सरकारबाट भने पर्याप्त सहयोग नपाएको गुनासो, बिचाैलियाको मार पनि

|

दाङ : बोयर जातका खसी बाख्रापालनमा दाङका किसानको आकर्षण बढदै गएको छ। स्थानीय जाताका खसी बाख्राभन्दा बोयर जातको धेरै तौल हुने र त्यसबाट धेरै मुनाफा हुने भएकाले पनि बोयर जातका बाख्रा पालनमा आकर्षण बढदै गएको हो।

तुलसीपुर ३ डाँडाखुट्टीमा मान बहादुर केसीले बाख्रापालन व्यवसाय गर्न लागेको करिब ४ वर्ष हुन लाग्यो। १२ वर्षसम्म ३ वटा खाडी मुलकमा बसेर फर्किएका केसीले  १५ वटा स्थानीय बाख्रा र  साउथ अफ्रिकन बोयर जातको ३ लाखको एउटा बोका किनेर सुरु गरेको उनले बताए।

‘१२ वर्ष विदेशमा बिताए। त्यसपछि गाडी किनेर चलाए तर सोचेजस्तो नभएपछि आफूले जाने बुझेको कृषि पेसातिर लागे। तर परम्परागतभन्दा पनि नयाँ तरिकाले गर्दा राम्रौ हुँदै गएको छ,’ उनले भने।  अहिले फर्ममा माउ बाख्रा स्थानीय र बोयर जातका ७० वटा साउथ अफ्रिकन, अस्ट्रेलियन गरी ३ वटा बोयर जातका बोका र अन्य पाठापाठी गरी करिब १ सय ४० वटा छन्। 

हालसम्म करिब डेढ करोड लगानी भएको र त्योमध्ये करिब ६० लाख रुपैयाँ बैंकबाट ऋण लिएको उनले बताए। पछिल्लो समय गाउँघरमा स्थानीय बाख्राभन्दा बोयर जातका बाख्राको माग धेरै रहेको उनले बताए। 

‘हामीले स्थानीय जातबाट क्रस गराएका ५० देखि ७५ प्रतिशत बोयर पाठापाठीहरू बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘तर अहिले सय प्रतिशत नै बोयरको माग हुँदै आएको छ। पाठापाठी पु¥याउनै धौधौ छ। मंसिरदेखि चैत–वैशाखको समम बेच्ने सिजन हो। तर मानिसहरूले पहिले नै एडभान्स छोडर जान्छन्।’ 

अहिले जिउँदो पाठापाठी सय प्रतिशत बोयर बोकाको गुण कति बोका छन्, त्यसैअनुसार मूल्य निर्धारण हुन्छ।  कममा ६ सयदेखि बढीमा ३ हजार रुपैयाँ किलोसम्म बेच्ने गरेको उनले बताए। ‘अहिले हामीसँग ३ वटा बोका छन्। हामी अहिले तेस्रो स्टेपमा छौँ। अब हामी स्थानीय लोक बाख्राबाट नै सय प्रतिशत पाठापाठी उत्पादन गर्ने लक्ष्यमा छौँ। सय प्रतिशत बाख्रा किनेर ल्याउँदा महँगो पर्दछ,’ उनले भने। 

सुरुको वर्षमा खासै आम्दानी नभएता पनि दोस्रो वर्षमा ७÷८ लाख भएको र तेस्रो वर्षमा करिब १५ लाख आम्दानी हुने उनको भनाइ छ। लकडाउनको ३ महिनाको अविधमा मात्र ३ लाख बराबरको पाठापाठी बिक्री भएको केसीले बताए। लकडाउनका बेला अन्य मानिसको व्यवसायमा असर परे पनि आफूलाई धाृ कुनै असर नपरेको समेत बताए।

केसीले बाख्रा मात्र नभई उन्नत जातका गाई तथा कुखुरा फर्म समेत संचालन गर्दै आएका छन्। ‘हामी ३ भाइ छाँै। मैले बाख्रा, अर्काे भाइले गाई र अर्का भाइले कुखुरा पालन गरेका छौं,’ उनले भने। गाईपालन व्यवसायबाट पनि मासिक करिब डेढ लाखको दूध बिक्री गर्दै आएको उनले बताए। सबै खर्च कटाएर मासिक करिब ७५ हजार आम्दानी हुने गरेको समेत उनले बताए। ७ वटा गाईबाट प्रिया गाई फर्म दर्ता गरी सुरु गरेकोमा अहिले १८ वटा विभिन्न जातका गाईहरू रहेका उनले बताए। ती गाईबाट पनि दैनिक ७०÷८० लिटर दूध उत्पादन हुने र त्यो विक्री गर्दै आएको समेत उनले बताए।  तर बिचौलियाका कारण आफूहरूले दूधको मूल्य नपाएको गुनासो गरे। 

‘हामीले प्रतिलिटर दूधमा लागत कटाए १० देखि १५ रुपैयाँ आउँछ, तर डेरीले एक रुपैयाँको प्लास्टिकमा पोको पारेर ८० रुपैयाँ लिटरमा बेच्छन्। हामी ६० रुपैयाँ लिटरमा बेच्न बाध्य छौँ। सरकारले मूल्य निर्धारण गर्दा कृषकको लागतअनुसार गर्दैन, जसले गर्दा उपभोक्ताहरू समेत मारमा परेका छन्।’ नेपालमा पछिल्लो समय दूध र मासुको धेरै माग हुने भएकाले र बाउबाजेहरूले पनि यही पेसा गर्दै आएको हुनाले र यसमा केही ज्ञान आफूसँग भएकाले यो व्यवसाय गरेको उनले बताए। तर पछिल्लो समय धेरै युवाको आकर्षण कृषि क्षेत्रतर्फ बढ्दै गएको भएता पनि लगानी नहुँदा समस्या हुने गरेको उनले बताए। 

सरकारले दिने अनुदान हामीजस्ता सोझाले पाउँदैनौँ, जसको पहुँच छ, त्यसैले पाउने हो। बैंक तथा वित्तीय संस्थाहरू पनि  धितोबिना ऋण दिँदैन। त्यसैले राज्यले यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने। 

त्यसैगरी सोही ठाउँका स्थानीय होतालाल कँडेलले पछिल्लो समय स्वदेशमै युवाले केही गर्न खोजे पनि राज्यले ध्यान नदिएको बताए। केसीजस्ता धेरै युवा गाउँघरमै केही गर्नुपर्छ भन्ने सोचेका छन्। तर उनीहरूसँग लगानी गर्ने पैसा छैन। त्यसैले यस्ता युवालाई राज्यले साथ दिनुपर्ने उनको भनाइ छ। 

स्थानीय सरकारले युवालाई स्वरोजगार बनाउन केही प्रयास गरेको भए पनि थोरै अनुदान दिँदा त्यसले काम गर्ने वातावरण नहुनेसमेत उनले बताए। त्यसैगरी तुलसीपुर–१७ की पुष्पा विष्ट ६ वर्षसम्म किराना पसल खोलेर बसिन्। ६ वर्षसम्म किराना व्यवसायबाट सोचेजस्तो नभएपछि उनले व्यवसाय नै परिवर्तन गर्दै बाख्रापालन व्यवसायमा सुरु गरिन्।  

विष्टले २ वर्षसम्म लोकल जातका बाख्रापालन गरिन् तर ती बाख्राबाट खासै आम्दानी नहुने भएपछि एक वर्षदेखि २३ वटा बोयर जातका बाख्रापालन गर्दै आएकी छन्। उनले ६ महिना पुगेको एउटा बोयर बोका मूल्य ३० हजार र बाख्राको २० हजारमा बिक्री गरेको बताइन्। उनले सुरुमा लोकल बाख्राबाट जन्मिएका पाठापाठी पाल्दा वर्ष दिनसम्म पनि यति धेरै मूल्यमा नगएको भन्दै बोयर जात बाख्राबाट धेरै आम्दानी गर्न सकिने बताइन्। 

कृषि ज्ञान केन्द्रको भकारो सुधार कार्यक्रमअन्तर्गत १ लाख अनुदान पाएको उनले बताइन्। त्यस्तै प्रदेश ५ सरकारले आयोजना गरेको प्रदेश एक्स्पो कार्यक्रममा समेत बोयर बोका प्रदर्शनमा आफू पुरस्कृत भएको उनले बताइन्। साथै अब अरू बाख्राहरू थप्ने योजना रहेको उनले सुनाइन्। यता स्थानीय सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन अनुदान दिँदै आएको जनाएका छन्।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले कृषकहरूलाई बिउ विजनदेखि कृषि औजार सिँचाइमा अनुदान दिँदै आएको उपमहानगरपालिकाकी उपमेयर माया शर्माले बताइन्। त्यसैगरी उपमहानगरले कोभिड विशेष कृषि कार्यक्रममा २१४ जना युवालाई विभिन्न कृषि क्षेत्रका लागि ७५ प्रतिशतमा २० हजारका दरले अनुदान दिएको उनले बताइन्। 

त्यसैगरी प्लाष्टिक टर्नेल वितरणमा एक सय जनालाई ५० प्रतिशत छुट दिएर अनुदान दिएको समेत उपमेयर शर्माले बताइन्। त्यसैगरी उपमहानगरले बाली भण्डार, कृषकलाई परिचय पत्र, सुलभ कर्जा, बाली बिमालगायत क्षेत्रमा संघ र प्रदेशसँग सहकार्यमा काम गर्दै आएको उनले बताइन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.