रेलमार्ग भारतकै अनुदान सहयोगमा निर्माण

|

काठमाडौं : चेन्‍नईमा बनाइएका दुईवटा डिजेल, इलेक्ट्रिक मल्टिपल युनिट (डिईएमयु) रेल शुक्रबार धनुषाको जनकपुरधाम आइपुगेका छन्। चेन्‍नईस्थित कोंकन रेल्वे कर्पोरेसनले बनाएका यी दुई रेलको स्वागतमा शुक्रबार हजारौँ जनकपुरबासी स्टेशनमा उत्रिएका थिए। 

अगाडि पछाडि दुवैतर्फ इन्जिन रहेका यी दुई रेललाई डिजेल र बिजुलीबाट पनि चलाउन सकिन्छ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चलाइने रेल सेट नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोंकनमा बनाएको हो। 

रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले यी दुई रेल नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा किनेको बताएका छन्। भट्टराईका अनुसार यी दुई रेल नेपाल ल्याउन १८ करोड रुपैयाँ त भन्सार र भ्याट नै तिरिएको छ। 

रेल ल्याउने सम्झौता

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले सन् २०१० भारत भ्रमण गर्ने क्रममा रेलमार्ग बनाउने समझदारी भएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकार रहेका बेला भारतीय प्रधानमन्त्री मनमोहन सिंह सरकारसँग दुई देशबीचका पाँचवटा नाकामा अन्तरदेशीय रेलमार्ग निर्माणको समझदारी गरिएको थियो।​

त्यो सम्झौतासँगै सात अर्ब रुपैयाँमा यी रेलमार्ग बनाउने गरी काम अघि बढेको थियो। जनकपुर-जयनगर रेलमार्ग सम्झौताको चार वर्षपछि निर्माण अघि बढेको हो। 

जनकपुर-जयनगर हुँदै कुर्था पुग्‍ने रेलमार्ग दुई वर्षअघि नै बनिसक्नुपर्ने थियो। अर्कातिर यी दुई रेल २०७७ पुसमै आएर फागुनदेखि सञ्‍चालनमा आउनुपर्ने थियो। तर रेलमार्ग निर्माण र रेल किन्‍ने प्रक्रियामा ढिलाइ हुँदा रेल त आए सञ्चालनको अझै टुंगो लागिसकेको छैन। 

खरिद सम्झौता

रेलमार्ग बन्दै गर्दा एउटामा चार डिब्बा भएका यी दुई रेल खरिदका लागि भारतको कोंकन कम्पनी र नेपालको २०७६ वैशाख २५ मा सम्झौता भएको थियो। एक हजार तीन सयसम्म यात्रु बोक्न सक्ने यी रेल किन्‍नका लागि त्यसबेला ८४ करोड ६५ लाख रुपैयाँमा सम्झौता भएको थियो। 

रेल विभाग र भारतको कोंकन रेलवेज कर्पोरेसन लिमिटेडबीच जयनगर (भारत)-जनकपुरको कुर्था (नेपाल) चल्ने दुई रेल खरिदसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंहको उपस्थितिमा शुक्रबार दुई देशका अधिकारीले दुईवटा डिईएमयु (डिजेल-इलेक्ट्रिक मल्टिपल युनिट) रेल खरिद गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

सहमति अनुसार नेपालले खरिद गर्ने रेल पाँच डिब्बाको हुने उल्लेख थियो। तीमध्ये दुई वटामा इन्जिन हुनेछन् भने बाँकी तीनवटा वातानुकुलित यात्रुवाहक डिब्बा हुने जनाइएको थियो।​

नेपालले खरिद गरेका रेल भारतको चेन्‍नई (तमिलनाडू) स्थित इन्टिग्रेटेड कोच फ्याक्ट्रीले उत्पादन गरेका हुन्। जयनगर-कुर्था रेलमार्ग पनि भारतीय अनुदानमै निर्माण गरिएको हो।

भारतीय रेल मन्त्रीले यसो भने

तर भारतीय रेल्वे मन्त्री पियुष गोययले भने भारत सरकारले नेपाललाई दुईवटा रेल दिएको बताएका छन्। दुईवटा रेल शुक्रबार जनकपुर आइपुगेपछि उनले सामाजिक सञ्‍जाल ट्वीटरमा दुईवटा आधुनिक रेल नेपाललाई दिइएको दाबी गरेका छन्। तर उनले बेचेर दिएको वा अनुदानमा दिएको कुरा खुलाएका छैनन्।

'नेपालसँग प्राचीन सांस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै यस सम्बन्धलाई नयाँ आयाम दिने गरी नेपाललाई दुईवटा रेल सेट हस्तान्तरण गरिएको हो', उनले भनेका छन्। 

कोंकनको भनाइ

नेपाललाई दिइएका दुईवटा रेल सेट अत्याधुनिक रहेको चेन्‍नईस्थित यी रेल निर्माता कम्पनी कोंकनले दाबी गरेको छ। नेपाल-भारत अन्तरदेशीय रेल सञ्‍जाल विस्तारका लागि दुई सेट आधुनिक डिइएमयु रेल बिहारको जयनगर र नेपालको कुर्थासम्म सञ्‍चालनका लागि हस्तान्तरण गरिएको जनाएको छ। यसबाट दुवै देशका नागरिकलाई फाइदा मिल्ने कम्पनीले उल्लेख गरेको छ।

तयारी 

यस्तोमा सरकारले भारतीय सहयोगमा रेलमार्ग चाहिँ बनाएको तर दुई रेल सेट भने खरिद गरिएको जनाएको छ। महाप्रबन्धक भट्टराईले रेलमार्ग यसअघि नै भएको सम्झौता अनुसार भारतीय सहयोगमा तयार भएको बताए। 

नेपाल यी दुई रेल भारतबाट जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) खरिद प्रक्रियाबाट भित्र्याएको हो। सरकारले उपलब्ध गराएको बजेट अनुसार किनिएका रेलको रकम पनि कम्पनीलाई तिरिसकिएको रेल विभागले जनाएको छ।

रेल चलाउन रेल्वे विभागले केही दिनअघि मात्रै १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.