|

म्याग्दी : सडकको पहुँच पुगेपछि जताततै सिमेन्टका ठूला भवन ठड्याउने लहर चलेको समयमा गाउँघरमा ढुङ्गाले छाएका चिटिक्कका घरहरु देख्न हम्मे-हम्मे पर्न थालेको छ। तर, पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने रुम र धवलागिरि गाउँपालिकामा पर्ने मुदी गाउँ अहिलेसम्म पनि 'ढुङ्गे घरको गाउँ' भनेर चिनिन्छन्।

म्याग्दीको रुम र मुदीमा अहिलेसम्म कंक्रिटको बिल्डिङ ठड्याउने रहर कसैमा देखिएको छैन। परम्परागत निर्माण सामाग्रीको प्रयोग गरी आधुनिक किसिमका घरहरु बनाउँदा यी गाउँको पहिचान जिल्लामा बेग्लै किसिमको रहेको छ।

रुम गाउँ स्लेट ढुङ्गा (घर छाउने ढुङ्गा) को खानी भएको गाउँ हो। करिब डेढ दशकअघिसम्म रुमको घर छाउनी ढुङ्गा म्याग्दीका विभिन्न गाउँहरूका साथै बागलुङ,पर्वत र पोखरासम्म पुर्‍याइन्थ्यो। ढुङ्गा-माटाको घरमा ढुङ्गा कै छानो छाएर निर्माण गरिएका घर त्यो समयमा सम्पन्नता र सुविधाका पहिचान मानिन्थे।

वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले समेत अत्यन्त उपयोगी यस्ता घरहरु पछिल्लो समय कम हुँदै जान थालेका छन्। धनी र सम्पन्न व्यक्तिले पक्की घर (ढलान घर) बनाउने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले जस्तापाताले छाएर घर निर्माण गर्ने क्रम बढेपछि ढुङ्गे घर अब दुर्लभ हुँदै जान थालेका हुन्।

म्याग्दीमा गुर्जा, मुदी, रुम,ओखरबोट, झीँ, दोवा लगायतका गाउँहरुमा बाक्लै ढुङ्गे घर रहेता पनि अन्य गाउँहरुमा भने कंक्रिट र जस्तापाताले छाएर घर निर्माण हुने क्रम तीव्र रूपमा बढेको छ।

ढुङ्गे घरले वातावरणलाई  सन्तुलित राख्नुका साथै गाउँको सौन्दर्यलाई समेत उजिल्याइदिने म्याग्दीको वन तथा वातावरणका विज्ञ चन्द्रमणि सापकोटाले बताए।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.