|

स्याङ्जा : सुन्तलाको उर्वर भूमि स्याङ्जामा भदौ महिनादेखि नै सुन्तला खान सकिन्छ भन्दा विश्वास नलाग्न सक्छ। तर, यहाँ रोपिएका जापानी उन्सु जातको सुन्तला भदौको दोस्रो सातादेखि नै पाक्ने गर्दछ।

जापानी उन्सु जातको सुन्तला बेच्ने समय भए पनि कोभिड १९ को कारण मर्कामा परेको किसानहरु बताउँछन्। गत वर्ष यही सिजनमा धमाधम बिक्री भइरहेको सुन्तला यस वर्ष भने कोरोना संक्रमणकै कारण समस्या भएको हो।

बेमौसमी सुन्तलाको उत्पादन हुने साउन देखि फागुनसम्म स्याङ्जाको सिद्धार्थ राजमार्ग सुन्तला व्यापारीले ढाकिने गर्दथ्यो। यही बेमौसमी सुन्तला बेचेर दशैं–तिहारजस्ता चाडपर्ब मनाउने किसान मारमा परेको किसान बोधराज अर्याल बताउँछन्। 

गत वर्ष १० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको स्मरण गर्दै अर्याल भन्छन्, ‘यतिबेला त बजारमा सुन्तला पुग्थे तर महामारीले किसानलाई ठूलो क्षति पुर्यायो। मौसमी/बेमौसमी सुन्तला बजारमा त्यति बिक्री हुने सम्भावना छैन।’ 

१० वर्षअघि सुन्तलासम्बन्धी तालिम लिन काठमाडौँ जाँदा उन्सु र मुन्तलाको एक एक बोट ल्याएर उनले सुन्तला खेती सुरु गरेका थिए। उक्त बिरुवालाई कलमी गरी १५० भन्दा बढी बोट बनाएको अर्यालले बताए।    

अहिले उनको ४५ रोपनी बगैँचा र गमलामा १८ प्रजातिको सुन्तला छन्। पछिल्लो समय मौसमी र बेमौसमी सुन्तला लगाउने किसानको आकर्षण बढ्दै गएको छ। स्याङ्जामा करिब बाह्रै महिना खान मिल्ने सुन्तला उत्पादन गर्ने उद्देश्यले यहाँ किसानहरु सुन्तला खेती गर्दै आएका छन्। 

उन्सु जातको बेमौसममा पाइने भएकाले यसको मूल्य पनि राम्रै पर्ने किसानहरुबताउँछन्। मिठो र स्वादिलो रहेको उन्सु सुन्तला प्रतिकिलो १५० रुपैयाँसम्म पर्दछ। 

समुद्री सतहबाट ८०० मिटरको उचाई र उत्तर–पूर्वी फर्केको जमिनमा मुन्तला र उन्सु सुन्तला राम्रो फल्ने प्राविधिकको भनाइ छ। स्याङ्जामा २५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा वार्षिक ६० करोड रुपैयाँ बराबरको सुन्तलाको उत्पादन हँुदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.