काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा संविधान संशोधन विधेयकमाथि संशोधन हाल्ने वा नहाल्ने विषयलाई लिएर विवाद भएको छ।
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा आइतबार करिब चार घण्टा लामो बैठकमा मोर्चाका नेताबीच संविधान संशोधन विधेयकमा संशोधन हाल्ने वा नहाल्ने भन्ने बिषयलाई लिएर विवाद भएको सहभागी एक नेताले जनाए।
मोर्चाका नेताहरु नैं संशोधन हाल्ने र नहाल्ने विषयमा विभाजित भएपछि संशोधन हाल्न चाहने दल र सांसदलाई स्वतन्त्र रुपमा निर्णय गर्न दिने सहमति भएको थियो। ‘संशोधन हाल्ने वा नहाल्ने सांसदहरुको अधिकारको बिषय भएकोले मोर्चाले यस बारेमा केही निर्णय गरेको छैन’ राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले थाहाखबरसँग भने।
संशोधन प्रस्तावमाथि मोर्चाको सबैभन्दा ठूलो घटक संघीय समाजवादी फोरम, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकका कुनै पनि सांसदहरुले संशोधन हालेनन्। तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादव र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव बैठकमा उपस्थित भएर पनि आफ्ना कुनै सांसदलाई संशोधन हाल्न लगाएका थिएनन्।
संघीय समाजवादी फोरम, तमसपा र फोरम गणतान्त्रिकका अध्यक्ष तीनै जना यादव हुन्। तीनै नेता स्थानीय निर्वाचन हुन नहुने पक्षमा मोर्चामा बलिया अडान राख्दै आएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिन मोर्चालाई यिनै तीन नेताले दबाब दिएका छन्। संशोधन प्रस्तावमा तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र सद्भावना संसदीय दलका नेता लक्ष्मणलाल कर्णले समेत हस्ताक्षर गरेका छन्।
संशोधन प्रस्तावमा मोर्चाका तीन दलका सांसदले हस्ताक्षर नगरेपनि मोर्चा बाहिरका दुई दल संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट र नेपाली जनता दलका सांसदले संयुक्त संशोधनको प्रस्तावमा हस्ताक्षर गरेका छन्।
बैठकमा मोर्चाको मुख्य घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिएनन्। पछिल्लो समय यादव मोर्चाको बैठकमा बिरलै जाने र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई हरेक बैठकमा पठाउने गरेका छन्। ‘पार्टीको कार्यक्रममा भाग लिन पूर्वी तराईका जिल्लामा जानु भएकोले बैठकमा उपस्थित नहुनु भएको हो’, मोर्चा नेता फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भने।
मोर्चा बैठकमा आन्दोलनलाई कसरी सशक्त प्रभावकारी र संगठित गर्ने भन्ने बिषयमा छलफल बढी केन्द्रित भएको रामसपा महासचिव झाले बताए। उनले मोर्चाको सोमबार बस्ने आन्दोलनका कार्यक्रम तय गर्न गठित कार्यदलको बैठक राखिएको जानकारी दिए। मोर्चाका अधिकांश नेताहरु संविधान संशोधन विधेयक पारित गर्न प्रमुख दल उदसिन भएको भन्दै आन्दोलनको मनस्थितिमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।