|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा तोकिएको स्ववियु चुनाव आउन ३ दिन बाँकी रहदा चुनाव हुने कि नहुने अन्योल कायमै छ। त्रिविले गठन गरेको स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिले जारी गरेको स्ववियु निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन हुँदा पनि विद्यार्थी संगठनबीचको द्वन्द्वले गर्दा स्ववियु चुनाव अन्योलमा परेको हो।

यसअघि फागुन १४ गते गर्ने भनिएको स्ववियु चुनाव नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारी लगायत विभिन्न विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि ४ दिनपछि सारिएको थियो। 

दोस्रोपटक कार्यतालिका निकाल्दा पनि नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, विप्लव र वैद्य समर्थित अखिल क्रान्तिकारीहरु, मधेस केन्द्रीत दलका विद्यार्थी संगठनहरु र विभिन्न आदिवासी जनजाति विद्यार्थी संगठनहरुले फर्जी भर्ना खारेज गर्नुपर्ने, तीन ठूला संगठनको सिन्डिकेट खारेज गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने, पूर्ण जातीय समानुपातिक प्रणाली अपनाउनुपर्ने, मधेसी मोर्चाले भनेझैं संविधान संशोधन गर्नपर्ने लागयतका माग राखेर क्याम्पसमा रहेका निर्वाचन आयोग, लेखा शाखा र प्रशासनमा तालाबन्दी गरेका छन्।

राजधानी बाहिरका विभिन्न क्याम्पसमा फागुन १४ गते नै चुनाव भएका र निर्विरोध स्ववियु गठन भइसक्दा पनि त्रिविको केन्द्रीय क्याम्पस र काठमाडौंका ठूला क्याम्पसहरुमा स्ववियु निर्वाचनको कार्यतालिका लागु हुन सकेको छैन। फागुन १८ गते नै चुनाव गराउने भनेर त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले नेतृत्व गरेको स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति जसरी पनि चुनाव गराउने भन्दै लागेको छ। समितिलाई राजनीतिक दलहरुले पनि स्ववियु चुनाव प्रहरी प्रशासन लगाएर भएपनि गराउनु भन्दै दबाब दिइरहेको छ। तैपनि, आइतबार फेरि उम्मेदवारी मनोनयन तोकिदा पनि राजधानीका कुनै पनि क्याम्पसमा मनोनयन हुन सकेन। अधिकांश क्याम्पसमा दिनभर विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहे। तोडफोड र क्याम्पस प्रांगणमा कुर्सी जलाउने काम भए। क्याम्पसहरुलाई प्रहरीले पहरा दिइरह्‍यो भने विद्यार्थी संगठनका नेताहरु एकअर्कालाई दोषारोपण गर्दै आपसि द्वन्द्वमा व्यस्त रहे।

'चुनाव रोकिए दोषी नेविसंघ'

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले स्ववियुमा लगाइएको २८ वर्षे उमेरहद विरुद्ध क्याम्पसहरुमा तालाबन्दी गरेका छन्। पढाइ सकिएपछि स्ववियुमा पद खारेज हुने त्रिविको स्ववियु नियमावलीमा गरिएको व्यवस्थामा पनि नेविसंघको असन्तुष्टी रहेको छ। जसका कारण राजधानीका प्रमुख क्याम्पस लगायत राजधानीबाहिरका विभिन्न क्याम्पसमा तालाबन्दी छ।

यस्तो तालाबन्दीलाई नेविसंघले भने आधिकारिक होइन भन्दै नेविसंघको नाममा तालाबन्दी गर्नेलाई कारबाही गर्ने चेतावनी दिदै आएको छ। नेविसंघका महामन्त्री सरोज थापाले संगठनका नाममा लागेका ताला खोल्न निर्देशन दिइसकेको बताए। 'हामीले लगाएको ताला खोल्न केन्द्रबाट स्पष्ट निर्देशन दिइसकेका छौं', उनले भने, 'नेविसंघको आधिकारिक तालाबन्दी छैन।'

अनेरास्ववियुले भने नेविसंघले कार्यकर्तालाई अनुशासनमा राख्न नसकेको आरोप लगाएको छ। अनेरास्ववियुका प्रवक्ता सुदीप शर्मा भन्छन्, 'नेविसंघको केन्द्रीय नेतृत्व चुनावमा जान प्रतिवद्धता गर्ने तर उसले गरेको प्रतिवद्धता कार्यकर्ता कुनै हालतमा पनि नमान्ने भएकोले चुनाव नहुने सम्भावना बढेर गएको छ।' उनले भने चुनाव नभए एकमात्र दोषी नेविसंघ हुने बताए।

८ वर्षपछि हुन लागेको र पहिलो पटक मिश्रित प्रणालीमा हुन लागेको चुनाव यसपटक जसरी पनि गर्न लागिपरेको तर नेविसंघको दोहोरो चरित्रका कारण चुनाव हुनेमा आशंका बढेको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। 'यो नेविसंघको संस्थागत तालाबन्दी हो', नरेन्द्रले भने, 'क्याम्पसहरुमा लागेको ताला खुलेन भने स्ववियु चुनाव नहुनुको दोषी नेविसंघ हुनेछ र उसैले जिम्मेवारी लिनुपर्छ।' उनले अझै नेवसंघ लगायत असन्तुष्ट पक्षलाई मनाउन पहल भइरहेको बताए।

नेविसंघका महामन्त्री सरोज थापाले भने नेविसंघले आफ्ना कार्यकर्तालाई मनाइसकेकोले स्ववियु चुनाव फागुन १८ मा नै  गर्ने बताए।

चरणवद्ध चुनावमा जाने तयारीमा विद्यार्थी संगठन

फागुन १८ गते सम्भव नभए चरणवद्ध रुपमा चुनावमा जाने मनस्थितिमा पुगेका छन् मुख्य विद्यार्थी संगठनहरु। अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यार्थी संगठन चरणवद्ध चुनावमा जाने मनस्थितिमा पुगेको बताए। उनले भने, 'भोलि साढे १० बजेसम्म मनोनयन दर्ता गर्ने मिति छ तबसम्म सबै ठीक होला भन्नेमा आशावादी छौं। केही क्याम्पसहरुमा मनोनयन दर्ता भएपछि तालाबन्दीभएको त्यो खोलेर प्रक्रिया अगाडि बढाउने तयारीमा छौं।' अहिले चुनाव हुने क्याम्पसहरुमा चुनाव गराउने र हुन नसक्ने क्याम्पसहरुमा पछि चुनाव गराउने विकल्पमा जान सकिने न्यौपानेले बताए।

त्यस्तै नेविसंघका महामन्त्री सरोज थापाले प्रहरी परिचालन गरेर भएपनि चुनाव गराउनुपर्ने बताए। उनले जसरी पनि चुनाव गराउनुपर्ने बताएका छन्। उनले भने, 'प्रशासनिक सहयोग लिएर भएपनि चुनाव गराउनुपर्छ।' कही क्याम्पसहरुमा मनोनयन भएकोले तिनमा चुनाव गराउन सकिने र बाँकीमा पछि चुनाव गर्न सकिने उनले बताए।

त्यस्तै अनेरास्ववियुले भने फागुन १८ गते चुनाव भएन भने चुनाव भाँडिएको बुझ्नुपर्ने बताएको छ। प्रवक्ता सुदीप शर्मा भन्छन्, ' निर्वाचन कार्यतालिका भंग भयो। भोलि साढे १० बजेसम्म मनोनयन भएन भने चुनाव नहुने भनेर बुझ्दा हुन्छ।' उनले विद्यार्थीका शीर्ष नेताहरु अझै छलफलमा नै रहेकोले समाधान खोज्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.