|

बागलुङ : भदौ २८ गते बिहान घरमाथिको अहटमा बाटो बनाउँदा लगाएको तार जाली बगिरहेको पानी धान्न नसकेर भत्कियो। सँगैको बाँसझ्याङ र तार जालीले घर पुर्दा बिहान भर्खर निद्राबाट व्युँझिएका बाबु र बहिनीले त भागेर ज्यान बचाए, तर आमा लक्ष्मी पौडेल (वर्ष ६५) लाई पहिरोले पुर्‍यो।

पोष्टमार्टमपछि शव दाहसंकार गर्दा साँझ पर्‍यो। त्यो दिन त्यसै बित्यो। काजकिरियाको कर्म पहिरोको जोखिममै रहेको घरमा शुरु गरेपनि देवराजले त्यहाँ नै संस्कार अनुसार किरिया गर्न पाएनन्।

२९ गते बिहान आएको अर्को पहिरोले उनको सहित गाउँका थप ७ घर पुर्‍यो। अघिल्लो दिनकै पहिरोले झस्किएका गाउँलेले भागेर ज्यान त बचाए, तर अहिले गाउँ भरि नै रात काट्न बस्न मिल्ने ठाउँ छैन। टुनीबोटका दुई ठाउँमा आएको पहिरोका कारण गाउँका ३९ घर जोखिममा छन्।

दाजुभाई छिमेकी र आफन्तका घरहरूसमेत असुरक्षित भएपछि देवराजले अहिले ससुराली नजिकै खाली घरमा बसेर आमाको काजकिरिया गर्दैछन्। ‘राख्नु कहाँ, जोगाउनु कसरी?’ स्थानीय ऋषिराम शर्माले भने, ‘बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेका ससुरालीको सहयोगमा खाली घर खोजेर उतै बस्न लगाएका छौं।’ 

गाउँ नै पहिरोको जोखिममा परेपछि देवराजले ससुराली पुगेर किरियाकर्म गर्नुपरेको स्थानीय कृतिनाथ पौडेल बताउँछन्। देवराज मात्रै होइन, पछिल्ला तीन दिनयता टुनीबोटका कसैले पनि आफ्नो घरमा रात बिताउन पाएका छैनन्‌। ‘आठ घर त गैहाले, दुई जना आफन्त पनि गुमायौं,’ शर्मा भन्छन्, ‘वृद्ध र बालबालिका जोगाउनै मुस्किल भयो।’

टुनीबोटमा अप्रत्यासित रुपमा आएको पहिरोले गाउँ नै जोखिममा छ। पहिरोले बगाएका ८ घरमध्ये ४ घरको घडेरीसमेत सकिएको छ। ‘नत अन्त कतै जग्गा छ न फेरी बनाउन मिल्ने गरी पहिरोले पुरेको हो,’ पीडित तारा बोहोरा भन्छिन्, ‘मेरो त उठीबास भयो, ज्यान मात्रै बचेको छ।’ उनीसँगै उनका ससुरा इन्द्र बहादुर पौडेल, देवरानी शान्ति क्षेत्री र एकल महिला पवित्रा पौडेलको घरवास पहिरोले सकेको छ।

पहिरोका कारण घर पुरिएका मणिभद्र शर्मा, टिका कुमारी शर्मा, नन्दलाल पौडेल र रिवनाथ पौडेलले कहिले छिमेकीको घरमा त कहिले विद्यालय भवनमा रात कटाउँदै आएका छन्। देवराज शर्मा, भेषराज शर्मा, ऋषिराम शर्मा, जीवनाथ शर्मा, धनपति पाध्या, बोधराज शर्मा, कलाधर शर्मा, दुर्गादत्त शर्मा, बलराम शर्मा, शिव शर्मा कृतिनाथ पौडेल, भिमनाथ शर्मा र यदुनाथ शर्माले घर छोडेका छन्।

‘माथी हेर्दा घरमा बस्नुजस्तै हुँदैन, जोखिम मोलेरै २०/२२ जना भएर कम जोखिम भएको घरमा बसेका छौं,’ ऋषिराम शर्माले भने, ‘९७ वर्षका वृद्ध र अपाङ्ग दाई हुनुहुन्छ, पहिरो आए कसरी दगुर्ने?’ 

पहिरोका कारण टुनीबोटका स्थानीयले बागलुङ नगरपालिका–१२ टाकुरीका केही घर, जैमिनीकै खौर गाउँ र स्थानीय जैमिनी प्राथमिक विद्यालय भवनमा शरण लिएका छन्। दिनभर पकाउने/खाने काम आफ्नै घरमा गर्ने र राती सुरक्षित ठाउँ खोज्ने गरेको उनले बताए। ‘अब टुनीबोटमा कोही पनि बस्ने मनस्थितिमा छैनौं,’ उनले भने, ‘भर्खरै जाने ठाउँ नभएर मात्रै हो, हिउँदयाममा त केही मेसो आउला।’ टुनीबोटमै २९ गतेको पहिरोमा ज्यान गुमाएको परिवारले भने जोखिम मोलेर छिमेकीको घरमा काजकिरिया थालेका छन्। 

'पुर्नवास कठिन छ, तैपनि सोच्छौँ'

​अहिलेकै प्रकृतिले पहिरो जाने हो भने टुनीबोटको कुनै पनि ठाउँ सुरक्षित नरहने देखिएको छ।

गाउँभन्दा माथि सडक र सडकमाथि भिरालो जमिनमा ठुलो जंगल छ। अहिले आएका दुई पहिरो पनि सोही जंगलबाट आएको हो। अमलाचौरमा बनेका सडकहरूले पानीढलो बिगारेर भलको पानी सडक हुँदै जंगलमा पुगेपछि पहिरो सिर्जना भएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटा बताउँछन्।

नगरपालिकाले भने विस्थापितको व्यवस्थापनका लागि छलफल थाल्ने जनाएको छ। ‘पुर्नवास सजिलो छैन, उहाँहरु पनि मान्नुहुन्छ की मान्नुहुन्न भन्ने पनि हो,’ नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘हामी छलफल गरेर निधो गर्छौं, तर त्यहाँको बस्ती नै जोखिममा छ।’ जग्गासमेत नभएकाले घर बनाएर उनीहरुलाई राख्ने काम निकै समस्या पर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.