गुर्जो, बेसार र ज्वानोसहितको तातोपानीले साथ दियो
गुर्जो, बेसार र ज्वानोसहितको तातोपानीले साथ दियो
काठमाडौं : वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल दम्पती कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन्। संक्रमण पुष्टि भएपछि ह्याम्स अस्पतालको आइसोलेसनमा उपचार गराएका रिजालमा २१ दिनपछि पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।
बिरामीको उपचारमा जुट्दा जुट्दै डा. भोला र श्रीमती डा. सरलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनीहरुमा २१ दिनपछि पिसिआर नेगेटिभ आएको छ।
बुढ्यौली उमेर र केमोथेरापी उपचार गरेकी डा. रिजालको पत्नीमा कोभिड देखिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उनीहरु अस्पताल भर्ना भएका थिए। सरकारकै गाइडलाइन अनुसार उनीहरुले उपचार थालेका थिए। कोभिड पुष्टि भएपछि उच्च मनोबलले निको हुन सकेको डा. रिजाल बताउँछन्। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रिजालले अस्पतालमा बसेर कोभिडविरुद्धको संघर्ष र अनुभव हामीलाई यसरी सुनाए।
उपत्यकामा कोभिड संक्रमण अलि बढेपछि म ह्याम्स अस्पतालमा विरामी हेर्न आएको थिइन। तर, नेपाल मेडिकल कलेजमा निरन्तर गएको थिएँ। त्यहाँ कोभिड उपचार तथा अन्य व्यवस्थापन कार्यमा सक्रिय थिएँ। त्यहाँ भएका समस्या समाधान गर्दै आएको थिएँ।
स्वास्थ्यकर्मी जति जोगिन्छु भने पनि सम्भाव हुँदो रहेनछ। कोरोनाबाट सुरक्षित कसरी रहने उपाय र हात धुन सिकाउँदा सिकाउँदै आफैं संक्रमित भएँ। आफूले पनि सोही रुल लो गर्दै आएको थिए। तर म पनि आफैं संक्रमित हुन पुगेँ। संक्रमण नहोस् भन्ने त हुन्छ। तर, भयो त्यसमा कुनै आत्मग्लानि छैन।
सुरुमा शंका लागेर पिसिआर गरेँ। पिसिआरमा हामी दुवैको (श्रीमती) पिसिआर पोजेटिभ आयो। बढ्दो उमेर र सरलाको केही समय अगाडि केमोथेरापी उपचार गराएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै हामी दुवै ह्याम्स अस्पतालको आइसोलेशनमा आयौँ।
पहिला हामी दुवैलाई माइल्ड फिबर भएको थियो। तर सुरुमा केही दिन सरलालाई श्वास प्रश्वासमा अलि समस्या भयो। केही दिन सामान्य अक्सिजन नै लगाउनु पर्ने अवस्था आयो।
र हामीले यस अवधिमा एउटा बिरामीले अस्पतालमा जसरी बितायौँ। त्यो भन्दाबाहेक मैले अरू केही गरिनँ। मैले धेरैबेर टेलिफोनमा कुरा गरिनँ। सोधेका केही कुराको जवाफ पनि छोटोमा दिने गरे। बिरामीले पालना गर्नुपर्ने जति पनि कर्तव्य छन् त्यही पालना गरेर बस्यौँ।
हामीहरूको एक कोठामा पार्टेशन गरेर बसेका थियौँ। घरबाटै साधारण खाना घरबाट नै मगाएर खाने गरेका छौं। घरबाट बिहान–बेलुकाको खाजा–खाना आउने गरेको थियो।
तर, हामीले बेला–बेलामा चिया बनाउने र तातोपानी, बेसार–पानी, ज्वानो पानी आफैं नै बनाएर खाने गरेका छौं। हामीले दैनिक एक एक घण्टाको फरकमा केही न केही खानेकुरा, दिनमा दुई पटक बाफ लिने गर्यौँ। सबैभन्दा धेरै ठूलो कुरा तातो पानी धेरै खायौँ। हामीले तातो पानीमा गुर्जो,ज्वानो दालचीनी बेसार छोडेनौँ। गुर्जो, बेसार ज्वानोसहितको तातोपानी हामीले एकदमै धेरै खायौँ। जसले गर्दा हामीलाई धेरै राम्रो भयो।
बाफ लिएको हुनाले पनि सायद हामीलाई कोरोनाले गाल्न सकेन। उमेरको हिसाबले पनि झन् गल्नुपर्ने थियो होला। तातोपानी खाने र बाफ लिने काम एकछिन पनि छोडेका छैनौं। त्यसभन्दा बाहेक व्यायाम गर्ने काम पनि गरिरहेका हुनाले हामीले बढ्दो उमेरमा पनि कोभिडलाई जित्यौँ।
त्यसैले म भन्छु, 'कोरोना देखिएपछि डराउने होइन, उच्च मनोबल बनाउने हो अनि सरकारले भनेको मापदण्ड फ्लो गरी आफ्नो काम पनि गर्दै जानुपर्दछ। मानिसहरू यही कारणले गर्दा मानसिक तनावमा पनि पुग्न सक्छन्। त्यसकारण आफ्नो काम गर्न सरकार मापदण्डलाई राम्रोसँग फ्लो गर्नुहोस् भन्ने मेरो अनुरोध छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।