन्छ। संकटमा सरकार सदैव अभिभावकको भूमिकामा हुने विश्वास नागरिकलाई दिलाउनुपर्छ। यस्तो मानिसलाई उपचार गर्छौं र अर्कोलाई गर्दैनौं भन्न मिल्दैन।

    क्वारेन्टाइन र होम आइसोलेसनमा बसेकाहरुको मृत्यु भइरहेको छ। सरकारले राम्रोसँग अनुगमन नगर्दा उनीहरुको बाँच्न पाउने अधिकार हनन भएको भन्न मिल्छ ?

    स्वास्थ्यकर्मीको अभाव एउटा कारण होला, तर त्यसैलाई आधार मानेर मात्र सरकारले केही नगरी बस्‍न मिल्दैन। सरकारका तर्फबाट गर्न सकिने कुराहरु गरिनुपर्छ। सरकार जहिले पनि सत्य र यथार्थ कुरालाई आत्मसात गर्ने हुनुपर्छ। सरकारले भावनामा बग्न सुहाउँदैन।

    सरकारले कोरोना नियन्त्रणको लागि गरेको खर्च प्रभावकारिता देखिएको छैन। प्रशस्त खर्च भएपनि त्यसको परिणाम निस्केको छैन। सरकारले गरेको व्यवहारबाट जनता असन्तुष्ट हुनु भनेको सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसक्‍नु हो।

    कोरोना संक्रमितको उपचारबारे नीतिगत रुपमा निर्णय गर्न नसक्दा यस्तो भएको। हरेक संकटलाई व्यवस्थापन गर्नलाई कानुन निर्माण हुन्छन्‌। कोरोना रोकथामको लागि पनि छुट्टै नियम बनाएको भए अहिले संक्रमितले धेरै दु:ख भोग्‍नु पर्दैनथ्‍यो। मानव अधिकारको दृष्टिकोणबाट हेर्दा पनि स्वास्थ्य पनि आधारभूत अधिकार हो।  

    संकटको घडीमा सरकार अभिभावक बन्‍न सक्यो त ? 

    सर्वसाधारणको प्रतिक्रिया सुन्दा र पढ्दा आश्रित समुदायमा सरकार पुग्न नसकेको हो कि भन्ने छ। सरकारले कोरोना नियन्त्रणको लागि गरेको खर्च प्रभावकारिता देखिएको छैन। प्रशस्त खर्च भएपनि त्यसको परिणाम निस्केको छैन। सरकारले गरेको व्यवहारबाट जनता असन्तुष्ट हुनु भनेको सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसक्‍नु हो। केही राम्रो गर्दा पनि जनतालाई विश्वास हुन्छ।

    तर, जनताले सरकारलाई विश्वास गर्न छोडेका छन्। हरेक कुरामा भ्रष्टचारको गन्ध आउने अवस्था हुनु हुँदैनथ्यो। सेवाप्रवाहको गुणस्तरबारे जनताले नै निरीक्षण गर्न थालेका छन् भन्ने सरकारले बुझ्नुपर्छ। तर, संकटका बेला सरकारले चालेका कदमहरू सन्देहास्पद भए।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]