|

  • भुपाल थापा-

कपिलवस्तु :  कपिलवस्तुमा स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार अपहरणमा परेको १८ घण्टापछि रिहा भएका छन्। गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिङ्गेका अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) उम्मेद्वार आशिष चौधरी शनिबार साँझ अपहरणमा परेका थिए। उम्मेद्वारको मनोनयन दर्ता गरी घर फर्कदै गर्दा बेलुकी ६ बजेतिर गोरुसिङ्गेस्थित लुम्बिनी होटलमा एमाले निकटका विद्यार्थी संगठनका ब्यक्तिले बोलाएर अपहरण गरेका थिए।

अपहरण गरेर उम्मेद्वारी फिर्ता नलिए ज्यान मार्ने धम्की दिएको अपहरणमा परेका विद्यार्थी नेता चौधरीले बताएका छन्। एमाले निकट अनेरास्ववियुले अपहरण गरी रातभर मानसिक तनाव दिएको र उम्मेद्वारी फिर्ता लिन धम्की दिएका चौधरीले बताए। अहिले आफ्नो संगठनका विद्यार्थी नेतासंगको सम्पर्कमा रहेको नेकपा माओवादी केन्द्रका स्थानीय नेता घनश्याम भट्टराईले बताए। आइतबार दिउँसो १२ बजे क्याम्पसको परिसरमा ल्याएर छोडेर फर्कदै गर्दा युवासंघ नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) बीच केहीबेर झडप समेत भएको थियो।

नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले चौधरीको गुन्डागर्दी शैलीमा अपहरण अपहरण गरेको दावी गर्दै अखिल (क्रान्तिकारी) कपिलवस्तुका संयोजक शिव बन्जाडेले तत्काल अपहरणकारीलाई कारवाहीको माग गरेका छन्। क्रान्तिकारीले घटनामा संलग्न ब्यक्तिलाई तत्काल कारवाही गर्न माग गर्दै जिल्लाका सबै क्याम्पसमा तालाबन्दी गरेको छ।

अनेरास्ववियुका जिल्ला इन्चार्ज टुकलाल गैरेले अपहरण नगरिएको दावी गरेका छन्। चौधरीको पारिवारिक राजनीतिक पृष्ठभुमि एमालेको भएकाले बाबाआमाको आग्रह विपरीत अनेरास्ववियु क्रान्तिकारीबाट उम्मेद्वारी दिएकाले सोधपुछ गरिएको बताए। घटनाबारे बुझ्न कपिलवस्तुका क्षेत्र नं. १ का सांसद बलराम अधिकारी सहित युवासंघका कार्यकर्ता क्याम्पसमा पुगेका थिए।

अपहरणमा परेका चौधरी आत्तिएको जस्तो गरी अधैर्यतापन देखिने गरेको इलाका प्रहरि कार्यालय गोरुसिङगेका प्रहरि निरीक्षक मिन बहादुर घलेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

अपहरण गरी छोडेको र दिउँसो झडप भएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको प्रहरी टोली क्याम्पसमा पुगेको थियो। क्याम्पसमा प्रहरी पुगेपछि अनेरास्ववियु र युवासंघका कार्यकर्ता भागेका थिए। घटनाबारे सत्यतथ्य बुझी जानकारी गराइने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मिनबहादुर घलेले बताए। अपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याइनुपर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.