विद्यार्थीले नजानी नहुने विषयसहित पाठ्यवस्तु समायोजन

|
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले चैत मसान्तभित्रै शैक्षित्र सत्र पूरा हुने गरी ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ पारित गरेको छ। कोरोना महामारीमा पनि शैक्षिक सत्र खेर जान नदिन भन्दै परिषदले पाठ्यवस्तु समायोजन ढाँचा पारित गरेको हो।

मंगलबार परिषदका अध्यक्ष र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चैत्र मसान्तभित्रै शैक्षिक सत्र पूरा गर्ने लक्ष्यसहित पाठ्यवस्तु समायोजन ढाँचा पारित गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए।

उनले भने, ‘कोरोना महामारीमा विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन पाठ्यवस्तु समायोजन ढाँचा ल्याइएको थियो। सरकारले पारित गरिसकेको छ। यो ढाँचाअनुसार चैत मसान्तसम्ममा सबै शैक्षिक सत्र सकिन्छ।’

उनका अनुसार यो पाठ्यवस्तु घटाइएको नभई समायोजन गरिएको हो।  यसमा विद्यार्थीले नजानी नहुने विषयवस्तुहरू राखिएको छ। पाठ्यक्रममा भएको एकै किसिमका ४ वा ५ वटा क्रियाकलाप छन् भने त्यसलाई घटाएर एकमा झारिएको छ। 

अबदेखि विद्यालयले समायोजन ढाँचा लागू गर्न सक्ने

सरकारले पाठयवस्तु समायोजन ढाँचा पारितगरेसँगै  विद्यालयले यसै ढाँचाअनुसार विद्यार्थीलाई पढाउन पाउने बाटो पनि खुलेको छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक दाहालका अनुसार अब विद्यालयले यही ढाँचामा आधारित रहेर शिक्षण सिकाइलाई अगाडि बढाउनुपर्ने छ।

‘शिक्षकले समायोजन ढाँचालाई हेरेर पढाउनुपर्ने छ,’ उनले भने, ‘यसमा विद्यार्थीले आफैँ अध्ययन (सेल्फ स्टडी) गर्न पनि सक्नेछन्। अबदेखि कोरोना महामारीले पढाइ पूरा गर्न नपाइने हो कि भन्ने विद्यार्थीको चिन्ता हटेको छ।’

विद्यालयले गाउँपालिका र नगरपालिकासँगको समन्वयमा पढाउनुपर्ने उनले बताए। कोभिड–१९ का कारण चैतयता स्कुल र विश्वविद्यालय बन्द छन्। सबै पठनपाठनका गतिविधिहरूसँगै परीक्षा पनि रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.