|

कञ्चनपुर  : महाकाली नगरपालिकाको लाइफलाइनका रुपमा रहेको झोलुङ्गे पुलदेखि कुतियकभरसम्मको साढे एघार किलोमिटर सडक कालोपत्रेको कार्य पूरा भएको छ।

स्थानिय बासिन्दाको आवागमनलाई सहज बनाउन वटासिल प्रविधिमा आधारित सडक कालोपत्रे गरिएको हो। राष्ट्रिय ग्रामीण सडक शुदृढीकरण कार्यक्रम ( एसएनआरटिपि) अन्तर्गत ६ करोड रुपैयाँ लागतमा सडक कालोपत्रे गरिएको नगरपालिकाका इन्जिनयिर दीपेन्द्रराज भट्टले बताए। कालोपत्रेको कार्य गरिएपछि यस क्षेत्रका बासिन्दाको आवागमनमा निकै सुविधा पुगेको छ।

‘विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण हिँड्डुल गर्न समेत मुस्किल हुन्थ्यो,’ स्थानीय सर्वजित बुढाले भने, ‘सडक कालोपत्रे भएपछि सहज रुपमा सवारीका साधन गुडाउन पाएका छौं।’

कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि लान समेत सहज भएको स्थानीयहरु बताउँछन्। ‘दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समेत विगतमा हम्मेहम्मे पर्दथ्यो,’ दलबहादुर सुनारले भने, ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडकको अबस्थमा सुधार गरी कालोपत्रे गरिएपछि एक छिनमै स्वास्थ्य केन्द्र पुग्न सकिने भएको छ।’ सडक कालोपत्रे भएको क्षेत्रको जग्गाको मूल्य समेत विगतको तुलनमा तेब्बर बढीले बृद्धि भएको छ। 

पाँच वर्षदेखि स्तरोन्नतिको कार्य हुन नसकेको बयलबन्द कुत्तियाकभर सडक समेत चालु आर्थिक वर्षदेखि कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाइएको छ।

‘ठेकेदारको ढिलासुस्तीका कारण २८ किलोमिटर कृषि सडक निर्माणको कार्य अगाडी बढन सकेको थिएन,’ नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले भने, ‘चालु आर्थिक वर्षदेखि सडकमा कालोपत्रे गर्नका लागि बेस राख्ने कार्य शुरु भएको छ।’

सडक कालोपत्रेको कार्य गर्नका लागि ठेकेदारले दुई वर्षको थप म्याद पाएकाले सडक निर्माणको कार्य निर्धारित समयमै पूरा हुने उनले बताए । सडक कालोपत्रे गर्नका लागि ३२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

यसैगरी, नगरपालिकाको झोलुङ्गे पुलदेखि जमुनाघाडीसम्मको करिब १५ किलोमिटर सडक समेत कालोपत्रे गर्न काम अघि बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.