|

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटारमा निर्माण गरिएको आइसोलेसनको व्यवस्थापन कमजोर रहेको उपचाररत संक्रमितहरुको गुनासो रहेको छ। सोलु, खोटाङ र ओखलढुंगा गरी तीन जिल्लाका कोरोना संक्रमितका लागि तयार गरिएको आइसोलेसनको व्यवस्थापन कमजोर भएको रहेको उनीहरूको गुनासो छ।

जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनको शौचालयमा पानी अभाव, राति ओढ्नलाई पातलो कपडा पर्याप्त पिउने पानीको व्यवस्थापनसमेत नभएको संक्रमितले गुनासो गरेका छन्। उपचाररत एक संक्रमितले भने, ‘हामीलाई थुन्न ल्याएजस्तो भो, संक्रमित बस्न योग्य नै भएन।’

खानेपानी अभाव, शौचालय दुर्गन्धित, कपडा व्यवस्थापन नभएको र चिसोका कारणले स्वास्थ्यमा थप समस्या आउन सक्ने अवस्था रहेको उनको भनाइ छ।

व्यवस्थापनको काम हाम्रो होइन : अस्पताल

उक्त आइसोलेसन प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले बजेट उपलब्ध गराएर जिल्ला अस्पतालले तयार गरेको हो। आइसोलेसनको व्यवस्थापनको जिम्मा पाएको जिल्ला अस्पताल रुम्जाटारले भने व्यवस्थापन गर्ने काम आफ्नो नभएको भन्दै पन्छिएको छ।

अस्पतालका प्रमुख सन्तोष देवले आइसोलेसन व्यवस्थापनको काम आफ्नो नभएको दाबी गरे। खानेपानीको मुहान नै बाढीले क्षति पुर्‍याएकाले सिद्धिचरण नगरपालिकाको दमकलमा बोकेर पानी आपूर्ति गरेको देवको भनाइ छ।

अस्पताल आइसोलेसन व्यवस्थापनको जिम्मेवारीबाट पन्छिँदा संक्रमितले समस्या व्यहोर्नुपरेको छ। यस्तै, जिल्ला अस्पतालसँगै रहेको स्वास्थ्य कार्यालयले समेत उक्त आइसोलेसन व्यवस्थापनको चासो नदिएको संक्रमितको भनाइ छ।

स्वास्थ्य प्रमुख सुमन तिवारीले स्वाब संकलन गर्ने र संक्रमण भए/नभएको पहिचान गर्ने जिम्मेवारी मात्रै स्वास्थ्य कार्यलयको भएको र त्यही काममा फुर्सद नभएकाले आइसोलेसनमा के कसरी व्यवस्थापन गरिएको बुझ्नसमेत नपाएको बताए।

पन्छिन खोज्छ अस्पताल

कांग्रेसको कोभिड १९ अनुगमन समितका फोकल पर्सन लीला सुनुवारले व्यवस्थापनको विषयमा अस्पताल प्रमुखसँग कुरा गर्दा व्यवस्थापनको जिम्मा आफ्नो नभएको  उपचार गर्ने मात्र भएको  भन्दै पन्छिएको बताए। अस्पताल गैरजिम्मेवार बन्न नहुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.