मन्दिर खुलाउन सरकारको निर्देशन पर्खिँदै

|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले लकडाउन खुलेपछि अव्यवस्थित रुपमा सञ्चालित फूल र पूजाको सामग्री पसलमा डोजर लगाएर हटाउने भएको छ।

पटक-पटक सार्वजनिक सूचना दिँदा पनि पशुपति क्षेत्रमा अनाधिकृत रुपमा सञ्चालित पसल हटाउन अनुरोध गर्दा नहटेपछि लकडाउन खुलेपछि हटाउन लागिएको हो।

वन काली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसलले मन्दिरको सौन्दर्य  घटाएको र दर्शनार्थीलाई दुःख दिएको गुनासो आएपछि सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागेको हो।

कोषले सञ्चालनमा रहेका पसललाई नयाँ टहरामा व्यवस्थापन गर्ने भएको छ। हाल मन्दिर परिसरमा १ सय ६४ वटा पसल सञ्चालित  छन्। १ सय २८ वटा पसललाई व्यवस्थापन गरिने भएको छ। स्थानीय र पुरानो पसलहरूले सम्झौता गरि बसेकालाई पहिलो प्राथमिकतामा राखी प्रक्रिया अगाडि बढाइएको छ।

पुराना पसले ले विकास कोषलाई बुझाउन बाँकी रहेको पैसा चुक्ता गरिरहेको विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले बताए। विधिवत रुपमा प्रक्रिया पुर्‍याएका पसललाई मात्र बस्ने दिने उनले जानकारी दिए।

पुरानो पसलले महिनाको पाँच सय बुझाउने गरेका थिए। नयाँ भवनमा बसेको मासिक पाँच हजार तिर्नुपर्ने विकास कोषले तोकेको छ।

बि-१३ मा रहेका १ करिब १ सय १८ वटा घरलाई पनि हटाउने भएको छ। पशुपति क्षेत्रको जग्गामा अनाधिकृत रुपमा बसोबास गर्ने कसैलाई अधिकार नभएको उनको भनाइ छ। उनले भने,' लकडाउन खुलेपछि पहिलो चरणको काम नै अव्यवस्थित रुपमा बसोबास गरेका बस्तीलाई र पसललाई डोजर चलाएर हटाउँछौ।'

मन्दिर खुलाउन सरकारी निर्देशन कुर्दै

सरकारले मठ मन्दिर खुलाउन निर्देशन नदिएकाले तत्काल नखोलिने खतिवडाले बताए। उनका अनुसार निर्देशन आएमा मन्दिर तत्कालै खुला गरेर भक्तजनलाई दर्शनका लागि सहजीकरण गरिनेछ।

सरकारले खोल्न निर्देशन दिए पनि दुई दिनको समय लिएर मात्र मन्दिर प्रवेश गराइने उनले जानकारी दिए।  'मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको लागि निश्चित मापदण्ड बनाएर सूचना जारी गरिन्छ,' थाहाखबरलाई भने।

मन्दिरमा दर्शनार्थीले पहिले जस्तो भीड गरेर प्रवेश गर्न नपाउने उनले प्रस्ट पारे। एक पटकमा २० देखि ३० जनालाई प्रवेश गर्न दिइने उनले बताए। सामाजिक दूरी कायम गरेर दर्शन गर्न दिइने उनले बताए। सबैलाई मास्कको प्रयोग अनिवार्य गरिने बताइएको छ। 

विभिन्‍न निकाय र दर्शनार्थीले पनि मन्दिर खुलाउन आग्रह गरिरहेको उनले जानकारी दिए। धार्मिकस्थल संवेदनशील क्षेत्र भएकोले यस ठाउँमा स्वास्थ्य अनुशासन कायम गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.