|

धनगढी : शुक्रबार मृत फेला परेकी कैलालीकी सञ्चारकर्मी निर्मला पहराईको हत्या गरिएको उनका परिवारले आरोप लगाएका छन्। हराएको ३ दिनपछि घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक वनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। 

उनको हत्या गरी झुन्डिइएको निर्मलाका दाई विशालले दाबी गरेका छन्। शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्मलाको हत्या भएको भन्दै उनले यी सात तथ्यहरू प्रस्तुत गरेका छन्। 

तीन दिनदेखी बेपत्ता भएकी निर्मलाको शव झुन्डिएको अवस्थामा फेला पर्यो तर सुन्निएको थिएन। 
निर्मला झुन्डिएको डोरी राम्रोसँग कसिएको थिएन।
उसले प्रयोग गर्ने चप्पल र छाता त्यहीँ छ तर घडी २७ फिट टाढा भेटिएको छ कसरी ? 
चप्पल र छातामा माटो लागेको छैन, तर खुट्टा र कपडामा माटो लागेको छ कसरी ? 
घरबाट ललितकहाँ जान्छु भनेर निस्किएकी निर्मलाको कपाल लुछिएको छ ?
उनले प्रयोग गर्ने मोबाइल अहिलेसम्म फेला परेको छैन ? 
पक्राउ परेका ललित जाग्रीले मलाई मात्रै किन थुन्नु हुन्छ रियालाई पनि थुन्नुस् भन्नु ? 

परिवारले अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्मलाको हत्या गरेको दाबी गरेका छन्। निर्मलाका दाइ विशालका अनुसार कैलाली एफएमै कार्यरत २४ वर्षीय ललित जाग्रीसँग निर्मलाको प्रेम सम्बन्ध थियो। 

निर्मला दलित पत्रकार संघ कैलालीकी सचिव भएपछि उनी दलित भएकै कारण ललितले निर्मलालाई फेसबुकमा ब्लक गरे। त्यसपछि ललित कैलालीकै रिया साउँद नाम गरेकी अर्की केटीसँग सम्बन्धमा जोडिएका थिए। 

ललितले रियासँग सम्बन्ध जोडे पनि पुनः निर्मलालाई बिहे गर्ने आश्वासन देखाएको निर्मलका दाइ विशालको दाबी छ। भदौ ३१ गते घरबाट निस्कने बेला पनि निर्मलाले ललितकोमा जान्छु भनेर गएको र ललितले बिहे गर्न बोलाएको बताए। उनले ललित र रियाको संलग्नतामा निर्मलाको हत्या भएको दाबी गरेका छन्। 

कैलाली प्रहरीले निर्मलासँगै काम गर्ने ललितलाई शुक्रबार नै सोही विषयमा अनुसन्धानका लागि पक्राउ गरिसकेको छ। इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराले हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। उनले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धान गर्दै जाँदा थप खुल्ने बताए।

पक्राउ परेका ललितले आफ्नो फोन र म्यासेन्जरमा मात्रै निर्मलासँग कुरा हुने गरेको बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन्। उनका शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ। परिवारले घटना छानबिन नभएसम्म पोष्टमार्टम गर्न नदिने भनेपछि शव पोस्टमार्टम हुन सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.