जनताको अवस्था फेरिएन, संविधान सत्ताको खुड्किलो

|

काठमाडौं : आज संविधान दिवस, संविधानसभाबाट नेपालको संविधान जारी भएको ५ वर्ष पुरा भएको छ। दोस्रो संविधानसभाले बनाएको संविधान २०७२ असोज ३ गते घोषणा गरिएको थियो।

संविधान कार्यान्वयनमा आएको पाँच वर्ष पूरा हुँदा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ। संघीयताका संरचनाहरु पूर्णरुपमा कार्यान्वयनमा आए पनि संविधानको मर्मअनुसार अझै काम हुन नसकेको जनगुनासो कायमै छ।

लोकतान्त्रिक संविधान निर्माण भए पनि जनताका न्यूनतम आवश्यकताको परिपूर्ति, मौलिक हक कार्यान्वयन जस्ता विषयमा अझै प्रश्‍नहरू उठ्ने गरेका छन्। संविधानको मर्मअनुसार निर्माण हुनुपर्ने केही कानुन निर्माण भएका छन् भने कतिपय कानुन अझै निर्माणका क्रममा छन्। तर अपेक्षित रुपमा संघीय कानुनहरु निर्माण नहुँदा संविधानको भावनाअनुसार काम हुन नसक्ने हो कि भन्‍ने चिन्ता व्यक्त हुन थालेका छन्।

पूर्व सभामुख दमननाथ ढुंगाना संघीयता, समावेशीता, ऐन, कानून निर्माण लगायतका विषयमा संविधान कार्यान्वय हुनै नसकेको बताउँछन्। अहिलेका राजनीतिक दलले संविधानलाई सत्तामा पुग्ने खुड्किलो मात्र बनाएको उनको आरोप छ। अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले नै संविधान कार्यान्वयन गर्ने जिम्मा नलिएको उनको टिप्पणी छ। 

पूर्व सभामुख ढुंगानाले अहिलेको सत्ता बलिदान गरेर आएकाले त्यसको स्प्रीटअनुसार काम नभएको बताए। उनले अहिले अपनाएको संसदीय प्रणालीले २ वर्षसम्म प्रधानमन्त्रीलाई निरङ्कुश बनाएको र राष्ट्रपतिको भूमिका संविधानको संरक्षकको रुपमा हुन नसकेको उल्लेख गरे।

संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने संविधान जारी भएको ५ बर्ष पुग्दा संविधान कार्यान्वयनमा महत्वपूर्ण काम भएको दाबी गर्छन्। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै उनले ५ वर्षको अवधिमा कानुन निर्माणदेखि राजनीतिक परिवर्तनका लागि अब आन्दोलन गर्न नपर्ने वातावरण बनाउन सफल भएको बताए।

अब जनतालाई अनुभुति हुने गरी समृद्धिको अभियान अघि बढाउनुपर्नेमा उनको जोड छ। यस्तै, संविधानविद् डा. विपिन अधिकारी संविधान कार्यान्वयन गर्न सम्पूर्ण राजनीतिक दलको तदारुकता नदेखिएको बताउँछन्। संविधान कार्यान्वयनमा केही राम्रा काम भए पनि सबैभन्दा धेरै कार्यान्वयनको जिम्मा पाएको सरकारले त्यसअनुसार काम गर्न नसकेको उनको विश्लेषण छ। 

नयाँ संविधान भएका कारण कार्यान्वयनको चरणमा केहि जटिलता आए तत्काल समाधान खोजेर अघि बढ्नुपर्ने उनले सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.