महामारीमा समेत उस्तै स्थिति

|
वीरगन्जको आइसिपीमा भारत तथा तेस्रो मुलुकबाट मालबस्तु लिएर नेपाल छिरेका मालबाहक सवारीसाधन।

पर्सा : पर्साको वीरगन्जमा अवस्थित नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) हुँदै जति विदेशी सामान लिएर मालवाहक सवारी नेपाल छिरेका छन्‌, तथ्यांकले गणतान्त्रिक नेपालमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने राज्यका नीति एवम्‌ नेताहरूका भाषणको धज्जी उडाएको छ।

यो आइसिपीबाट गत आर्थिक वर्षमा निर्यातभन्दा आयात गरिएका सामान बोकेका ८ गुणा बढी सवारीसाधन नेपाल भित्रिएका छन्‌।

​गत आर्थिक वर्षमा नेपालबाट जम्मा १७ हजार १ सय ५५ मालवाहक सवारी यो नाका भएर बाहिरिएको थियो। यही नाका भएर उताबाट भने १ लाख ३५ हजार १७ वटा भर्ती सवारी मुलुक छिरेको तथ्यांक छ। 

तथ्यांक अनुसार नेपालबाट निर्यात भएका भर्ती सवारीको तुलनामा उताबाट आएका भर्ती सवारीको संख्या १ लाख १७ हजार ८ सय ६२ वटाले बढी हो। यस्तो स्थितिमा अझै मुलुकको व्यापार घाटा भारवहन क्षमता तुलना गर्ने लायक समेत नरहेको वीरगन्ज भन्सारले जनाएको छ। भर्ती सवारी यताबाट उता र उताबाट यता छिर्दा गरिएको सुक्ष्म अध्ययनले नेपाल आत्मनिर्भरको सट्टा व्यापार घाटाकै बिन्दुतर्फ अघि बढिरहेको छ।

अघिल्लो वर्षभन्दा भारवहन सवारीको निर्यात बढ्यो 

गएको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा केही धेरै नेपाली मालसामान बोकेका सवारीसाधन बाहिरिएका छन्‌। अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा वीरगन्ज नाका भएर १५ हजार १ सय ३५ वटा भर्ती सवारी बाहिरिएको थियो।

गएको वर्ष भने त्यो संख्या बढेर १७ हजार १ सय ५५ वटा पुगेको इन्टर मोडल यातायात विकास समितिको तथ्यांकले देखाएको छ। यो समितिले वीरगन्जमा रहेको आइसिपीको व्यवस्थापन जिम्मा लिएको छ।  

कोरोना फैलँदा पनि उस्तै

यो नाकाबाट गएको आर्थिक वर्ष कुल १ लाख ५२ हजार १ सय ७२ मालबाहक सवारी वारपार गरेको इन्टरमोडल यातायात विकास समिति आइसिपीका प्रमुख कमल ज्ञवालीले थाहाखबरलाई जानकारी दिए। 'नेपालतर्फबाट भने जम्मा १७ हजार १ सय  ५५ वटा मालवाहक सवारी बाहिरिएको देखिन्छ,' उनले भने, 'बाँकी भर्ती मालवाहक सवारी भने सबै भारतबाट नेपाल भित्रिएको तथ्यांक छ।' अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा वीरगञ्ज आइसीपीबाट कुल एक लाख ५८ हजार १ सय ९१ सवारी आवत जावत गरेका थिए। 

कोरोनाका कारण गत चैतदेखि अन्य क्षेत्र प्रभावित भए पनि आयात-निर्यातमा भने खासै प्रभाव देखिएको छैन। नेपाली सामान लिएर गएका सवारीसाधनको संख्या भने अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा २ हजार २० ले बढेको छ।

विश्वभर कोरोना प्रभाव परेपनि आयातमा थोरै मात्र फरक परेको देखिन्छ। निर्यातमा भने केही सकारात्मक अवस्था सुरु भएको देखिन्छ। यो अवस्थालाई जति बढि निरन्तरता दिन सक्यो, मुलुकको आत्मनिर्भरतामा उति नै टेवा पुग्ने कुरा आइसिपी व्यवस्थापन जिम्मा लिएको इन्टरमोडल विकास समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.