|

कञ्चनपुर : कञ्चनपुरमा कोरोना भाइरस संक्रमण कारण बन्द सार्वजनिक यातायात खुलेको छ। यातायात सेवा सञ्चलन भए पनि यात्रुहरुको संख्या भने नगन्य मात्रामा रहेको छ। थोरै मात्रै यात्रु बस चढेर गन्तव्यमा जानका लागि पुग्ने गरेका छन्।

सरकारको घोषणाअनुसार कञ्चनपुरका यातायात व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर यातायात सञ्चालन गरेका छन्। महाकाली यातायात बहुउद्देश्यीय कम्पनीसहितका यातायात कम्पनीले लामो दूरीमा सवारी सञ्चालन गरेका छन्। बिहीबार मात्रै बैतडी, दार्चुला र काठमाडौंका लागि हिँडेका बसमा चारजनादेखि १० जना यात्रुले मात्रै टिकट काटेका थिए।

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले सवारी सञ्चालन हुने भएपछि यात्रु आउन थालेको बताए। पहिलो दिन थोरै यात्रु थिए। उनले भने, ‘बुधबार सबै बसेर यातायात सञ्चालन गर्ने निर्णय गरेका थियौं,  त्यस अनुसार तयारी गरिएको छ।’

यात्रु संख्याको आधारमा लामो दूरीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सवारी सञ्चालन गरिने उनले बताए। कञ्चनपुरमा महाकाली यातायात बहुउद्देश्यीय सहित पाँच यातायात कम्पनी सञ्चालनमा रहेका छन्। त्यसमा सबैभन्दा बढी महाकाली यातायातमा ५३५ सवारी साधन छन्। काठमाडौं रुटमा महाकालीका मात्रै ५९ सवारी साधन छन्।

सरकारले कोरोना संक्रमणका कारण चैत ११ देखि लकडाउन घोषणा गरेपछि सार्वजनिक यातायात बन्द गरिएको थियो। त्यसपछि सरकारले गत असारमा लकडाउन हटाए पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको थिएन। सवारी चालक परिचालकले स्वास्थ्यका सबै उपायसहित सबै यात्रुहरुलाई मास्क लगाएर मात्रै यात्रा गर्न दिइने जनाएका छन्। 

यात्रु संख्याको आधारमा सवारी साधन पनि बढाउने व्यवसायीहरुको योजना छ। अध्यक्ष पन्तले भने, ‘यात्रुहरु कति आउँछन, त्यसका आधारमा सवारी संख्या बढाउँछौ।’ दुई सिटको एक लहरमा एकजना मात्रै यात्रु राखने व्यवस्था व्यवसायीले गरेका छन्। बस सेवा सञ्चालन भएपछि बस मर्मत गर्ने, सफा गर्ने कार्य समेत व्यवसायीले गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.