सूर्य ढुंगेल भन्छन् : दलहरु नै भ्रष्टाचार प्रवर्द्धनमा लागे

|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधनाले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तिय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताएका छन्। 

नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव  र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तिय, प्रशासनिक र कानूनी हिसाबले संघीयता स्थापना भइसकेको बताए। 

प्रशासनिक संयन्त्र केन्द्रीकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भए पनि अहिले कोभिडको संकटका बेला संघीयताको औचित्य पुष्टि भएको उनले बताए। 

सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैमा उपलब्धि भए पनि त्यसमा लेखिएको कुराहरूको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताए। 

संघीयता, सहभागितामूलक प्रजातन्त्र, सामाजिक न्यायका आधारभूत विषयहरुमा हामीले कति उपलब्धी हासिल गर्न सकेका छौँ त्यसको निर्मम मूल्याङ्कन हुनुपर्ने उनले बताए। 

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले लोकसेवा आयोग, निजामति सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताए। संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरूलाई अगाडी बढाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए। 

दलहरुले भ्रष्टाचार बढाए

संविधानविद् सूर्य ढुंगेलले राजनीतिक दलहरुले संवैधानिक आयोगमा गर्ने नियुक्तिले जनतामा चरम निराशा छाएको बताएका छन्। आयोगका पदाधिकारी नियुक्ति गर्दा उपयुक्त र योग्य व्यक्ति छान्‍नुपर्नेमा त्यसो हुन नसक्दा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरु नै भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने संयन्त्रका रुपमा अगाडि बढिरहेको सन्देश जनतामा गएको बताए। 

पार्टीका नेताहरुले आफू अनुकुल व्यक्ति नियुक्ति गर्दा संविधानको सफल कार्यान्वयनमा समस्या देखिएको उनले बताए। आज संविधान जारी भएको ५ वर्ष पूरा भएको छ। संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा देशभरी नै विभिन्‍न कार्यक्रम गरिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.