|

धनगढी : चैत १० गतेबाट देशभर जारी गरिएको लकडाउन र त्यसपछिको करिब एकमहिने निषेधाज्ञा हटेपछि सुदूरपश्चिमको धनगढीमा पनि चहलपहल सुरु भएको छ।  

झण्डै १ सय ७८ दिनपछि लामोदूरीका सवारीसाधन आजबाट सञ्चालन भएका छन्। लामो समयपछि यातायात सेवा सञ्चालनमा आएपछि धनगढी बसपार्क क्षेत्रमा चहलपहल बढेको छ । गाडी चालक र सहचालकहरु यात्रु कुरेर बसपार्क बाहिर टिकट काउन्टरमा बसिरहेका थिए । कोही गाडी सरसफाइमा लागेका थिए । 
अधिकांश होटल सञ्चालक पनि होटलको सरसफाइमा व्यस्त देखिन्थे। 

लामो समय बन्द हुँदा सबैभन्दा ठूलो मार खेपेको यातायात र होटल व्यवसायीका अनुहारमा खुसी भने थिएन। सुरुको दिन भएकाले बस सेवा सुरु भयो भने पनि मानिसहरुको गतिविधि कम देखिन्थ्यो। 

कोरोना भाइरसको संक्रमण थपिने क्रम थामिएको छैन, तर यातायात व्यवसायी यात्रु र होटल सञ्चालक ग्राहक आउलान् भन्ने आशामा देखिएका थिए। बसपार्क बाहिर यात्रु कुरिरहेका सहचालक रमेश रावतले भने, ‘कोही आएका छैनन्, सरकारले आधा मात्रै लग्नु भनेको छ, आधा पनि मान्छे छैनन् के लगेर जानु, यात्रु आए त हामी तयारी अवस्थामा नै थियौं ।’ 

त्यस्तै, सरकारले मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने निर्देशन दिएपछि बसपार्कमा टिकट काउन्टर पनि त्यहीअनुसार बनाइएको छ। टिकट लिन मानिसको भीड हुने र कोभिड–१९ संक्रमण फैलिन सक्ने भन्दै चुनाको घेरा र डोरी बाधेर भौतिक दूरी कायम गर्ने व्यवस्था बनाइएको छ। 

सुदूरपश्चिम यातायात कार्यालयको टिकट काउन्टरमा काम गर्ने कर्मचारी सीता ढकालका अनुसार शुक्रबार धनगढीबाट लामोदूरीका १० वटा बस छुटेका छन् । काठमाडौंका लागि २० जनाले टिकट लिएका र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ५० जना जति यात्रुले टिकट लिएको उनले बताइन् । छोटोदूरीका सवारी भने २० देखि २५ वटा छुटेका छन्। 

होटलहरू पनि खुले 

सरकारले स्वास्थ्य सावधानीका उपायहरु अपनाउँदै होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाउने भनेपछि धनगढी बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र खाजा घर सञ्चालनमा आउन थालेका छन् । बसपार्कमा यात्रु, गाडी चालक, सहचालकको चहलपहल बढेपछि होटल व्यवसायीले पनि होटलहरु खोल्न थालेका हुन्। 
होटल न्यु इराका सञ्चालक धमेन्द्र खातीले झण्डै ६ महिनादेखि बन्द होटल शुक्रबारदेखि खोलेको बताए। उनले सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै होटलबाट नियमित सेवा दिन थालेको बताए। 

खातीले भने, ‘गाडी नचल्दासम्म होटल खुलाउनु र नखुलाउनु उस्तै हो, कोरोनाको डर त लाग्छ तर के गर्नु, होटलको भाडा तिर्न भए पनि खोल्नै पर्यो ।’ 
यस्तै धनगढी बसपार्कमै रहेको नवीन होटलपनि सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै होटलबाट नियमित सेवा दिन थालिएको नवीन कुवँरले बताए। 

‘बसपार्कमा अन्य ठाउँजस्तो हुँदैन्, गाडी चल्यो होटल चल्यो, गाडी चलेन होटल पनि बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने ‘सरकारले गाडी मात्रै सञ्चालन गरे यात्रु समस्यामा पर्छन्, हामीले होटल खोल्नैपर्ने हुन्छ।’ 

बसपार्कमा रहेका अछाम होटल, लालिगुराँस होटल, धनगढी बझाङ गेष्ट, साफेबगर होटललयायत होटलहरु पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ३१ गतेदेखि निषेधाज्ञा खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा जारी आदेशमा अर्को आदेश नहुँदासम्म स्वास्थ्यसम्बन्धि सावधानी अपनाएर होटल, रेष्टुरेन्ट र खाजा घरहरुमा भिडभाड नगर्ने र सामान्य रुपमा सञ्चालन गर्न पाउने भनिएको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्म भने कैलाली जिल्लामा हिँड्डुल गर्न नपाउने निणर्य गरिएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.