व्यवसायी भन्छन् : हामी तयार छौँ तर सरकारले ढिला गर्‍यो

|

काठमाडौं : सरकारले कात्तिक ८ गतेबाट टेलिभिजन प्रसारणमा क्लिन फिड लागु गर्नेगरि प्रक्रिया अघि बढाएको छ। संसदबाट क्लिन फिड ऐन यसअघि नै पारित भइसकेको छ। तर सरकारले समयमै तयारी अघि नबढाउँदा सरोकारवालाहरूले असन्तुष्टि जनाइरहेका बेला सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ। मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागू गर्नेबारेमा प्राविधिक र अन्य तयारीका लागि दुवै पक्ष सहमत भएको सञ्‍चार सचिव हरि बस्यालले बताए।

सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागू गर्न सरकार तयार रहेको बताए। 'मन्त्रालयमा भएको छलफल सकारात्मक छ। सरकार क्लिन फिडसम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयार छ', उनले भने, 'सरोकारवालाले पनि क्लिन फिड लगाउन सकिन्छ भन्‍नुभएको छ।'

सचिव बस्यालका अनुसार सरकारले ऐन कार्यान्वयनका लागि नियमावली बनाइरहेको छ। यसबीचमा विज्ञापन बोर्ड पनि गठन हुनेछ। बोर्ड गठन नभए पनि क्लिन फिड लागू गर्न समस्या नरहेको उनले बताए।

मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकले कात्तिक ८ देखि क्लिन फिड लागु हुनुपर्ने बताएका थिए। तर सरकारले नै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएको मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष ध्रुव शर्माले बताए।

क्लिनफिड पूर्ण रुपमा लागू गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द गराइनुपर्ने आवाज पनि उठेको छ। छलफलमा सरोकारवालाले उक्त माग राखेको शर्माले जानकारी  दिए।

यतिबेला क्लिन फिड लागु गर्न आवश्यक उपकरण ल्याइ सक्नुपर्ने थियो। तर सरकारले अनुमति नदिँदा ढिला भएको डिजिटल सिस्टम अफ नेपालका निर्देशक शिव निरौलाले बताए। डिभाइस उपकरण जति चाँडो ल्याउन सकियो, त्यतिनै क्लिन फिड निर्धारित समयमा लागू गन सकिने उनले बताए।  

क्लिन फिड लगाइने डिभाइस चाँडो आएमा सरकारले पूर्व तयारी तथा अनुगमन गर्न समय  पाउने र व्यवसायीले पनि समयमै काम सक्ने निरौलाले बताए।

सचिव बस्यालले भने चार पाँच दिनभित्रै च्यानल वितरकहरुले क्लिन फिड लागु गर्न लिखित प्रतिबद्धता जनाउने सहमति भएको बताए। उनले उपकरण आयातका लागि मन्त्रालयले विभागमार्फत अनुमति दिने प्रष्ट पारेका छन्। उपकरणका कारण क्लिन फिड लागु गर्न नसक्ने अवस्था आउन नदिइने सचिव बस्यालले बताए।

क्लिन फिडसम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो। त्यो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ। ऐन पारित हुने बेला विदेशी च्यानल वितरकले विरोध गरे पनि अहिले उनीहरु नै कार्यन्वयन अग्रसर छन्।

क्लिन फिडमा जान सहमति जनाउँदै विदेशी सशुल्क च्यानलहरूले पनि सूचना तथा प्रसारण विभागमा पत्र पठाइसकेका छन्। साउनदेखि नवीकरण गर्दा सरकारले तोकेको मितिमा क्लिन फिड लागु गर्ने प्रतिवद्धतासहित उनीहरुले डाउनलिङ्‍क अनुमतिपत्र समेत लिएका छन्।

क्लिन फिड लागु भएपछि विदेशी च्यानलको प्रसारणमा विदेशी विज्ञापन देखिने छैन। विदेशी कलाकारको आवाजका विज्ञापन समेत अब प्रसारण गर्न पाइने छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.