|

विराटनगर : त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचनको मिति आउन अब ३ दिन मात्रै बाँकी छ। तर, मोरङका महत्वपूर्ण मानिएका तीन क्याम्पसमा अझै मनोनयन दर्ता भएको छैन। मधेसी मोर्चामा आवद्ध विद्यार्थी संगठनको अवरोध देखाइँदै भएको ढिलासुस्तीले यहाँका तीन ठूला क्याम्पसमा स्ववियु निर्वाचन हुनेमा आशंका छ।

मधेसी विद्यार्थीले गत ११ गतेदेखि गरेको तालाबन्दीका कारण महेन्द्र मोरङ क्याम्पस, डिग्री क्याम्पस, नर्सिङ क्याम्पस र नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनको नाममा विराटचोकको सुकुना बहुमुखी क्याम्पसमा ताला बन्दी हुँदा उम्मेदवारी दर्ता हुन सकेको छैन। तालाबन्दी हुनुमा तीन विद्यार्थी संगठनकै आ–आफ्नो दाउ रहेको एक अर्काको संगठनलाई आरोप लगाउने गरिएको छ। विराटनगरको महेन्द्र मोरङ, डिग्री र सुकुना क्याम्पसमा विगत भन्दा कमजोर संगठन देखिएको नेविसंघ निर्वाचन नगराउने दाउमा रहेको अनेरास्ववियुका नेता भास्कर खनालले बताए।  

आफ्नो पराजय भोग्नुपर्ने डरले अखिल क्रान्तिकारीले विराटचोकको सुकुना क्याम्पसमा अरुलाई उचालेर ताला लगाएको अनेरास्ववियुका नेता खनालले आरोप लगाए। यस्तै अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर अगाडि आएपछि विराटनगरको डिग्री क्याम्पसमा चुनावै नभए हुन्थ्यो भन्ने मनसाय नेविसंघले राखेको दुवै संगठनको आरोप छ।

महेन्द्र मोरङ क्याम्पसमा भने नेविसंघसहित क्याम्पस प्रशासन मिलेर मधेसी मोर्चालाई अगाडि सारेर तालाबन्दी गर्न लगाएको अखिल र अखिल क्रान्तिकारीको दाबी छ। ‘अखिल क्रान्तिकारीको जित्ने आधार शुनिश्चत भएको कारण महेन्द्र मोरङ क्याम्पसमा ताला लगाइएको हो,’ अखिल (क्रान्तिकारी)का अध्यक्षका उम्मेदवार जिसस न्यौपानेले भने, ‘यसखाले अवरोधले विद्यार्थीले पाउने हक अधिकारलाई कुण्ठित गर्नुको साथै क्याम्पसको शैक्षिक विकासलाई अबरुद्ध पार्छ।’

यता नेविसंघका नेता हरि भट्टराईले अन्य संगठनको भित्रि कुरा के हो बुझ्न नसकिने तर आफ्नो संगठनले चुनावको पक्षमै काम गर्ने बताए। ‘मधेसी साथीहरुले उठाएका राजनीतिक मुद्दालाई छलफल र सहमतिबाट टुंगो लगाउनु आवश्यक छ,’ भट्टराईले भने, ‘नेविसंघले निर्वाचन भाँड्ने र भाँडिने गरी कुनै गतिविधि गरेको छैन।’

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सुमन कालिकोटेले सांगठनिक हिसावले कमजोर हुने संगठनहरुले निर्वाचन भाँड्न लागि परेको आरोप लगाए। उनले आफ्नो संगठनले जे जस्तो परिणाम आएपनि निर्वाचन गर्नुपर्छ भन्ने माग गरेको कारण कुनै पनि आरोप सत्य नहुने बताए।

महेन्द्र मोरङ क्याम्पसका प्रमुख महेन्द्रनारायण यादवले भने १८ गतेको निर्धारित मितिमा अब निर्वाचन हुन नसक्ने बताए। ‘११ गतेदेखि निर्वाचन समितिको कार्यालय, क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ, काम केही गर्न सकेका छैनौं,’ यादवले भने, ‘छलफल र सहमतिबाट सबै सहभागी हुने गरी निर्वाचन गराउन हामी लागिरहेका छौं, अहिले पनि छलफलमै छौं।’ आइतबार बेलुका नेविसंघ, अखिल र अखिल क्रान्तिकारीले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरि निर्वाचन हुने वातावरण बनाउन क्याम्पस प्रशासनले आवश्यक पहल नगरेको आरोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.