संविधान राम्रै छ तर गलत व्यक्तिको हातमा पुग्‍यो

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गरेका छन्।  विगतका धेरै आन्दोलन र अभियानविरुद्ध उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने उनको बुझाइ छ। प्रस्तुत छ न्यूज एजेन्सी नेपालले पूर्व-प्रधानमन्त्री भट्टराईसँग समसामयिक राजनीतिबारे गरेको संक्षिप्त संवाद :

हामी कोरोनाको कहरमा छौं। तपाई एकपटक सरकारको नेतृत्वमा बसेर काम गरिसक्नुभएको मान्छे। अहिले कोरोना र सरकार कसरी हिँडिरहेका छन्? तपाईंको विश्लेषण के छ?

कोरोना तपाई हाम्रो जीवन कालको सबैभन्दा ठूलो त्रासदीको रूपमा आएको प्रष्टै छ। यस्तो बेलामा यो प्राकृतिक कारणले आउने हो र यसको पछाडि जीव विज्ञान र भौतिक विज्ञानको खास नियमले काम गरेका हुन्छन् भन्‍ने कुरालाई बुझेर त्यस अनुरुपको नीति बनाउनुपर्थ्यो। यसको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्‍ने बुझेर राज्यले सुरुदेखि नीति अपनाउनुपर्थ्यो। 

क्रान्तिले बिगारेको होइन, क्रान्ति अपूरो गरी बिग्रेको हो। क्रान्ति भनेको त संरचनात्मक जुन परिवर्तन हो आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक राज्य व्यवस्थाको समग्र जुन परिवर्तन आउनुपर्थ्यो त्यो हाम्रो पूरा भएको थिएन।

तर, दुर्भाग्य हाम्रो राजनीतिक नेतृत्व खासगरी प्रधानमन्त्रीमा जुन प्रकारको अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल म देख्छु त्यसले गर्दा उहाँले यसको गम्भीरतालाई बुझ्न सक्नुभएको छैन। उहाँले आफ्नो महानता, बडोपन देखाउनलाई नचाहेको जस्तो गरेर अन्यत्र मोडिदिनुहुन्छ। त्यो कारणले गर्दा सुरुदेखि नै ठिक नीति बनेन। यो केही पनि होइन हाँच्छ्यु गरेर जान्छ भन्‍ने ढंगले भन्नुको अर्थ के थियो भने यसको खास तयारी गर्नु पनि आवश्यक छैन मैले केही पनि नगर्नु स्वाभाविक हो मैले बुझेरै गरिराखेको छु भनेजस्तो उहाँले गर्नुभयो।

जबकि त्यस्तै अमूर्ख (विद्वान्) शासकहरूले विभिन्‍न अरू देशमा पनि गरिराखेका छन्। त्यो कारणले गर्दा सुरुदेखि नै बिग्रिइहाल्यो। अरूको देखासिकी गरेर बन्दाबन्दी गर्नेसम्मको उहाँले गर्नुभयो। लकडाउन भनेको त समाधान त होइन।

त्यो त तयारीको निम्ति थियो वास्तवमा जनतालाई सतर्क बनाउने र राज्यले त्यो किसिमको आवश्यक तयारी गर्ने जस्तै परीक्षणका तयारी, कन्ट्याक्ट ट्रेसिङका तयारी, र सुरक्षित ढंगले चिकित्सा क्षेत्रमा कार्य गर्ने मान्छेहरूको तयारी गर्ने कुरा, क्वारेन्टाइन र आइसोलेसनको उचित व्यवस्थापन गर्ने कुराहरू र स्वास्थ्यसम्बन्धी

उपकरणहरूको व्यवस्था गर्ने कुराहरू र संघ, प्रदेश र स्थानीय तहहरूमा उचित कार्य विभाजन गरेर त्यसको व्यापक तयारी गर्नुपर्थ्यो। सँगै ठूलो जनसंख्या भारत, मध्यपूर्व र मलेसियातिर छन् र उनीहरू पनि त्यहाँबाट आउन सक्छन्। उनीहरू आउँदा रोगको र आर्थिक समस्या पर्नसक्छ भन्‍ने बुझेर योजना बनाउनु पर्थ्यो। सरकारले योजना नै बनाएन।​

बजेटमा केही नयाँ आउँछ कि भनेर मानिसहरू बसे त्यो पनि आएन। त्यसपछि पनि उहाँहरू त्यत्तिकै जानुभयो यो मुख्य राजनीतिक नेतृत्वकै कारणले हो र त्यसमा पनि मुख्य प्रधानमन्त्रीको अक्षमता, अहंकारले नै हो भन्‍ने मलाई लाग्छ।

त्यसो भए अहिलेको समाज विज्ञान कोरोनाको कारणले गर्दा कतातिर जाँदैछ? कोही बोल्न सकिरहेको छैन तर अवस्था बिग्रिसक्यो भन्छन्। यसमा तपाईंको विश्लेषण के छ?

हाम्रो मनोविज्ञान कस्तो भयो भने सुरुदेखि नै कोही मान्छेले क्रान्ति र परिवर्तनले गर्दा बिग्रियो भन्छन्। मैले निरन्तर भन्छु मैले हिजो मात्रै पनि ट्वीट गरेको छु, तपाईं हेर्न सक्नुहुन्छ। क्रान्तिले बिगारेको होइन, क्रान्ति अपूरो गरी बिग्रेको हो। क्रान्ति भनेको त संरचनात्मक जुन परिवर्तन हो आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक राज्य व्यवस्थाको समग्र जुन परिवर्तन आउनुपर्थ्यो त्यो हाम्रो पूरा भएको थिएन।

प्रधानमन्त्री बेठीक हुनुभएको छ, उहाँले गलत गरिराख्नुभएको भन्‍ने मान्छेलाई थाहा छ। तर, मान्छे किन डराउँछ? विपक्षी दल किन बोलिराखेको छैन? र अरू दलहरू बाहिरका मान्छे कनि बोल्दैनन्? ती पार्टीभित्र पनि असन्तुष्टि भएकाहरू किन बोल्दैनन्? भने राज्यसत्ताको अलिकति आड भएन भने टिक्नै गाह्रो, पार्टी चलाउन पनि गाह्रो, आफ्नो आर्थिक व्यवस्थापन गर्न पनि गाह्रो छ त्यसैले पनि ओली सरकारविरुद्ध कोही नबोलेका हुन्।

हाम्रो समाज अलिकति शक्तिपूजक छ। शक्तिबाट अलिकति टाढा गयो भने मान्छेले गन्दैन भने हामी जस्तो एकाध मान्छेहरू त एउटा विद्रोही चेतको कारणले गर्दा बोल्छौँ तर धेरै मान्छेमा त्यो आँट छैन।

त्यो कारणले गर्दा यो गल्ती भइराखेको छ भनेर बुझ्दा बुझ्दै पनि मान्छेले बोल्न सकिराखेका छैनन्, यसको प्रतिरोध हुनसकेको छैन।

आखिर केही युवाहरूले केही पढेलेखेका मान्छेहरूले ‘इनफ इज इनफ’ भनेर अलिकति गर्न खोज्छन् सर्फेसियल्ली उनीहरूले गरेका छन् तर त्यसको संरचनात्मक जरो नै उखेलेर उधिन्ने ढंगले जाने चेतना फेरि उनीहरूको छैन। त्यो त राजनीतिक नेतृत्वले गर्ने हो, विपक्षी दलहरूले गर्ने हो, वैकल्पिक शक्ति बनाउने राजनीतिक दलहरूले गर्ने हो। नागरिक समाज जुन हामी भन्छौं, पब्लिक इन्टलेक्च्युअल त्यसले गर्ने हो। तर, हामी सबै राजनीतिक सत्ताबाट नै केही न केही प्राप्त गरेर गुजारा गर्ने वर्ग भएको हुनाले यो समस्यालाई उधिन्‍न नसकेको र मुख्य जरो त्यहाँ हो।

सरकारले गल्ती गरेको छ नै त्यसको प्रतिरोध गर्ने शक्ति पनि अगाडि आएन। यही कारणले गर्दा आएन।

आर्थिक अवस्थाबारे भर्खरै निवर्तमान अर्थमन्त्रीबाहेक कसैले बोलेनन्। हामी कस्तो अवस्थामा छौं, ठिक छौं या जर्जर भइसकेका छौं? या सत्ताले जस्तो चाह्यो त्यस्तो देखिराखेका छौं। कस्तो अर्थ व्यवस्था देख्नुहुन्छ?

अर्थतन्त्रका हिसाबले गम्भीर छ। सुरुदेखि नै प्रक्षेपणहरू फरक–फरक आइराखेका छन्। तैपनि नेपालको अर्थतन्त्र ठूलै संख्यामा १३ प्रतिशतले खुम्चिन्छ भनेर त्यसरी आएको हो। पछि सरकारको तथ्याङ्कले झण्डै २ दशमलव २८ ले खुम्चियो भनेर भन्यो।

त्यसरी हेर्दा मलाई के लाग्छ भने त्योभन्दा बढी खुम्चिएको छ। तर, कम देखिएको कारण के हो भने एउटा हाम्रो जुन निर्वाहमुखी कृषि छ गाउँमा फर्केर बस्दा मान्छेको गुजारा चलेको छ, दोस्रो जुन रेमिट्यान्समा काम गर्न जाने जुन मान्छे हुन हाम्रा खासगरी मलेसिया, खाडी मुलुकतिर जाने मान्छे र भारततिर जाने मान्छेहरू जो अनौपचारिक क्षेत्रमा काम गर्छन् र उनीहरू घरायसी श्रमिकको रुपमा काम गर्छन्।

सत्ता कसैले गुमाउन चाहँदैन बाँडीचुँडी गरेर खाने भन्‍नेतिर नै गइरहेको छ। उहाँहरू फेरि केपी ओलीलाई नै आउँदो अढाई वर्ष नै दिने भन्‍ने निष्कर्षमा पुग्नुभयो त्यसले गर्दा नेकपा भित्रैबाट अग्रगामी विकल्प आउँछ कि भन्‍ने बाटो हरायो।

ठूलाठूला उद्योगधन्दा बन्द भएका हुन् तर त्यहाँ घरायसी श्रमिकहरूको त माग छ त्यो कारणले गर्दा जति संख्यामा उनीहरू विस्तारै घर फर्किन्छन् भन्‍ने जुन आँकलन थियो त्यो त्यति फर्किएन र रेमिट्यान्समा पनि केही कमी त आयो तर सोचेजस्तो ह्वात्तै आएन। त्यो कारणले गर्दा जेनतेन धानिएको हो। तर त्यो समाधान त होइन। यो त गुजारामुखी अर्थतन्त्र भयो। तर गुजाराले मात्रै देश त चल्दैन। त्यसैले अर्थतन्त्र गम्भीर अवस्थामै छ।

हाम्रा पर्यटनदेखि लिएर साना मध्यम उद्योगहरू र ठूलो मात्रामा कम भने पनि ६० प्रतिशत गतिविधि घटेको छ भनेर आधिकारीक तथ्यांकले भनेको छ। त्यो हिसाबले गर्दा अर्थतन्त्र खुम्चिएको छ। बेरोजगारी दर बढेर गएको छ र आगामी दिनमा यसको असर त झन बढ्दै जान्छ। विश्वव्यापी र क्षेत्रीय अर्थतन्त्रको र भारतीय अर्थतन्त्रको हाम्रोमा असर पर्छ।

त्यसो भए अर्थ व्यवस्था जर्जर छ। सरकारविरुद्ध कोही बोल्न सक्दैन। यो के हो भन्‍ने पनि थाहा छैन। प्रतिपक्षले पनि आफ्नो भूमिका अगाडि देखाउन सकेको छैन। अब कस्तो नेपाल देख्ने हामीले? अब कहाँ पुग्ने?

म त अलि आशावादी मान्छे, अनि अलिकति क्रान्तिकारी ढंगले सोच्ने मान्छे। मेरो दृष्टिले के देखिराखेको छ भने क्रान्तिको प्रवाह छलमय ढंगले अगाडि जान्छ माथि आउँदै तल आउँदै जान्छ। अहिले विश्व्यापी रुपमा नै एउटा जुन खालको पुँजीवादी अर्थतन्त्रको संकट छ त्यो कुरा असमानताको कारणले गर्दा मागहरु खुम्चँदै छ र चीन लगायतका केही ठाउँहरू जुन पछिल्लो विकसित छन् ती बाहेकका अरू सबै अर्थतन्त्र भारतसम्म पनि ठूलो संकटतिर जाँदैछ।

त्यसैले जब संकट आउँछ त्यतिबेला शासक वर्गले ध्यान अन्यत्र मोड्नलाई राष्ट्रवादका कुरा गरेर जनताको ध्यान अन्तै मोड्न सक्छ।

दोस्रो विश्वयुद्धको सुरुमा पहिलो विश्वयुद्धपछि इटली जर्मनीमा हिटलर मुसोलिनीहरूले पनि त्यसरी नै उग्र राष्ट्रवादको नारा देखाएर ध्यान अन्यत्र मोड्न कोसिस गरेका थिए।

अहिले अमेरिकाको राजधानीदेखि लिएर बेलायत र भारत हुँदै नेपालसम्म हेर्नुभयो भने शासकहरूले अन्यत्र ध्यान मोड्न खोजिराखेका छन्। कहिले सिमानाका समस्यालाई ल्याएर कहिले अरू कुराहरू ल्याएर ध्यान अन्यत्र मोड्ने कोसिस गरेका छन्। तर, अन्तिम कुरा मान्छेको रोजगारी र पेट पाल्नुपर्ने कुरा आउँछ। जब त्यो असह्य हुन पुग्छ त्यतिबेला जनताले कुरा बुझ्छ र फेरि नयाँ खालको विस्फोट आउँछ भन्‍ने म देख्छु।

त्यसैले यो आँधी अगाडिको सन्नाटा हो जस्तो मलाई लाग्छ। छिट्टै नै अन्तर्राष्ट्रिय रुपमा पनि उथलपुथल ढंगले यो अगाडि जान्छ र हाम्रो क्षेत्रमा र नेपालमा चाँहि यो दिगो हुनै सक्दैन।

त्यसो भए सरकारलाई कहाँबाट सुधार गर्ने, अथवा सरकारको विकल्प खोज्नुपर्ने हो कि?

अब लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र नै हो। अलोकतान्त्रिक र अन्यतिर त सोच्नै हुँदैन। अहिले भर्खरै संविधान बनेको पाँच वर्ष पुग्दैछ त्यसको समीक्षा पनि हुँदै गर्ला।

यो संविधानमा कमीकमजोरीका बाबजुत पनि धेरै सकारात्मक कुरा यसमा छन्। तर यसको कार्यान्वयन गर्ने जिम्मा यो संविधानका आधारभूत अन्तरवस्तुहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीता त्यसको विरोधी मान्छेको हातमा नेतृत्व गइदियो।

केपी शर्मा ओली भनेको झापा आन्दोलनको बेलादेखि नै, माओवादी जनयुद्ध र शान्ति प्रक्रिया सबैको विपक्षमा उभिएको मान्छे हो। मूल एजेन्डाभन्दा फरक ढंगले उभिएको मान्छे हो। तर, प्रकारान्तरले क्षणिक राष्ट्रवादको नारा उहाँले लगाएर सत्तामा पुगिहाल्नुभयो। पार्टी ठूलो पनि भयो दुईतिहाइको झण्डै नजिक पनि रह्यो भनेपछि यसलाई त अरू तरिकाले हटाउने ठाउँ त छैन त्यही पार्टी भित्रैबाट नेतृत्व परिवर्तन गर्न योभन्दा सुधारात्मक ढंगले परिवर्तन गर्न सक्नुपर्थ्यो।

तर, नेकपाले सकेन। उहाँहरूको अलिकति अन्तरविरोध चल्दै थियो। तर पनि सत्ता कसैले गुमाउन चाहँदैन बाँडीचुँडी गरेर खाने भन्‍नेतिर नै गइरहेको छ। उहाँहरू फेरि केपी ओलीलाई नै आउँदो अढाई वर्ष नै दिने भन्‍ने निष्कर्षमा पुग्नुभयो त्यसले गर्दा नेकपाभित्रैबाट अग्रगामी विकल्प आउँछ कि भन्‍ने बाटो हरायो।

अब यसको विकल्प भनेको लोकतान्त्रिक शक्ति, अग्रगामी प्रवृत्तिको शक्ति तिनीहरूले नै सहकार्य गरेर यसको विकल्प दिने कोसिस गर्नुपर्छ।

त्यो भनेको डेमोक्रेटिक एलायन्स हो?

हो डेमोक्रयाटिक पनि भयो र नेकपाभित्र पनि यही रूपको रहँदैन भन्‍ने मलाई लाग्छ। किनकि त्यहाँ कमसेकम माओवादी आन्दोलनको पृष्ठभूमि भएका मान्छेहरू अलिकति अग्रगामी प्रकृतिका सोच राख्ने मान्छे हुन् ती पनि बाध्यताले खुम्चिएर त्यहाँ बसिराखेका छन्।

एमालेभित्रको पनि एउटा तप्का केपी ओलीको चरम निरङ्कुश र सबै ढंगले कुशासन युक्त जुन सत्ता छ त्यसबाट चाँहि वितृष्णा भएको तप्का पनि त्यहाँ देखिन्छ। नेपाली कांग्रेस पनि लोकतान्त्रिक पार्टी हो त्यहाँ कुनै निश्चित हात त छैन सबै खालको प्रवृत्ति त्यहाँ छन् तर त्यसभित्रका पनि अलिकति अग्रगामी प्रकृतिको सोच राख्ने शक्तिहरू आवाज उठाउन थाल्छन्।

नयाँ पढेलेखेका वर्ग पनि आउँदैछ र हाम्रो सार्वजनिक बौद्धिकहरूको समूह हो जुन अहिलेको सोसियल मिडियाले पनि केही आपसमा नजिक ल्याउँछ। यी सबै जोड्दा फेरि यो सरकारमाथि एउटा विकल्प दबाब चाँहि बन्छ र एउटा विकल्प आउनसक्छ जस्तो मलाई लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.