दाङ : घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ। एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।
उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाइ लगायतका अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिनेसमेत उनले जानकारी दिए। मंगलबार उपमहानगरपालिका क्षेत्रभित्रका १२ जना महिला र ११ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
तीमध्ये घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। एकजना डाक्टर, एक जना इन्जिनियर, एक जना अधिकृत र ३ जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। संक्रमित भएका कर्मचारीहरूमा कुनै पनि लक्षण छैन। संक्रमित भएकाहरू वडा नम्बर १५ का १३ जना, वडा नम्बर १४ का ३ जना, वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ र ८ का एक एक जना रहेका छन्।
योसँगै घोराहीमा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ। ९५ वटा स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना देखिएको हो। घोराही उपमहानगरका अझै ५७ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ।
जिल्लामा हालसम्म आज थपिएका २३ जनासहित दाङमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या ९ सय ४२ पुगेको छ। तीमध्ये ७ सय ४३ जना कोरोना निको भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।