|

बैतडी : बैतडीमा प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको छ। गाँजाले समाजमा विकृति ल्याउने भएकाले जिल्लाभरी नै गाँजा फडानी अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

खेतमा आफैँ उम्रेका र मानिसहरूले लगाएको गाँजालाई प्रहरीले एक महिनादेखि नष्ट गर्ने काम गरिरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। गाँजाकै कारण समाजमा विभिन्न विकृति भइरहेकाले गाँजा फडानी अभियान सञ्चालन भएको उनको भनाई छ।

अधिकारीले भने, ‘गाँजाका कारण समाजमा विभिन्न खालका अपराधहरू भइरहेका छन्। अबका दिनमा त्यस्ता अपराधहरू नहोरिउन भनेर हामीले यो अभियान सञ्चालन गरेका हौं।’

जिल्लाको सबै स्थानीय तहका प्रहरी युनिटमार्फत टोली खटाएर गाँजा फडानी अभियान जारी राखिएको छ। कोरोना महामारीका कारण धेरै युवा जिल्ला भित्रिएका र उनीहरू पनि गाँजाको कुलतमा फस्न सक्ने भएकाले गाँजा नष्ट गर्ने अभियान जारी रहेको प्रहरीले जनाएको छ।

हालसम्म नौ हजारभन्दा धेरै गाँजाका बोट नष्ट गरिएको अधिकारीले जानकारी दिए। उनले भने, ‘धेरै मानिस रोजगारी गुमाएर घर फर्केका छन्। गाउँमा धेरै बेरोजगारी पनि छ। यो अवस्थामा युवाहरू कुलतमा फस्न सक्छन्। युवाहरूलाई कुलतबाट रोक्नका लागि गाँजा फडानी अभियान चालेका हौं।’

जिल्लाभरी गाँजाका बोट नष्ट गर्ने अभियान भएकाले यो अभियान केही दिन सम्म चल्ने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। हालसम्म जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका लगायतका विभिन्न ठाउँमा गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ।

अन्य स्थानमा पनि उक्त अभियान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.