भन्छन्, युद्ध लड्न गएकोमा पछुतो छ

|

दाङ : शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका भीमबहादुर विक ‘अर्जुन’ आफ्नो पुर्ख्यौली पेशा काठको ठेकी बनाउन व्यस्त छन्।  उनी पूर्व माओवादीको जनमुक्ति सेनाका लडाकु हुन्। १० वर्षे सशस्त्र जनयुद्धमा घरपरिवार र ज्यानलाई समेत त्यागेर हिँडेका विक केही वर्षदेखि ठेकी बनाएर दैनिकी चलाउँदै आएका छन्। 

देशमा परिवर्तनका लागि हतियार समातेका उनले पुर्ख्यौली पेशाबाट नै गुजारा चलाउनुपर्छ भन्ने नसम्झेका उनले अहिले काठको काम गर्दै आएका छन्। यही पेशाबाट पाँचवटा छोरी र श्रीमतीसहित सात जनाको परिवार धान्दै आएका छन्।

२०६३ सालमा माओवादी–सरकारबीच शान्तिवार्ता भएपछि उनी पार्टीकै निर्देशनमा उनी युवाहरुको संगठन वाईसीएलमा समावेश भए। भीमबहादुरले २०७० सालको निर्वाचनसम्म पार्टीकै निर्देशनमा काम गरे। २०७१ सालदेखि भने काठको काम गर्दै आएको उनले बताए। 

‘सेनामा बस्नेहरुले पाँच लाख रुपैयाँ भए पनि त पाए, तर मैले त केही पाइनँ। त्यसैले परिवार पाल्नका लागि अहिले पुर्ख्यौली पेशा सम्हालेको छु,’ उनले भने, ‘गिठ्ठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र गाउँगाउँमा लगेर बिक्री गर्नु अहिलेको दैनिकी बनेको छ।’

अहिलेको पुस्ताले काठका भाँडा बनाउन छोडेकाले माग धेरै हुने गरेको भीमबहादुरको भनाइ छ। ‘गाउँमा जहाँ गाईभैँसी पालेका हुन्छन्, त्यहाँ सानो वा ठूलो एउटा न एउटा राख्नुहुन्छ,’ उनले भने, ‘काठका ठेकी नभएर अहिले गिल्टीका भाडा प्रयोग गरी रहेकाले राम्रो मानेर किन्ने गर्दछन्। दाङमा स–साना किन्छन् र ठूल–ठुला बागलुङतिर बिक्छ। उतै लैजाने योजना छ। लकडाउनले गर्दा लग्न सकिएको छैन। हाम्रो पुख्र्यौली घर बाग्लुङ हो। त्यहाँ ठेकीको माग धेरै हुन्छ।’

भीमबहादुरले सानो दुई माना र ठूलो ४० माना दुध अट्ने ठेकी बनाउने गरेका छन्। ‘ठेकी बनाउने काठ जंगलमा पाइँदैन, व्यक्तिहरुसँग हुन्छ,’ उनले भने, ‘कम्तीमा एउटा रुखको मूल्य पाँचदेखि १० हजार रुपैयाँ पर्दछ। तर केही रुखको भित्र प्वाँल परेको हुन्छ। त्यस्तो भयो भने पुरै नोक्सानी व्यहोर्नु पर्दछ।’

लकडाउनकै समयमा मात्रै करिब १०० वटा ठेकी बिक्री गरेको उनले बताए। ठेकी बिक्रीबाट भएको आम्दानीले घरखर्च चलाउने र छोरीहरुको पढाई खर्च जुटाउने गरेको उनले बताए। 

भीमबहादुरको पछुतो 

भीमबहादुर १६ वर्षे कलकलाउँदो उमेरमा २०५६ सालमा माओवादी जनयुद्धमा सामेल भए। घर छोडेर हिँडेका उनी ६ महिनापछि जनमुक्ति सेनामा भर्ना भए। तालिमपछि देशका विभिन्न स्थानमा भएका लडाइका मोर्चामा सहभागी भएको उनले बताए। दाङको घोराही, सतवरिया, अछामको मंगलशेन र रोल्पाको लिस्नेको भिडन्तमा उनी घाइते भए। अहिले पनि शरीरका विभिन्न ठाउँमा छर्रा रहेको उनले बताए। स्पेशल टास्क फोर्समा रहेका भीमबहादुर विभिन्न ठाँउमा भिडन्त गर्दै २ महिना १८ दिन हिँडेर रामेछाप पुगेको बताउँछन्।

शान्ति प्रकृयापछि मंगलशेन ब्रिगेड १ नम्बर बटालियन, बी कम्पनीमा कमाण्डरको भूमिका रहे। तर, अहिले त्यो सम्झिँदा पछुतो लाग्ने ३६ वर्षीय भीमबहादुर बताउँछन्। उनले भने, ‘अहिले आएर बाउ बाजेकै पेशा अँगाल्नु परेको छ। यस्तो थाहा पाएको भए किन जनयुद्धमा  जान्थेँ होला र ?’

उनले काठको पेशा आफ्ना अंकलसँग सिके। यसैलाई व्यवस्थित गर्ने उनको सोच छ। गाउँपालिकामा उद्योग पनि दर्ता गरिसकेका छन्। तर, रकम नहुँदा व्यवस्थित गर्न नसकेको उनले बताए। ‘अहिलेसम्म कतैबाट सहयोग पाएको छैन्,’ उनले भने, ‘मेरोबारे गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षलाई सबै थाहा छ। उहाँलाई मैले एउटा ठूलो ठेकी उपहार दिएको छु। तर मलाई सहयोग भएन्। जसको पहुँच छ त्यसैले पाउने हो।’

परम्परागत सीपको संरक्षण

भीमबहादुरले आफ्नो पुर्खाले गर्दै आएको काठको भाँडाकुँडा बनाउने सीप आफ्नी छोरीहरुलाई सिकाउँदै आएका छन्। ‘मेरा छोरा भने पनि छोरी भने यिनै सन्तान हुन्। त्यसैले उनीहरुलाई पढाउँदै र खाली भएको समयमा सिकाउँदै आएको छु,’ उनले भने, ‘बुवाका पनि तीन भाइ हुनुहुन्थ्यो, तर एकजना अंकलले मात्र सिक्नुभयो। हामी पनि तीन भाइ छौँ। मैले मात्र यो सीप सिकेको छु। यदि मैले मेरा सन्तानलाई सिकाइँन भने यो लोप हुन सक्छ।’

उनकी जेठी छोरी ओमकुमारीले बुवासँग उक्त सिक्न पाउँदा धेरै खुशी लागेको बताइन्। उनी अहिले कक्षा १० मा पढ्दैछिन्। तर, लकडाउनको समयमा विद्यालय बन्द भएपछि र नेटको सुविधा नभएपछि काठको भाँडाकुँडा बनाउन सिकिरहेको उनले बताइन्।

‘हुन त यस्ता पेशा, सीप पुरुषले मात्र गर्दछन्, भन्ने हाम्रो समाजमा छ,’ उनले भनिन्, ‘तर आफू नारी भए पनि पुरुषको जस्तै गर्न सक्छु भनेर नै यो सीप सिक्न लागेकी हुँ।’ भोलि आर्थिक कारणले गर्दा पढाइमा समस्या हुन लागे यही पेशा गरेर भए पनि पढ्ने उनले बताइन्। 

विद्यालय जान दैनिक ४ घण्टा हिँडाइ

शान्तिनगरको बस्तिखोला पहाडी क्षेत्र पर्ने भएकाले एकदमै विकट क्षेत्र मानिन्छ। यहाँ १०० घरपरिवार बस्दै आएका छन्। त्यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुने विद्यालय भएकाले कक्षा ९ देखि पढ्न  वडा नम्बर ३ को शान्तिपुर जानु पर्दछ। विद्यालय जान दुई घण्टा पैदल हिँड्नुपर्ने ओम कुमारीले बताइन्। 

‘गाउँमा कक्षा ८ कक्षासम्म मात्र पढाइ हुने विद्यालय छ,’ उनले भनिन्, ‘अरु कक्षा पढ्नका लागि दैनिक आउँदा–जाँदा चार घण्टा हिँड्नु पर्ने बाध्यता छ।’ 

विद्यालय भएको ठाउँमा नै कोठा लिएर बस्दा बुवालाई काममा सघाउने कोही नभएको उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.