‘०२१ सालदेखि बसेका हामीलाई स्थानीय सरकार भगवान बन्‍यो’

|

इलाम : झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिका–६ पाटापुरका बासिन्दाले ६ दशकपछि जग्गाको धनीपुर्जा पाएका छन्।

सुकुम्बासीका रुपमा करिब ६ दशक बिताएका पाटापुरबासीको हातहातमा जग्गाधनीपुर्जा पुगेपछि खुशीको सीमा छैन। पाटापुरमा बसोबास गरिरहेका ८७ घर परिवारमध्ये २० परिवारले पहिलो चरणमा धनीपुर्जा पाएका हुन्। जग्गाधनी पुर्जा पाएपछि ६३ वर्षीय लालसिंह राईको खुसीको आँसु थामिएन।

‘सबैले सुकुम्बासी भनेर हेप्थे अब त हामी पनि जग्गाधनी भयौँ’ उनले भने, ‘बुबाले पेश गर्नुभएको थियो मेरो पालामा पाएँ। यो खुशी व्यक्त गर्ने शब्द नै छैन।

लालसिंहले ५६ वर्षपछि भोगचलन गर्दै आएको १३ रोपनी जग्गाको लाजपुर्जा पाएका हुन्।

विनिता राई अहिले हातमा धनीपुर्जा पाएपछि सुकुम्बासीबाट मुक्त भएकोमा एकदम खुशी छिन्। स्थानीय दिलबहादुर राराहाङको २०२० सालमा विवाह गरेर आएपछि उनले सुकुम्बासीझैँ बिताउनुपरेको थियो। उनको परिवारले भोगचलन गर्दै आएको १८ रोपनी जग्गाको धनीपुर्जा पाए।

सुकुम्बासी भनेर अब कसैले हेप्दैन

‘कति खुसी छु भनेर त कसरी भनौँ। सबैभन्दा खुसीको कुरो त अब कसैले पनि सुकुम्बासी भनेर हेप्दैनन्। हामीले जिताएको जनप्रतिनिधि हाम्रै लागि हो भन्ने बल्ल महसुस हुँदैछ’ उनले भनिन्, ‘जग्गा नहुँदा कसैले ऋणसम्म दिन मान्दैनथे। अब त बैंकमा जग्गा राखेर भए पनि केही काम गर्न सक्छौँ।’

२०२१ सालदेखि जग्गा फँडानी गरेर बसेका ७१ वर्षीय भक्तबहादुर राईलाई सुकुम्बासीको रुपमा सास जान्छ कि भन्ने चिन्ता थियो। तर, अहिले आएर हातमा धनीपुर्जा हुँदा एकदम खुसी लागेको बताए।

‘मर्ने बेलामा जग्गा धनी भएँ। अब त मर्दा पनि सुखले सास जाने भयो। खुसी त कति छ कति’ उनी भन्छन्, ‘यत्रो वर्ष धनीपुर्जा नपाउँदा अब त पाइँदैन भन्ने नै लागेको थियो। तर, अब नम्बरी जग्गा बन्यो मेरो।’

जीवनमा अनेकौँ समस्या

जंगल छेउमा बस्ती बनाएर बसेका पाटापुरवासीले जीवनमा अनेक समस्या भोग्नुपर्‍यो। विभिन्न समयमा वनका कर्मचारीले पटकपट दुःख दिन्थे।  ‘पहिला वनका कर्मचारीले तिमीहरूलाई खेदाउँछौँ भन्थे। पैसा माग्थे, नदिए हात्ती लगाएर धपाउनेसम्मको धम्की दिन्थे।’ स्थानीय कुमार राईले भने, ‘हातमा लालपुर्जा नहुँदा डर थियो अब त हातमा लालपुर्जा छ। कसैले उठाउन सक्दैन् यहाँबाट।’

दुई वर्षदेखि प्रक्रिया

गाउँपालिकाले २ वर्षअघि टंक थापाको संयोजकत्वमा व्‍यवस्थित बसोबास समिति बनाएर स्थानीयको समस्या समाधान प्रक्रिया अघि बढाएको थियो। विगत २३ वर्षदेखि आफ्नो नाममा जग्गा दर्ता भए पनि धनीपुर्जा पाउन नसक्दा निराश बनेका नागरिकहरुलाई  प्रक्रिया अगाडि बढेसँगै उत्साहित बनेका थिए।

८७ परिवारका करिब १८ सय रोपनी जग्गाको फिल्डबुक उतार गरि मालपोत कार्यलयले दर्ता गरेर पाटापुरवासीको समस्या समाधानतर्फ अघि बढाइएको थियो।

स्थानीय सरकारको समन्वयमा काम

पाटापुरमा ८७ मध्ये पहिलो चरणमा २० जनाले जग्गाधनी प्रमाणपुर्जा पाएको गाउँपालिका अध्यक्ष शमसेर राईले बताए। बाँकीको पनि नियमित प्रक्रियामा रहेको उनले बताए।

२० घर परिवारको धनीपुर्जा गाउँपालिकाले स्थानीयको घर–घरमा पुर्‍याएको थियो। ‘हामीले व्यवस्थित बसोबास समिति गठन गरेर सबै समस्याको जरो बुझेर प्रतिवेदन बुझाएको थियो’, उनले भने, ‘ विगत २ दशकभन्दा लामो समयदेखि पाटापुरको समस्या मालपोतमा रोकिएको रहेछ। सो प्रक्रियालाई स्थानीय सरकारको तर्फबाट समन्वय गरेर काम गर्‍यौँ। हाम्रो चाहाना जनताले कम खर्च र सास्ती नपाई धनीपुर्जा पाऊन् भन्ने हो।’

झापासँग सिमाना जोडिएको क्षेत्र भएकाले मालपोत कार्यालयसम्म पुग्न झापा पुगेर जानुपर्ने भएकाले सानो समस्याले फर्कनु नपरोस् भनेर मालपोतमा एक जना कर्मचारीको व्यवस्था गरिएको राईले बताए।

पाटापुरको सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया ०५२ सालदेखि नै सुरु भए पनि चासो गर्ने मान्छे नहुँदा सुकुम्बासीले धनीपुर्जा नपाएको रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले बताए।

‘सुकुम्बासी समाधान आयोगले २०५२ सालमै विभिन्न शर्तसहित जग्गा दिने निर्णय गर्‍यो। ती शर्तबारे हालसम्म न निर्वाचित जनप्रतिनिधिलाई थाहा भयो न स्थानीयलाई। त्यसयता स्थानीयले पनि बारम्बार आग्रह गरे।

नेताले पनि चुनावी नारासहित आश्वासन दिन छाडेनन्’, उनी भन्छन्, ‘म वडाध्यक्षको हैसियतले जनतासँग माफी माग्छु। यो काम २०५४ सालभित्र गरेको भए मालपोतमा भारी छुट हुने थियो। तर, खोजी गरिदिने कोही नभएकाले लघुवित्तबाट ऋण लिएर मोलपोत तिर्न जनता बाध्य भए।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.