|

डडेल्धुराः कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) युएईमा हुँदैछ। १९ सेप्टेम्बरदेखि सुरु हुने आइपिएलको उद्घाटन म्याचमा गत संस्करण विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किंग्स खेल्ने छन्।

आइपिएल नजिकिएसँगै ८ वटै टिमले कडा अभ्यास थालेका छन्। उद्घाटन खेलमा ४ पटकको आइपिएल च्याम्पियन मुम्बई र ३ पटक उपाधि जित्न सफल सिएसकेबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। ​

आइपिएलको यस सिजनमा सबै टिममा युवा तथा अनुभवी कप्तान छन्। कुन कप्तानसँग कति अनुभव छ? कोही पहिलोपटक कप्तानको रूपमा आइपिएल खेल्दैछन्। 

आइपिएलका सबैभन्दा अनुभवी कप्तान महेन्द्रसिंह धोनी नै हुन्। तर, उनी ट्रफी जित्नका लागि रोहित शर्माभन्दा पछाडि छन्। साथै धोनीको नाममा १ सयभन्दा बढी आइपिएल खेल जित्ने कीर्तिमान छ। धोनीलाई फेरि चेन्नई सुपर किंग्सले कप्तानीको जिम्मेवारी दिएको छ।  

आइपिएल नजिकिएसँगै विभिन्न चर्चा सुरु हुन थालेका छन्। यसैबीच, आज आइपिएलका ८ टिमका कप्तानको बारेमा चर्चा गर्दैछौँः

महेन्द्रसिंह धोनी (सिएसके)

‘क्याप्टेन कुल’ भनेर चिनिएका महेन्द्रसिंह धोनी चेन्नई सुपर किंग्सका कप्तान हुन्। राइजिंग पुणे सुपरजाइन्ट्सको पनि उनले नेतृत्व गरेका थिए।

तीन पटक धोनीले सिएसकेको उपाधि जितेका छन्। धोनीले कप्तानको रूपमा १७४ खेल खेलेका छन्। जसमध्ये उले १०४ खेल जितेका छन्। आइपिएलको इतिहासमा कुनै पनि कप्तानले जितेका सर्वाधिक जित हो।

उनले ६९ खेल गुमाएका छन्। एक खेल नतिनाविहीन भएको थियो। धोनीको जित प्रतिशत ६०.११ छ। जुन आइपिएलको सबैभन्दा बढी हो।

विराट कोहली (आरसिबी)

भारतीय टिमका कप्तान विराट कोहली आइपिएल टिम रोयल चैलेन्जर्स बैंग्लोरका पनि कप्तान हुन्। ​कोहली कप्तानको रूपमा आइपिएलमा सफल हुन सकेका छैनन्। आरसिबीका लागि विराटले ११० खेलको कप्तानी गरेका छन्। ४९ खेल जित्दा ५५ म्याच हालेका छन्।

२ खेल टाइ भएका छन् भने ४ खेलहरू वर्षाले प्रभावित भएका थिए। कोहलीको आइपिएलमा जित प्रतिशत ४७.१६ छ। विराट आइपिएलका सर्वाधिक रनकर्ता हुन्।

रोहित शर्मा (मुम्बई)

मुम्बई इन्डियन्सका रोहित शर्मा आइपिएलका सर्वाधिक सफल कप्तान हुन्। तर, उनी जितको प्रतिशतको हिसाबले धोनीभन्दा पछि छन्। चार पटक मुम्बई इन्डियन्लाई च्याम्पियन बनाउने शर्माले १०४ खेलमा टिमको नेतृत्व गरेका छन्। जसमा ६० खेल जितेका छन् भने उनको टोलीले ४२ खेल हारेको छ। 

२ खेल टाइ भएका छन्। रोहितको नेतृत्वमा मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा आइपिएलको उपाधि जितेको छ। जुन एक टोलीको सर्वाधिक जितेको हो।

डेभिड वार्नर (हैदराबाद)

अष्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर सनराइजर्स हैदराबादका कप्तान हुन्। उनको कप्तानीमा हैदराबादले एक पटक आइपिएल उपाधि जितेको छ।

हैदराबादका लागि ४५ खेलमा आइपिएलको नेतृत्व गरेका छन्। २ खेलमा दिल्ली डेयरडेभिल्सको पनि कप्तानी गरेका छन्। ४७ म्याचको कप्तानी गरेको उनले २६ खेलमा जित दिलाएका छन्। उनले २१ म्याच हालेका छन्। उसको जित प्रतिशत ५५.३१ छ।

दिनेश कार्तिक (केकेआर) 

विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स) र कोलकाता नाइट राइडर्सको नेतृत्व गरेका छन्। 

उनी दिल्लीको कप्तानी गर्दा सफल भएनन्। उनले केकेआरलाई पनि उपाधि दिलाउन सकेनन्। तर, उनले निश्चित खेल भने जिताएका छन्। उनले आइपिएलमा ३६ खेलको कप्तानी गरेका छन्। 

जसमा १७ म्याच जितेका छन् भने १८ हारेका छन्। एक खेल टाइ पनि भएको छ। उनको जित प्रतिशत ४८.६१ हो।

स्टिभ स्मिथ (राजस्थान रोयल्स)

अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले पुणे वारियर्स इन्डिया, राजस्थान रोयल्र्स र राइजिंग पुणे सुपरजाइन्टका लागि आइपिएलको नेतृत्व गरेका छन्। 

आइपिएलमा स्मिथले २९ खेलमा विभिन्न टिमबाट कप्तानी गरेका छन्। जसमध्ये १९ खेल जितेका उनले ९ खेल हारेका छन्। एक खेल नतिजाविहीन भएको थियो। उनको जित प्रतिशत ६७.८५ छ। 

श्रेयस अय्यर (दिल्ली)

भारतीय युवा ब्याट्सम्यान श्रेयस अय्यर एकपटक फेरि दिल्ली क्यापिटलको कप्तानी गर्दैछन्। आइपिएल २०१८ को मध्यमा श्रेयसलाई टिमको कप्तान नियुक्त गरिएको थियो।

तेस्रो सिजनमा उनी टिमलाई शीर्ष स्थानमा पुगाउने लक्ष्यमा छन्। कप्तानका रूपमा अय्यरले २४ आइपिएल खेल खेलेका छन्। जसमध्ये १३ जितेका  छन् भने १० खेल हारेका छन्। एक म्याच टाइ भएको छ। उनको जित प्रतिशत ५६.२५ छ।

केएल राहुल (पञ्जाब)

भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुल पहिलोपटक आइपिएलमा कप्तानी गर्दै छन्। यस सिजनको आइपिएलमा राहुलले किंग्स इलाभेन पञ्जाबको कप्तानी सम्हाल्ने छन्।

रवीचन्द्र अश्विनको ठाउँमा राहुललाई किंग्स इलाभेन पञ्जाबको कप्तान नियुक्त गरिएको हो। अश्विन दिल्लीबाट आइपिएल खेल्दैछन्। उनी श्रेयस अय्यरको नेतृत्वमा खेल्ने छन्। 

राहुलले टिमलाई ब्याटिङबाट राम्रो साथ दिएका छन्। उनको कप्तानी टिमले राम्रो नतिजा निकाल्ने अपेक्षा गरिएको छ। 

एजेन्सीको सहयोगमा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.