|

स्याङ्जा : बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ।

नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो। नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा चार करोड २१ लाख रुपैयाँ राजश्व सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

'बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक/नजिक पुग्ने गरी राजश्व सङ्कलन भएको छ,' नगरप्रमुख खाँणले भने। नगरपालिकाले आव २०७६/७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट ८९ लाख ५९ हजार १५५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ। उक्त शीर्षकबाट नगरपालिकाले एक करोड २० लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने अनुमान गरेको थियो।

नगरपालिकाले सिफारिस दस्तुरबाट ५३ लाख ५८ हजार ७९५, एकीकृत सम्पत्ति करबाट ४९ लाख १५ हजार ७९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ४२ लाख ८७ हजार ४९४, नक्सापास दस्तुरबाट ३२ लाख ४९ हजार ६४५, घरबहाल करबाट ३० लाख ६६ हजार ४५३, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाइ) बाट १९ लाख ७४ हजार ४७०, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजश्व बाँडफाँड भई प्राप्त भएको १८ लाख ५३ हजार ८२० रुपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए।

नगरपालिकाले आव २०७५/७६ मा चार करोड १२ लाख ५५ हजार ७८७ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो। उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट एक करोड १० लाख ७१ हजार ६४३, सिफारिस दस्तुरबाट ६२ लाख ७९ हजार ३४७, एकिकृत सम्पत्ति करबाट ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट ४३ लाख ५६ हजार घर बहालबाट ३४ लाख ९२ हजार २३४ र अन्य दस्तुरबाट ३० लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.