|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन तीन दिन मात्र बाँकी हुँदा क्याम्पसहरुमा तनावका घटनाहरु बढेका छन्। तालाबन्दी र झडपका कारण कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएका छन् भने कतिपयमा अझै उम्मेदवारी दर्ता समेत हुन सकेको छैन।

काठमाडौंका केही क्याम्पसका प्रमुहरुले चुनाव गराउन नसक्ने बताइरहेका छन्। यस्तो बेलामा त्रिभुवन विश्वविद्यालय भने चुनाव गराउने दृढ छ। उसले प्रहरी परिचालन गरेर भएपनि निर्वाचन गरिछाड्ने बताइसकेको छ। 

क्याम्पसहरुमा स्ववियु चुनाव गर्न प्रहरीले पनि तयारी गरेको छ। फागुन १८ गतेका लागि सुरक्षा व्यवस्थाको तयारी गरिराखिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए।

‘निर्वाचन स्थलको सुरक्षा गर्नको लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं, कुनै पनि त्यस्तो घटना वा दुर्घटना हुन नदिन हामीले त्यसरी नै परिचालित हुने छौं’, उनले भने ‘विहान ५ बजेदेखि निर्वाचनको मत परिणाम नआएसम्म हामी सुरक्षा दिन प्रतिवद्ध छौं, धनिभूत रुपमा सुरक्षा व्यवस्था मिलाइएको छ।’

क्याम्पसको गतिविधिको आधारमा सुरक्षाका हिसाबले तीन तहमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको पनि डिआइजी लामाले जानकारी दिए। अति संवेदनशील, संवेदनशील र सामान्य भनेर तिन तहमा वर्गिकरण गरिएको छ। 

‘संवेदनशीलताकै आधारमा हामीले सुरक्षाकर्मी खटाउने तयारी गरेका छौं’ डिआइजी लामाले भने ‘मोवाइल, सिआरभी परिचालन गर्ने छौं भने क्याम्पस इलाकामा सम्बन्धित व्यक्ति भन्दा अरुलाई जान प्रवेशमा रोक लगाइने तयारीमा छौं।’

काठमाडौंमा ३१ वटा, ललितपुरमा ११ वटा र भक्तपुरमा २ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछन्। काठमाडौंका सात वटा क्याम्पस अति संवेदनशील भएको प्रहरीले मुल्यांकन गर्दै त्यही अनुरुप सुरक्षा व्यवस्था मिलाइएको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए।

उनका अनुसार क्षेत्रपाटीको पब्लिक युथ, लैनचौरको अमृत साइन्स, प्रदर्शनीमार्गको रत्नराज्य, पुतलिसडकको शंकरदेव, मीनभवनको नेपाल कर्मश, चावहिलको पशुपति क्याम्पस र कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अति संवेदनशील क्याम्पस भएकोले त्यहाँ बढी सर्तकता अपनाइएको छ।

‘अति संवेदनशील क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्ड र अन्य स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटाइने तयारी गरेका छौं’, उनले भने ‘क्याम्पसभित्र प्रवेश गर्न नपाइने भएपनि बाहिरी क्षेत्रहरुमा भरपर्दो तरिकाले सुरक्षा व्यवस्था मिलाइने छ।’

उनले करिव चार लाख विद्यार्थीले मतदान गर्ने निर्वाचनका लागि दुई हजार प्रहरी खटिने पनि एसएसपी जोशीले जानकारी दिए। ललितपुरमा भने तीन वटा क्याम्पसलाई अति संवेदनशील क्याम्पसको रुपमा लिई सुरक्षा व्यवस्था मिलाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए। उनका अनुसार पाटनढोकाको पाटन संयुक्त क्याम्पस, पुल्चोकको इन्जिनियरिङ क्याम्पस र पाटनको एडभान्स कलेज संवेदनशील कलेज रहेको छ।

‘हामीले अति संवेदनशील कलेजका लागि एक सय ५० सुरक्षाकर्मी र अन्य स्थानमा आवश्यकता हेरेर खटिने तयारी गरेका छौं’, उनले भने ‘क्याम्पस प्रशासन र निर्वाचनमा खटिएकाहरुसँगको समन्वयमा काम गरिरहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.