|

म्याग्दी : कोरोना महामारी फैलँदैनथ्यो भने देशका हिमाली खर्कहरू यतिखेर बहुमूल्य यार्सागुम्बा संकलन गर्नेहरूले ढाकिएका हुन्थे। म्याग्दीका हिमाली बुकीमा पनि मानिसहरू जमिनतिर एकाग्र भएर यो जडिबुटी खोजिरहेका हुन्थे। कोही यार्सा संकलन गरेर वेशी झरिरहेका हुन्थे, कोही बिक्रि-वितरणका लागि बजार पुगिसकेका हुन्थे। 

तर, यसपटक महामारी त्रासदीले सबैलाई लपेट्यो। म्याग्देलीले यार्सा संकलन गर्न त पाएनन्‌ नै, वर्ष दिनसम्मको खर्च पनि गुमाए। 

यार्सागुम्बा जडिबुटी र वनस्पतिहरूमध्ये सबैभन्दा महङ्गो प्रजाति हो। आधा कीरा र आधा ढुसी भई हुर्कने यो जडिबुटी म्याग्दीका रघुगंगा गाउँपालिका ८ कुइनेमंगले, धवलागिरि गाउँपालिका ३ गुर्जा, मुदी लगाएतका बुकी र खर्कहरूमा पनि पाइन्छन्। महामारीकै बीच यार्सा संकलनका लागि यी खर्कहरूमा पुगेकाहरू पनि यो वर्ष छिट्टै फर्के।

यार्सा संकलनका लागि वस्तीदेखि करिब डेढ दिनको यात्रा गरेर कुइनेमंगलेको बुकीमा पुगेका ४० जना स्थानीयहरूले बाक्लै यार्सा भेटे। ३ दिनसम्म बुकीमा नै बसेर उनीहरूले विगतका वर्षहरूमा भन्दा बढी यार्सा संकलन गरेपनि खासै उत्साह नदेखाएको स्थानीय युवा चित्र छन्त्यालले बताए।

छन्त्यालका अनुसार विगतमा जस्तो यस वर्ष यार्साको माग बजारमा छैन। कोराना संक्रमण जोखिमका कारण कुनै पनि व्यापारीहरूबाट यार्साको माग नआएको हुँदा स्थानीयहरूले संकलनमा त्यति रुचि नदेखाएको हुन्‌।

​विगतका वर्षहरूमा यार्सा संकलन गर्न तीन महिनासम्म बुकी र खर्कहरूमा नै बिताउने स्थानीयहरू यस वर्ष भने यार्साको खानीमै पुगेर पनि ३ दिनभन्दा बढी बस्न मानेनन्। किनकी, संकलन गरेपनि यसपटक यार्साको बजार खस्किएको छ। यार्सा टिप्न त्यति सजिलो पनि छैन।

‘निकै यार्सा पाइने ठाउँमा पुगेर पनि धेरै दिनसम्म संकलन गर्न कोही राजी भएनन्‌,' छन्त्यालले भने, ‘घरायसी प्रयोग र फुटकर रूपमा गाउँमा नै बिक्रि गर्नका लागि थोरै मात्र संकलन गरेर फर्कियौं।'

कुइनेमंगलेको बुकीमा ठूलो र गुणस्तरीय यार्सा पाइने भएकोले स्थानीयहरू बुकी संरक्षण अभियानमा समेत लागेका छन्। यहाँ यार्साका अन्तरराष्ट्रिय व्यारीहरूलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको स्थानीय यार्सा संकलकहरू बताउँछन्‌।

करिब तीन महिनासम्म हिमाली क्षेत्र आसपासका बुकीमा पुगेर संकलन गरेको यार्सा बिक्रि गरेर यहाँका स्थानीयले वर्षभरको घरखर्च, बालबालिकाको पढाई लगायतका लागि राम्रै आम्दानी गर्ने गरेका वडाअध्यक्ष गमान छन्त्यालले बताए। उनका अनुसार यहाँको चौरवन, चमेली, रिखार, रिरु लगायतका स्थानमा राम्रो खालको पोटिलो यार्सा पाइन्छ।

विश्वको सातौं अग्लो धौलागिरि हिमाल आसपासका बुकीहरूमा छपक्कै भेटिने यार्सा संकलन गर्न यस वर्ष गाउँका ४० जना पुगेको अध्यक्ष छन्त्यालले बताए।

विगतका वर्षहरूमा यार्सा खरिद गर्न हेलिकोप्टरमार्फत व्यापारीहरू गाउँमै आउने गर्दथे। तर, यस वर्ष कोरोना संक्रमणका कारण कुनै पनि व्यापारी सम्पर्कमा नआएको स्थानीयहरूले बताएका छन्‌। 

एक किलोग्राम यार्सा १ लाखदेखि २ लाख ३० हजार रुपैयाँसम्ममा बिक्रि हुने यसको कारोबारमा संलग्‍नहरू बताउँछन्‌। यार्सागुम्बालाई यौन क्षमता बढाउने औषधिका रूपमा समेत लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.