|

पर्वत : कास्की प्रहरीले जबरजस्ती चन्दा असुली गरिरहेको अवस्था नेकपा (विप्लव समूह) का दुई जनालाई पोखराबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ परेकाहरू उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाण्डौका तारकेश्वर नगरपालिका–७ मनमैजु बस्दै आएका २७ वर्षीय रबिन केसी भन्ने ध्वजबहादुर रावत र रोल्पाको गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१६ गोङ्गबु बस्दै आएका २२ वर्षीय रामकुमार डाँगी हुन्।

स्नातक तह उत्तीर्ण गरेका रावत नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी, काठमाडौं जिल्ला कमिटी सदस्य र सोही शैक्षिक योग्यता रहेका डाँगी विप्लव समूहकै अखिल क्रान्तिकारीमा आबद्ध रहेको पाइएको छ।

उनीहरूले गत भदौ ३१ गते दिउँसो करिब साढे ३ बजेको समयमा कास्कीको पोखरा महानगरपालिका–६ हल्लनचोकमा जबरजस्ती  चन्दा संकलन गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले दुवैलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट चन्दाबापत लिएको नगद एक लाख रुपैयाँसहित चार थान मोबाइल सेट, एउटा मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको नेकपा (विप्लव समूह) केन्द्रीय समितिको एक थान रसिद बरामद भएको छ।

उनीहरूविरुद्ध चन्दा ऐनसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाइएको पनि सूचना अधिकारी डिएसपी हमालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.