|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–२ मा रहेको शहीद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीको रुपमा विकास गर्ने अमरगढी नगरपालिका अग्रसर भएको छ। अमरगढी नगरपालिकाले शहीद भीमदत्त पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीको रुपमा विकास गर्ने काम सुरु गरेको हो।

‘कि त जोत हलो, कि त छोड थलो, यदी होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका विद्रोही किसान नेता पन्तलाई तत्कालीन शासकले फाँसीमा चढाएका थिए। सशक्त रूपमा किसान र गरिव मजदुरको हितमा आवाज उठाएका शहीद पन्तको गाउँलाई आदर्श बस्तीको रूपमा विकास गर्ने कार्यको शुभारम्भ गरिएको अमरगढीका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए।

स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि नगरप्रमुख ओझाले भीमदत्त आदर्श बस्तीको अवधारणा अघि सारेका थिए। पन्तको गाउँलाई आदर्श बस्तीको रूपमा घोषणा गरे पनि काम बढ्न सकेको थिएन। 

आर्थिक श्रोतको अभावमा विगतमा उल्लेख्य रूपमा प्रगति हुन नसकेपनि अहिले संघीय सरकारको पर्यटन पूर्वाधार विकास आयोजनामार्फत ७२ लाख रुपैयाँको लागतमा उक्त कार्यको प्रारम्भ गरिएको नगरपालिका इन्जिनियर कविन्द्र विष्टले बताए।

पहिलोपटक हाम्रो समाजको सामन्ती संस्कारकाविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति शहीद पन्तको जीर्ण बनेको घरलाई पुनः निर्माण गर्ने काम सुरु भएको नगर उपप्रमुख संगीता भण्डारीले बताइन्। उनले पन्तको गाउँ जाने सडक निमार्ण भइरहेको बताइन्। 

कारीगाउँ प्रवेशद्वार विगत ६ वर्षदेखि निर्माणाधीन रहेकोले गेट निर्माणको काम समेत सुरू भएको नगरप्रमुख ओझाले बताए। ‘यो बस्तीलाई आदर्श बस्ती बनाउने पहिलेकै योजना थियो। तर, केही आर्थिक तथा प्राविधिक समस्याको कारण सुरु भएको थिएन।’ उनले भने।

आदर्श बस्ती मात्रै नभएर पन्तले उठाएका विषयको सम्बोधन गर्नु पनि आफूहरूको दायित्व भएको उनको भनाइ छ। उनले शहीद पन्त जन्मिएको घरको पुनःनिर्माण, घरसम्म कच्ची सडक निर्माण र सिंगो गाउँमा बाटो निर्माण तथा भीमदत्त पन्तको घरमा सङ्ग्रहालय निर्माण भइरहेको बताए।

शहीद पन्तको जन्मस्थान अमरगढी नगरपालिका–२ को कारीगाँउलाई आदर्श वस्तीका रुपमा विकास गर्ने कार्यक्रम अन्र्तगत भौतिक संरचना निर्माणको काम भइरहेको छ। भीमदत्त आदर्श बस्ती कारीगाउँ बनेमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय प्रदीप पन्तले बताए। 

‘डोटी घटाल क्षेत्र रमणीय क्षेत्र हो, नजिकै घटाल थान, बुढी घटाल र डोटी घटालको मैदानलगायत पर्यटकीय क्षेत्र छन्, यी क्षेत्रको प्रचार–प्रसार पनि हुन्छ।’ उनले भने, ‘यहाँका स्थानीयले पनि रोजगारी पाउँछन्। यस क्षेत्रको विकास पनि हुन्छ।’

शहीद पन्तका भाइ यदुनाथ पन्तले शहिदको सपना पूरा गर्न स्थानीय तहको भुमिका महत्वपूर्ण रहेको बताए। उनले अब भीमदत्तका सपना साकार हुनेमा आफू विश्वस्त रहेको बताए। 

को थिए भीमदत्त?

नेपाली किसान आन्दोलनका शहीद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए, भीमदत्त पन्त।

पन्तले ‘ठालु खान्ना आलु गरिब खान्ना बासमती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो। 

‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.