|

धनकुटा : धनकुटा नगरपालिकाले सुक्खाा क्षेत्रमा सुरु गरेको ड्रागन फलको खेती अभियानले सार्थकता पाउन थालेको छ। व्यावसायिक कृषिका लागि एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले सुक्खा क्षेत्रका लागि करिब दुई वर्षअघि ड्रागन फलको खेती सुरु गरेको थियो। 

मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत ड्रागन फलको पकेट क्षेत्र घोषणा गरेर नगरपालिका क्षेत्रको अति सुक्खाग्रस्त क्षेत्र र आर्थिक रुपमा विपन्न रहेको वडा नम्बर ८ मा खेती सुरु गरिएको थियो। उक्त वडाका किसानले ड्रागन फलको व्यावसायिक खेती गरेर आम्दानी लिन थालेका छन्। सिंचाइको समस्या भएको क्षेत्रमा सहजै खेती गर्न सकिने भएकाले किसानहरु यतिबेला ड्रागन फलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।

ड्रागन फलको विरुवा रोपाउने लक्ष्य राखेर धनकुटा नगरपालिकाले करिब दुई वर्षअघि वडा नम्बर ८ को टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा छवटा समूह निर्माण गरी १४२ परिवार आवद्ध गराएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। उनले समूहका सबै सदस्यलाई ड्रागन फलको सैद्धान्तिक तथा व्यवहारिक तालिम घरआँगनमै उपलब्ध गराइएको र तालिमपछि ७० प्रतिशत अनुदानमा एक हजार ५५५ वटा विरुवा वितरण गरिएको जानकारी दिए। 

नगरपालिकाको अभियानमा सफल

नगरपालिकाले सुरु गरेको ड्रागन फलको खेती गरेर धनकुटा नगरपालिका–८ सान्ताङ्गका किसान अम्बर राई आम्दानी लिन थालेका छन्। उनले गत वर्षदेखि सुरु गरेको ड्रागनले फल दिन सुरु गरिसकेको छ। उनले विरुवा बिक्री गरेर हालसम्ममा दुई लाख ३३ हजार रुपैयाँ आम्दानी लिएको बताए। 

ड्रागन फलको खेतीबाट आम्दानी मात्र होइन, उनले केहीलाई रोजगार समेत दिएका छन्। साढे तीन रोपनी जग्गामा करिब ४०० वटा विरुवा लगाएको र १२ रोपनी जग्गा क्षेत्रफलमा ड्रागन फलको खेती विस्तार गर्न विरुवा रोप्ने काम गरिरहेका छन्।

करिब ६ वर्ष रोजगारीको शिलशिलामा विदेशी भूमिमा रहेका राईले १४ वर्षअघि साउदी अरबमा रहँदा ड्रागन फलको खेती देखेका थिए। उनले नेपाल फर्किएपछि ड्रागन खेती गर्ने योजना बनाएका थिए। नेपाल फर्कने बित्तिकै सुरुमा विरुवा अभावका कारण खेती गर्न नसकेको र ड्रागन खेतीका लागि विरुवाको खोजीमा धेरै भौतारिएको उनले बताए। गत वर्ष धनकुटा नगरपालिकाले विरुवा वितरण गर्दा दुईवटा विरुवा पाएको बताए। उनले त्यसपछि काभे्र र झापाबाट विरुवा किनेर ल्याई नर्सरी गरेको बताए। खेती गर्न विरुवा नपाएका राईले अहिले जिल्लाबाहिरसम्म विरुवा बिक्री गर्न थालेका छन्। 

ड्रागन फलको विशेषता

ड्रागन फल खेती सम्भाव्यताबारे पुस्तक समेत लेखिसकेका कृषि अभियन्ता जीवनकुमार राईका अनुसार यो फल मेक्सिकोको रैथाने फल हो। क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ। 

यसमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइन्छन्। यो क्यान्सर प्रतिरोधात्मक धेरै गुण भएको र यसको नियमित सेवनले मानिसमा क्यान्सर लाग्न दिँदैन। पछिल्लो समय यस फलको महत्व बढेर गएको छ। यसको खेतीबारीमा तथा गमला दुवैमा उत्तिकै गर्न सकिने कृषि अभियन्ता राईले बताए।

ड्रागन फलको विरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ भने एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिने अभियान्ता राईको भनाइ छ। यसको फल बजारमा प्रतिकिलो ६०० रुपैयाँ पर्ने गरेको छ। ड्रागन फलको बजार नेपालको आन्तरिक बजार धेरै ठूलो रहेको विज्ञहरु बताउँछन्।

भर्खरै मात्र नेपाल प्रवेश गरेको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन। यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली(जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन गर्न सकिने अभियन्ता राईले बताए। यो फल नेपालमा झण्डै १५ वर्षअघि भित्रिएको इतिहास रहेको छ। नेपालमा सर्वप्रथम डा. जगन्नाथ राईले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा यसलाई भित्र्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.