|

म्याग्दी : लाखौं रुपैयाँ खर्च गरेर विदेश जाने नेपाली युवाहरूको मुख्य चाहना पराया भूमिमा जे-जस्तो दु:ख गरेर भएपनि पैसा कमाउने नै हुन्छ। कमाएकोमध्ये अधिकांश रकम परिवारको पालनपोषणमा खर्च हुन्छ।

जसोतसो कमाएर विदेशबाट त फर्कन्छन्‌, तर फेरि आर्थिक समस्या शुरू भएपछि विदेश नै हानिन्‍छन्‌। आफ्नो उमेर र शक्ति क्षीण हुँदै गएपछि कतिपयले सन्तानलाई नै विदेश पठाएका छन्‌। 

तर यस्ता युवाहरू पनि भेटिन्छन्, जसले विदेशमा कमाएको पैसासँगै उपयोगी सीप कमाएर स्वदेश फर्कन्छन्‌ र यहीँ उदाहरणीय काम गर्छन्‌।  म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा डाँडाखेतका महेन्द्र बानियाँ, देवबहादुर जिसी, ध्रुव कुँबर, रेशम कुँबर र रामजी कुँवर त्यस्तै उदाहरणीय काम गर्नेमध्येका युवाहरू हुन्‌।

​यी पाँचजना युवाहरू रोजगारी खोज्दै दक्षिण कोरिया, साउदी अरेबिया लगायतका देश पुगे। परिश्रम गरी पैसासँगै सीप पनि कमाएर स्वदेश फर्के। स्वदेश फर्केपछि विदेशमा सिकेको सीप सदुपयोग गर्दै गत वर्षको भदौ महिनामा दुई करोड रुपैयाँ सामूहिक लगानी गरेर व्यवसायिक बाख्रा पालन शुरू गरे।

यी युवाहरूले व्यवसायिक पशुपालनको सम्भावना बोकेको हिमाली जिल्ला म्याग्दीमै यस क्षेत्रमा केही गर्नुपर्छ भन्दै सामूहिक लगानी गरी व्यवसायिक बाख्रापालन शुरू गरेका हुन्।

'स्वदेशमा काम पाइएन' भन्दै विदेश पुगेका उनीहरूले त्यहाँ आर्जन गरेको सीप र कमाइलाई गाउँ फर्किएर लगानी गरी एक वर्षको अवधिमै जिल्लामा उदाहरणीय बनेका छन्।

उनीहरूले 'एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालि' दर्ता गरी बाख्रापालन शुरू गरेका थिए। दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा थालनी गरिएको व्यवसायिक बाख्रा फर्म अहिले फस्टाउँदैछ। जिल्लामै सबैभन्दा ठूलो र फरक तरिकाले सञ्चालित फर्ममा अहिले कुल १ सय ३२ वटा बोयर तथा स्थानीय जातका बाख्राहरू पालिएको फर्मका प्रोप्राइटर महेन्द्र बानियाँले जानकारी दिए। शुरूमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी यी युवाहरूले बाख्रापालन थालेका थिए। 

सामूहिक लगानीको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत खरी, जमुनापारी र बारबारी जातका स्थानीय बाख्रा पालिएको छ। उक्त फर्ममा अहिले ५२ वटा पाठापाठी, ४७ वटा बोका र बाँकी माउ बाख्रा छन्।

फर्ममा अहिले बोयर जातका ७ वटा बोकालाई बीउ पूँजीका रूपमा राखिएको छ। अहिलेसम्म फर्मबाट करिब २५ वटा बोका तथा खसी बिक्री गरिएको छ। प्रतिकेजी जिउँदो बाख्राको मूल्य पाँचसय रुपैयाँ तोकिएको छ।

तीजमा मात्रै ६ वटा बोका र खसी बिक्री भएका र दशैँमा बिक्रीका लागि तयारी अवस्थामा १३ वटा रहेका फर्मका सञ्चालक महेन्द्र बानियाँले बताए।

बाख्रापालनका लागि जग्गा खरिदमा एक करोड र बाख्रा खरिद तथा संरचना निर्माण गर्न थप एक करोड रुपैयाँ लगानी भएको फर्मका अर्का सञ्चालक ध्रुब कुँवरले जानकारी दिए।

त्यस्तै, फर्ममा पालिएका बाख्रालाई घाँस खुवाउन चारवटा साइलेज (घाँस राख्ने खाडल) निर्माण गरिएको छ। उक्त साइलेजमा बर्खाको समयमा काटेको घाँस नुन छर्किएर हावा नजाने गरी राख्ने र जाडो याममा बाख्रालाई खुवाउने तयारी छ। यसरी खाडलमा राखिएको घाँस ४५ दिनपछि डेढ वर्षसम्म खुवाउन मिल्ने युवाहरू बताउँछन्। 

डाँडाखेतका युवाहरूले बाख्रापालन व्यवसायका लागि बन्धकीमा १० रोपनी जग्गा लिएका छन्‌। त्यो भन्दा आठ गुणा धेरै अर्थात ८० रोपनी जग्गा त खरिद नै गरेका छन्‌। ५ रोपनीमा संरचना मात्रै निर्माण गरिएको छ भने बाँकी जग्गामा घाँस खेती गरिएको छ।

बाख्रालाई घाँस खुवाउन वर्षे घाँसअन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया र मलासो रोपिएको छ। यसैगरी, डाले घाँसतर्फ कोइरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकैनो, टमिलो, निबारो र टाँकीलगायत स्थानीय जातका घाँस खेती लगाइएको छ।

स्वदेशमै केही गर्ने योजनासहित स्थापना गरिएको एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालिले दुईजना महिलालाई रोजगारीको अवसर समेत दिलाएको छ। अहिले फर्ममा बाख्रालाई घाँसपात काट्ने, दानापानी खुवाउने र सरसफाइलगायतका काममा महिलाहरूले रोजगारी पाएका छन्‌। 

गाउँमै रोजगारीको अवसर पाएपछि महिलाहरू खुसी भएका छन् भने फर्मले मासिक रूपमा दश/दश हजार रुपैयाँ तलबभत्ता दिने व्यवस्था गरेको छ। आगामी दिनमा व्यवसायको क्षमता विस्तार गरी थप रोजगारी सिर्जना गर्ने युवाहरूको योजना छ।

व्यवसायिक बाख्रापालनका लागि राष्ट्रिय वाणिज्य बैंकको म्याग्दी शाखामार्फत २२ लाख रुपैयाँ ऋण स्वीकृत भएकोमा १० लाख रुपैयाँ लगानी भइसकेको छ।

यसैगरी बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा युवा तथा व्यवसायिक कृषकहरूलाई अनुदान, बिउ पूँजी, कृषि औजार सहयोग तथा तालिम गोष्ठीका लागि कृषितर्फ ६० लाखभन्दा बढी र पशुतर्फ २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्द पौडेलले बताए।

म्याग्दीमा पछिल्लो समय बैंक तथा वित्तLय संस्था, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालय र स्थानीय तहहरूले पनि कृषि र पशुपालनको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग बढाएका छन्। जसले  गर्दा यस क्षेत्रमा लागेका वा लाग्न चाहने युवाहरूलाई निकै सजिलो भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.