झापाका बेकामे इन्द्र यसरी बन्दैछन्‌ सफल कृषक

|

दमक (झापा) : द्वन्द्व उत्कर्षमा पुगेका बेला वि.सं. २०६२ सालको अन्त्यतिर स्वदेशमा गरिखाने विकल्पहरू बन्द भएको लागेपछि इन्द्र (चन्द्रबहादुर) लिम्बू रोजगारीका लागि विदेश जान काठमाडौं पुगे। त्यसै बेला दोश्रो जनआन्दोलनको उभार उठ्यो। बहराइन उडान पछि सर्‍यो।

घरबाट बहराइन जान जान भनि पोकापुन्तरा बोकेर हिँडेका लिम्बु काठमाडौंका सडकमा आन्दोलनकारी उर्लिन थालेपछि परिवर्तनका लागि भन्दै आन्दोलनमा सहभागी हुन थाले। जनआन्दोलन दिनानुदिन चर्कँदै गयो। आन्दोलनकारी बनेर प्रहरीलाई ढुङ्‌गा हान्न उनी पनि गोंगबुतिर लागे। त्यहि बेला प्रहरीले बल प्रयोग गर्‍यो। प्रहरीले चलाएको प्लाष्टिकको गोली पाखुरामा लाग्यो।

सुरुमा त साँच्चिकै गोली लागेछ भनेर उनी आत्तिए। गोली लाग्दा पनि उनी ज्यानको मायाभन्दा बहराइन जाने सपना पूरा नहुने हो कि भनेर निकै दुखी बने। तर केहि सातामा आन्दोलन टुङ्गियो। उनको घाउमा पनि खाटा बस्यो। अनि बहराइनतिर लागे। 

बहराइनमा बेकामे !

​झापाको गौरीगञ्ज-१ स्यालडाँगीमा रहेको पुर्ख्यौली जमिनलाई बेकामे ठानेर उनी विदेश लागेका थिए। २५/२६ वर्षको उर्लँदो जवानीसँगै चुलिएका महत्वाकांक्षा पूरा गर्नु उनको लक्ष्य थियो। आर्थिक हिसाबले सम्पन्‍न बन्‍ने महत्वाकांक्षा विदेशमा दुई वर्ष बस्दा पनि पूरा भएन।

‘जे सोचेर विदेश गइएको थियो, त्यस्तो भएन,’ बहराइन बसाइ समीक्षा गर्दै उनले भने, ‘आफ्नै ठाउँमा विकल्प नखोजी विदेश गए सबै ठीक हुन्छ भन्ने सोच्नु नै धेरैको गल्ती रहेछ, मलाई पनि त्यस्तै भयो।’

विदेशमा हन्डर खाए पछि उनको होस खुल्यो। स्वदेश फर्किए र केही समय बेकामे नै बसे। साथीहरुले 'के काम गर्दैछस्' भनेर सोध्दा आफू त ‘बेकामे’ भनेर उत्तर दिन्थे। कसैलाई परिचय दिँदा समेत आफ्नो नाम नै ‘बेकामे इन्द्र’ भनेर परिचय दिन थाले। त्यसपछि उनलाई धेरैले ‘बेकामे इन्द्र’ भनेर चिन्न थाले। 

उनी विदेशबाट फर्कँदै गर्दा आफ्नो गाउँलेले सहर देख्ने गरेको दमकमा साइबर क्याफे निक्कै कम थिए। सूचना-प्रविधिको उपयोगमा नेपाली समाज अभ्यस्त हुँदै गएका बेला उनले आफूसँग भएको पूँजी त्यसैमा लगानी गरे। बेरोजगार भएको पीडा लुकाउन नसकेर आफुलाई ‘बेकामे इन्द्र’ भन्दै हिँडेका उनलाई त्यही नाम प्रिय लाग्न थाल्यो। आफ्नै साइबरबाट उनले आफ्नो फेसबुक समेत ‘बेकामे इन्द्र’ नाम राखेर खोले। त्यो अझै त्यही नाममा छ।

साइबरले पनि सघाएन

दमकमा साइबर क्याफे चलाउँदै गर्दा अहिलेको जस्तो सबैको हातमा आइफोन र एन्ड्रोइड मोबाइल थिएनन्। मान्छेहरु पालो पर्खिएर पनि उनको साइबरमा इन्टरनेट चलाउन आउँथे। तर प्रविधि यति तीव्र रुपमा सर्वसाधारणको पहुँचमा पुग्यो कि, साइबरमा लाग्ने ताँती ठप्पै भयो। अलिअलि भएको पैसा खर्च गरेर सुरु गरेको व्यवसाय पनि टिक्न नसकेपछि उनको अवस्था 'जस्ताको तस्तै' बन्यो। फेरि बेकामे नै बने।

साइबर समयको शिकार भयो। तर उनले हिम्मत हारेनन्। त्यसपछि उनको रोजाई बन्यो : होटल व्यवसाय। झापामा भर्खर-भर्खर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको जामुनखाडीमा उनले होटल व्यवसाय सुरु गरे। त्यो पनि लामो समय टिकेन। होटल व्यवसाय किन चलेन त ? उनले सुनाए, ‘त्यस बेला जामुनखाडी अहिले जस्तो विकास भइसकेको थिएन, त्यही बेला अलिक स्टान्डर्ड खालको होटल खोलिएछ। जामुनखाडीमा अलि-अलि पुग्ने गरेका पर्यटक पनि छिर्न मेरो होटलमा छिर्न छाडे।’

उनमा धैर्यता अभाव भयो। प्रतिफलका लागि धेरै समय पर्खन सकेनन्। होटल व्यवसायलाई पनि माया मारे। अनि त उद्यमी बन्दै गरेका इन्द्र फेरि बने ‘बेकामे इन्द्र’।

होटल व्यवसायबाट लडेका उनले फेरी उठ्ने हिम्मत गरे। अनि साथीहरुसँग मिलेर औषधी व्यवसायमा लगानी गरे। जानकारी र अनुभव नभएको व्यवसायमा लगानी गर्ने उनको पुरानो बानीले यहाँ पनि उस्तै नतिजा देखायो। केहि समय पछि फेरि हात लाग्यो शुन्य! पहिचान फेरि पनि ‘बेकामे इन्द्र’। 

आफ्नै खेती, सबैभन्दा माथि

देशदेखि परदेशसम्म अनेक क्षेत्रमा आफुलाई अभ्यस्त बनाउन खोज्दा-खोज्दै पनि उनले सफलता हात पार्न सकेनन्‌। अनि बहराइन जानुअघि माया मारेको आफ्नै खेतबारी सुम्सुम्याउन थाले। 

२ वर्ष अघि उनले १५ कट्ठा जमिनमा पोखरी खनाए। माछा पालन सुरु गरे। बहराइनको दुःख, साइबर क्याफेमा खर्चिएको समय र लगानी अनि होटल व्यवसायसँगै डुबेको रकम अहिले माछापालनबाट फिर्ता ल्याउने प्रयत्नमा जुटेका छन्, इन्द्र।

यतिखेर उनले अढाई बिगाहामा माछापालन गरिरहेका छन्। आफ्नो जमिनले मात्रै नपुगेपछि १ विगाहाको पोखरी पनि लिजमा थपेका छन्‌। उद्यम विस्तार भइरहेको छ। माछासँगै लोकल कुखुरा पनि पालेका छन्‌। 

लिम्बु यतिखेर स्यालडाँगीलाई कृषि-पर्यटनको गन्तव्य बनाउने लक्ष्यमा जुटेका छन्। सोही स्थानमा रेष्टूराँ खोल्न संरचना निर्माणसमेत थालिसकेका छन्‌। अनेकौं व्यवसायमा लगानी डुबाएका उनी अनुभव नभएको क्षेत्रमा लगानी नगर्न अरुलाई आग्रह गर्छन्। साथै, व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक भएको अनुभव पनि बाँड्ने गर्छन्‌।

माछा र कुखुरा पालनमा उनले २० लाख रुपैयाँभन्दा बढी रकम लगानी गरिसकेका छन्‌। अनेक ठाउँमा हण्डर खाएपछि अन्तिममा खेती किसानी रोजेका उनलाई लगानी डुब्ला भन्ने चिन्ता अहिले छैन। ‘धेरै कुराको अनुभव गरियो कि! तर अहिले बल्ल आफ्नै खेती सबै भन्दा माथि बल्ल लाग्दैछ।’ दुई वर्षयता वार्षिक ५ लाख रुपैयाँका दरले नाफा कमाउन थालेपछि उनलाई यतिखेर गरिरहेको इलममै लगानी बढाउने हिम्मत जुटेको छ।

सरकारी अनुदान आइपुगेन

तीनै तहका सरकारहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले सुनेका छन्‌। तर, उनले अझैसम्म सरकारका कुनै सहुलियत र अनुदान पाएका छैनन्। राज्यले उत्पादनमा सहुलियत र उत्पादित बस्तुको बजारीकरण गरिदिने हो भने अझै पनि नेपाली किसानहरू लगानी बढाउन तयार रहेको उनी बताउँछन्।

तर सरकारी अनुदान, प्रोत्साहन र सहुलियत वास्तविक किसान सम्म पुग्न आवश्यक रहेकोमा उनी जोड दिन्छन्‌। उनले भने, ‘हुन त मैले अनुदान पाउने आश गरेर यो काम थालेको होइन, तर पनि गरिरहेको काममा सरकारी स्तरबाट प्रोत्साहन भयो भने त झनै उत्साह थपिन्थ्यो कि भन्ने लागेको मात्रै हो।’

उनको महाभारा एग्रो फार्ममा माछा तथा कुखुरा पालनका बारेमा जानकारी लिन जानेहरूको संख्या पनि बढिरहेको छ। झनै लकडाउनको बेला त फोनमा र फारममा नै आएर यसबारे बुझ्नेहरूको संख्या निकै बढ्यो। अन्य पेशा व्यवसायहरु विभिन्न कारणले बेला-बेला समस्यामा पर्ने गरेपनि कृषि पेशा त्यस तुलनामा अलिक ढुक्कको क्षेत्र रहेको उनलाई लकडाउनको समयले पनि अनुभव गरायो।

तर, कागजपत्र मिलाएका भरमा कसैले अनुदान र सहुलियत पाउने र वास्तविक खेतीमा जोतिने किसान त्यसबाट बञ्चित भई रहने हो भने झनै निराशा बढ्नेतर्फ पनि सरकारले ध्यान पुर्‍याउन आवश्यक रहेको उनी बताउँछन्।

आफ्नै खेतीपातीमा कामकाजी बनेका इन्द्र यतिखेर भन्छन्‌, अहिले मलाई साथीहरुले बेकामे इन्द्र भनेर चिन्दा पनि खुसी नै लाग्छ, तर नामले भन्दा पनि कामले चाँहि अहिले आफु बेकामे छैन जस्तो लागेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.