|
फाइल तस्बिर

जनकपुरधाम : जनकपुर–जयनगर रुटमा चलाउनका लागि भारतबाट भोली (शुक्रवार) दुई वटा रेल जनकपुरधाम आइपुग्ने भएका छन्।

रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर-जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने जानकारी दिए। उनका अनुसार रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुरधाम आउन लागेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। तर रेल्वे विभागले केहिदिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि भोली आइपुग्‍ने बताइएको छ।

रेलको परीक्षणपछि मात्रै औपचारिक रुपमा रेल्वे विभागले बुझ्‍नेछ। रेल भोलि आइपुग्ने पक्का भएपनि सञ्‍चालन मिति निश्चित भइसकेको छैन। रेल आएपछि छिट्टै संचालन गर्ने तयारी भइरहेको छ।

रेल्वे विभागले तीन दिन अगाडि मात्रै १ सय २९ कर्मचारी राख्‍न दरखास्त माग गरिसकेको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ। 

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याइएको हो। 

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.